सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको उपनिर्वाचन २०७६ : कोहलपुरमा कडा सुरक्षा, थपिँदै सुरक्षाकर्मी

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । स्थानीय तहको उपनिर्वाचन हुन चार दिनमात्रै बाँकी हुँदा बाँकेको कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनलाई लक्षित गरेर सुरक्षा सर्तकता बढाइएको प्रहरीले जनाएको छ । उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले वडा नं.६ मा र वडा नं.५ मा अस्थायी सुरक्षा शिविर राखेर सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

‘आसन्न निर्वाचनलाई लक्षित गरेर व्यापक मात्रामा प्रहरी जनशक्ति थपिएको अवस्था छ,’ उनले भने, ‘प्रहरी बिट मात्र रहेको वडा नं.६ मा अहिले पहिलो चरणमा २५ जना प्रहरी परिचालन गरेका छौं ।’ उपनिर्वाचनलाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गर्न कोहलपुर प्रहरीले थप मद्दत सुरक्षाकर्मी माग गरेर परिचालन गरेको हो । ‘केही दिनमा नै थप २५ जना प्रहरी पठाउन लागेका छौं,’ प्रहरी नायव उपरीक्षक शाहीले भने, ‘निर्वाचनका दिन थप सुरक्षाकर्मी खटाउने तयारी छ ।’

अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले पैदल तथा गाडी दुवैको माध्यमबाट गस्ती बढाएका छन् । ‘निर्वाचन हुन गइरहेको वडा नं.६ र निर्वाचनको लागि मतदानस्थल रहेको वडा नं.५ मा समेत २४ सैं घण्टा सुरक्षाकर्मीहरु परिचालित भइसकेको अवस्था छ,’ प्रहरी नायव उपरीक्षक शाहीले भने । निर्वाचनका अवधिभर उम्मेद्वार, उम्मेद्वारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

उनले भने, ‘निर्वाचन अवधिका लागि हामीले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका छौँ, यसका लागि म आफैँ फिल्डमा खटिरहेको छु ।’ अन्य सुरक्षा निकाय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समवन्य गरेर सुरक्षाको व्यवस्था मिलाउने गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए । ‘शान्तिपूर्ण तथा भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायका लागि परेका छौँ, ढुक्कसँग मतदान गरे हुन्छ, डराउनुपर्ने कुनै अवस्था छैन,’ उनले भने ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेकाले सुरक्षा निकायहरुले विप्लव समुहलाई नै मुख्य सुरक्षा चुनौती ठानेका छन् । कोहलपुरमा पनि सोही अनुसार प्रहरीले सुरक्षा रणनीति बनाएर लागु गरेको छ । ‘हामीले बाँकेमा मात्रै सो समूहका धेरै नेता–कार्यकर्ता पक्राउ गरिसकेका छौँ,’ प्रहरी नायव उपरीक्षक शाहीले भने, ‘निर्वाचनलाई असर पार्ने बम विस्फोटलगायत घटना गराउने अवस्था अहिले छैन ।’ सुरक्षा व्यवस्था नियन्त्रणभन्दा बाहिर नजाने कोहलपुर प्रहरीले अनुमान गरेको छ ।

‘अहिले हाम्रो धेरै ध्यान उपनिर्वाचनमा नै केन्द्रित भएको छ,’ प्रहरी नायव उपरीक्षक शाहीले भने, ‘विप्लव समुहले निर्वाचनविरुद्धका गतिविधि गर्न सक्ने जानकारी पाएका छौं । त्यसैले त्यहाँबाट गोप्य रुपमा सूचना संकलनका लागि प्रहरी परिचालन भइसकेका छन् ।’ निर्वाचनस्थल र आसपासका क्षेत्रमा २४ सैं घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्नेछन् । निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । योजना अनुसार निर्वाचनको दिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार १८:२६