सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन अन्तरगत मतदान सुरु, ५२ पदका लागि २७३ उम्मेदवार प्रतिस्पर्धामा

बाँके । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गरेका छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ । अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ ।

निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

मतदानस्थल र मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरुको लाइन लामो छ । मतदाताहरु मतदानका लागि निकै उत्साहित भएका छन् । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ भने बाँकेको कोहलपुर वडा नं. ६ लगायत ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०८:४१