सूचनाको शक्ति - The Power Of Information

        

सांसदको सेवासुविधा र मासिक पारिश्रमिक कति ?


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा छ । अहिलेसम्म प्राप्त नतिजाले केन्द्रीय संसदमा दलहरुले प्राप्त गर्ने हैसियतको मोटामोटी आकार बनिसकेको छ । समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने सिटले केन्द्रीय संसदमा संख्यात्मक हिसाबले दलिय उपस्तिथिको टुंगो लगाउनेछ । एउटा संख्या तय छ, त्यो हो( निर्वाचनमार्फत १६५ जना र समानुपातिकतर्फ ११० जना सांसदले केन्द्रीय सदनमा प्रवेश पाउनेछन् ।
सुरुमा टिकट पाउनै गाह्रो, टिकट पाए जित्न । निर्वाचनको महासंग्रामबाट चुनाव जितेर संसदमा आएका सांसदको पारिश्रमिक कति होला ? सबैमा चासो छ । तपाईंले जिताएका संघीय संसदका प्रतिनिधिले कति सेवासुविधा पाउलान् ? तपाईंले चुनेर पठाएका प्रतिनिधिसभा सदस्यले मासिक ५५ हजार २३० रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । विशेष भत्ताबापत सांसदलाई मासिक एक हजार, बैठक भत्ता ५ सय र टेलिफोन सुविधामार्फत ३ हजार रुपैयाँ राज्यले प्रदान गर्नेछ ।
सांसदलाई आवासको सुविधासमेत छ। त्यसबापत उनीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सांसदहरुले एकमुष्ट पाउनेगरी फर्निचर खर्च १५ हजार रुपैयाँ उलपब्ध गराइनेछ । यातायात सुविधामार्फत १ हजार, बिजुली र पानीको २ हजार, दैनिक भत्ता २५ सय र पैदल भ्रमण भत्ताबापत प्रतिकोस २५ रुपैयाँको व्यवस्था गरिएको छ । सांसदको यात्रा बिमा १० लाख रुपैयाँ रहनेछ भने अशक्त भएका सांसदलाई आर्थिक सहायताबापत ५० हजार एकमुष्ट दिने व्यवस्था गरिएको छ ।
सांसदहरुलाई निजी सचिवालयको समेत व्यवस्था गरिएको छ । सांसदहरुले एक जना तृतीय श्रेणीको स्वकीय सचिव निजी सचिवालयमा राख्न पाउनेछन् । स्वकीय सचिवालयले सरकारी स्केलअनुसारको तलबमात्र पाउनेछन् । सो पारिश्रमिक उनीहरुको बैंक खातमा उपलब्ध गराइनेछ । स्वकीय सचिवको तलब र संसद भत्ता, पैदल भत्ता लगायतका सुविधा छोडेर एक सांसदले पारिश्रमिक सुविधावापत एक महिनाको करिब एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलवार ०४:४०