बाँके । स्वास्थ्य चौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दवदबा कायम छ । ४५ हजार जनसंख्या रहेको नरैनापुर गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी छन्, तर औषधिको अभाव भने सधैं भइरहन्छ ।
नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण बर्षेनि ज्यान गुमाउनेको संख्या धेरै छ । गाउँमा कोही विरामी हुँदा ‘झोले चिकित्सक’ बोलाइन्छ, विरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रुवाबासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछ ।
नरैनापुरमा ३५ जनाभन्दा बढी ‘झोले चिकित्सक’ रहेको अनुमान छ । यीनै ३५ जना ‘झोले चिकित्सक’ले धानेको स्वास्थ्य सुविधाकै कारण धेरैले ज्यान गुमाउँछन् । यसको मुख्य कारण स्वास्थ्य चौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधीको अभाव हुनु भएको नरैनापुरबासीको भनाई छ ।
नरैनापुर ६ वटा वडा छन्, हरेक गाउँमा कम्तीमा दुई जनाका दरले ‘झोले चिकित्सक’ छन् । मुस्किलले १० कक्षासम्म पढेका र भारतको बहराइच लगायत केही सहरका क्लिनिकमा एक दुई वर्षमात्र प्रशिक्षण लिएर सिमावर्ती गाउँमा ठूलै डाक्टरको रुपमा आफ्नो क्लिनिक स्थापित गर्ने ३५ जनाभन्दा बढी ‘झोले चिकित्सक’ले नरैनापुरको स्वास्थ्य सेवा धान्दै आएका छन् ।
‘झोले चिकित्सक’बारे जब कसैको मृत्यु हुन्छ, अनि मात्रै चर्चा हुन्छ । केही समय चर्चा हुन्छ, त्यसपछि सामान्य स्थिति कायम गर्दै ‘झोले चिकित्सक’ले पुनः आफ्नो पेशा सुरु गर्छन् । बाँके नरैनापुर गाउँपालिकामा मङ्सिर १६ गते ‘झोले चिकित्सक’को उपचारबाट दुई जनाको ज्यान गएपछि चिकित्सकले चर्चा पाए ।
भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० बर्षिय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेंदवाका २८ बर्षिय मालिकराम धोबीको ज्यान गयो । घरमा मुण्डनको कार्यक्रममा भोज खाएपछि गयाराज र मालिकरामलाई बान्ता भएपछि उनै ‘झोले चिकित्सक’ सिंहलाई बोलाइएको थियो ।
बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले उनै ‘झोले चिकित्सक’ सिंहको उपचारपछि विरामीलाई निको हुनुको साटो दुवै जनाको मृत्यु भयो । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भने, ‘उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिक रामलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा ज्यान गयो ।’
दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका ‘झोले चिकित्सक’ सिंहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज बिसीले बताए । ‘हामीले नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसल र ‘झोले चिकित्सक’हरुको पहिचान गरिरहेका छौं । अवैध औषधि पसलमा शिल गरेर ‘झोले चिकित्सक’लाई कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने ।
‘करिब २५ वर्षदेखि गाउँमा अवैध उपचार गरेर बस्दै आएका उनै ‘झोले चिकित्सक’ राजेश सिंहको यो पहिलो घटना होइन,’ स्थानीय मयाराम धोबीले भने, ‘धेरै मान्छेको मृत्यु भयो तर मृत्युको जाँच नभएका कारण कुरा खुलेन ।’ तीन दिनअघि फेरि दुई जनाको ज्यान गयो । मृत्युपछि दुबैको शव परीक्षणपछि अन्त्येष्टी गरिएको छ ।
घटनापछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्य चौकी मटेहिया, गंगापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईंयामा समयमा औषधि नपुग्ने गरेको गुनासो बाहिर आएको छ । ‘स्वास्थ्य चौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले समयमा औषधि नभएका कारण पटक पटक विरामी फर्काउनुको विकल्प नरहेको बताए ।
‘अर्डर अनुसार औषधि प्राप्त हुँदैन,’ उनले भने, ‘अहिले सामान्य औषधि सिटामोलसमेत छैन ।’ स्वास्थ्य चौकीबाट समयमा माग नआएका कारण औषधि अपुग हुन गएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए । ‘समयमै औषधि माग नगरेपछि अभाव हुनु स्वभाविक हो,’ उनले भने, ‘खपत भएकैले औषधि सकिनु ठूलो कुरा होइन ।’
स्वास्थ्य संयोजक खाँले गाउँपालिकाभित्र रहेका अवैध औषधि पसलहरुको तथ्यांक लिन सुरु गरेको बताए । ‘हामीले अवैधरुपमा सञ्चालनमा रहेका औषधि पसल र ‘झोले चिकित्सक’हरुको खोजतलाश सुरु गरेका छौं,’ उनले भने, ‘हाम्रो गाउँपालिकामा अवैध मेडिकल माफियाहरुलाई कुनै स्थान छैन ।’
सोमबार दुई जनाको मृत्यु भएपछि मंगलवार घटनास्थल पुगेकी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’ले पीडित परिवारसँग भेटघाट गर्दै नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसलहरु बन्द गर्न निर्देशन दिएको बताइन् । प्रदेश सभा सदस्य नमुनाले भनिन्, ‘गाउँमा रहेका अवैध क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएका छौं । अब यस्ता घटना दोहोरिनुहुँदैन ।’
सत्यपाटी ।