प्रतिकात्मक तस्वीर
बाँके । नेपालगन्ज–२० मनिकापुरको राझाँस्थित आफ्नो पसल बन्द गरेर घर जाँदै गरेकी एक महिलामाथि बलात्कारको प्रयास गर्ने सरकारी कर्मचारीलाई बाँके प्रहरीले उन्मुक्ति दिएको छ । सरकारी कानूनको धज्जी उडाउँदै बलात्कार तथा दुर्व्यवहारको प्रयास गर्ने तीन जनालाई पक्राउ गरे पनि बाँके प्रह्रीले कारबाही नगरेर उन्मुक्ति दिएको हो ।
पक्राउ परेका तीन जनालाई कानूनी कारबाही गर्नुपर्नेमा बाँके प्रहरीले मिलापत्र गरेर छोडेको छ । पीडित महिलाले उजुरी दिए पनि बाँके प्रहरी सहायक प्रवक्ता दीपक मल्ल लगायतको टोलीले बलात्कारको प्रयास गर्ने दीपक शाही सरकारी कर्मचारी भएकै कारण पीडित महिलालाई ललाईफकाई गरेर दोषीमाथि कानूनी कारबाही नगरेर घटना गुपचुप मिलाइएको छ ।
प्रहरी सहायक प्रवक्ता मल्लका अुनसार दुवै पक्षलाई राखेर मिलापत्र गरियो, कुरो मिलिसक्यो । उनले भने, ‘यो समाचार नलेखिदिनुस पीडित भनिएकी महिलाले बलात्कारको प्रयास गर्ने सरकारी कर्मचारी शाही लगायत लोकजंग भण्डारी र बिर्ख सुनारलाई माफी दिएकी छन् ।’ मल्लका अनुसार पीडित महिलाले टेलिफोनबाट उजुरी दिएकी थिइन् ।
मौखिक उजुरीका आधारमा पक्राउ परेका सरकारी कर्मचारी शाही र अन्य दुईलाई बुधबार साँझ नै छोडिएको छ । उक्त घटनालाई हेर्दा दोषीमाथि कारबाही नगरी प्रहरीको मिलोमतोमा पीडित महिलालाई प्रभावमा पारेर घटना गुपचुप पारिएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।उनीमाथि बलात्कारको प्रयास गर्न सडक डिभिजन कार्यालयको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले नै बताएको छ ।
प्रहरीका अनुसार भे १ ब १६१९ नम्बरको सरकारी मोटरसाइकल प्रयोग गरिएको हो । प्रहरीका अनुसार उक्त मोटरसाइकल सडक डिभिजनको भएको खुलेको छ । मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा आएका तीनजना युवाले सडकमा हिडिरहेकी ती महिलामाथि बलात्कारको प्रयास गरेका हुन् ।
मोटरसाइकलमा सवार तीनजना मध्येका दिपक शाही सडक डिभिजन कार्यालयको कर्मचारी भएको बाँके प्रहरी सहायक प्रवक्ता मल्लले बताए । प्रहरी अनुसन्धानका क्रममा सरकारी मोटरसाइकलमा आएका तीनै जना ब्यक्तिले मदिरा सेवन गरेको र मदिराकै नशामा ती महिलामाथि बलात्कार तथा दुर्व्यवहारको प्रयास गरेको खुलेको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख रामकुमार बेदसँग घटनाबारे बुझ्न खोज्दा उनीसँग टेलिफोन सम्र्पक हुन सकेन । पीडित महिलाले दोषीमाथि कडा कारबाही गर्न माग गरेपछि प्रारम्भीक अनुसन्धानमा समेत मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भेटिइसक्दा पनि सरकारी कर्मचारी भएकै कारण प्रहरीले उन्मुक्ति दिएको बुझिएको छ ।
बाँके प्रहरीकै मिलोमतोमा दीपक शाहीसहितकै तीन जनालाई कारबाही गर्नुको साटो प्रहरीले नै छोडेको बाँकेस्थित महिला अधिकारकर्मीहरु बताँउछन् । प्रहरीले नै बलात्कारी अपराधिक मानसिकता भएका ब्यक्तिको पक्षमा देखिएपछि बाँकेका समग्र महिलाहरु बलात्कार लगायतका आपराधिक घटनाले असुरक्षित बन्दै गएको महिला अधिकारकर्मी बताउँछन् ।
बाँकेमा पछिल्लो समय यस्ता अपराधिक तथा अमानविय कार्यमा सरकारी सवारी साधन प्रयोग हुदै आएका छन् । तर, सरकारी सवारीसाधन दुरुपयोगबारे जिल्ला प्रशासन कार्यालय बाँके भने विगतदेखि नै मौन रहँदै आएको छ । बाँकेमा रहेका सरकारी कार्यालयका सवारीसाधन शनिबार वा कार्यालय समयपछि सुर्खेत रोडका विभिन्न होटल अगाडी पार्किङ्ग गरिएका हुन्छन् ।
विदाका दिन सरकारी कर्मचारीले आफ्ना आफन्त, परिवारलाई बोकेर सरकारी गाडीमा बाँकेको गाभर, ढकेरी हुँदै कर्णाली चिसापानीसम्म मोजमस्तीमा जाने गरेका छन् । कतिपय सरकारी कर्मचारी विदाका दिन अथवा कार्यालयको समयपछि सरकारी मोटरसाइकल वा गाडी प्रयोग गरेर सीमावर्ती बजार रुपैडिहाबाट विभिन्न व्यवसायीक सामानहरु ढुवानी गर्दै आएका छन् ।
बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्का भने यस विषयमा मौनता ब्यक्त गर्छन् । सरकारी सवारीसाधनको दुरुपयोग रोकथाममा नियमनकारी निकायको कुनै पनि भूमिका देखिँदैन । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला शहरमै महिलामाथि सरकारी कर्मचारी गएर बलात्कार तथा दुर्व्र्यवहारको प्रयास अभियानकै विरुद्ध भएको देखिन्छ ।
लैगिंक हिंसाविरुद्धको अभियान असफल गराउन गिरोह नै सक्रिय रुपमा लागिपरेको हुनसक्ने नागरिक समाजका अगुवा एवं इन्सेक प्रदेश ५ का संयोजक भोला महत बताउँछन् । बेलाबखतमा महिलामाथि हुने यसखाले दुर्व्यवहार रोकथामका लागि सरकारी तथा गैरसरकारी निकायको भूमिका रहनुपर्ने र यस्ता दुर्व्यवहारमा संलग्नमाथि कडा कारबाहीको कानूनी ब्यवस्थालाई कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई छ ।
सत्यपाटी ।