सूचनाको शक्ति - The Power Of Information

        

नेकपा र काँग्रेसका उम्मेद्वारको धुमिल छवी, धम्क्याउनेदेखि आर्थिक हिनामिनासम्मको आरोप

कोहलपुर–६ मा स्थानीय तहको उपनिर्वाचन

बाँके । स्थानीय तहको उपनिर्वाचन हुन तीन दिन बाँकी छ । कोहलपुर नगरपालिकामा हुने उपनिर्वाचनमा तीन दलबीच प्रतिश्पर्धा हुने देखिएको छ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी, प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच रोमाञ्चक प्रतिश्पर्धा हुने देखिएको छ । यद्यपी साना दुई दल नेपाल मजदुर किसान पार्टी र समाजवादी पार्टी नेपालले पनि उपनिर्वाचनमा आफ्ना उम्मेद्वार खडा गरेका छन् ।

उपनिर्वाचनमा नेकपाबाट उम्मेद्वार बनेका रामशरण थारु र काँग्रेसबाट उम्मेद्वार बनेका श्रीकृष्ण थारूको व्यक्तिगत छवी धुमिल भएकै कारण त्यसको फाइदा राप्रपाले उठाउने निश्चित छ । काँग्रेसका उम्मेद्वार श्रीकृष्णले यसअघि सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको तला थप्ने भन्दै महायज्ञ लगाएर लाखौं रकम हिनमिना गरेको आरोप लागेको छ ।

त्यस्तै नेकपाका उम्मेद्वार रामशरणले तत्कालिन अवस्थामा माओवादी हुँ भन्दै वडाबासीलाई बेलाबेलामा सताउँदै आएकोले उनीप्रति वडाबासीहरु रुष्ट छन् । यी दुबै उम्मेद्वार वडाबासीका लागि उपयुक्त नभएको भन्दै मतदाताहरुको छनौटमा राप्रपाका उम्मेद्वार श्रीधरले बाजी मार्ने निश्चित देखिएको छ । व्यवस्थापन समितिमा रहँदा काँग्रेसका उम्मेदवार श्रीकृष्ण थारुले ठुलो रकम अनियमितता गरेको आरोप उनलाई लागेको छ ।

आर्थिक अनियमिततामा मुछिएका व्यक्तिप्रति विश्वास गर्न नसकिने वडाबासीहरुको भनाई छ । दुई पटक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएका थारुले झण्डै ११ लाख रुपैयाँ हिनामिना गरेको विद्यालय श्रोतले बताएको छ । झण्डै ११ लाख रुपैयाँ अनियमिता गरे पनि काँग्रेसको आडमा बारम्बार उम्कँदै आएका श्रीकृष्णलाई काँग्रेसले उम्मेद्वार बनाएर गल्ती गरेको काँग्रेस वृत्तमै चर्चा चल्न थालेको छ ।

रझेना गाउँमा वडघर हुँदासमेत श्रीकृष्णले अनियमिता गरेको स्थानीयहरुको आरोप छ । श्रीकृष्णले सुतैया नालमा पुल निर्माणका लागि भन्दै काँग्रेस नेता गोकुल थारुको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर पाँच लाख रुपैयाँ झ्वाम पारेको नाम नबताउने शर्तमा एकजना स्थानीयले बताए । श्रीकृष्णले पुल निर्माणका लागि दुई ट्रयाक्टर ढुङ्गा झारेर तत्कालीन जिल्ला विकास समितिबाट पाँच लाख रुपैयाँ हिनामिना गरेको काँग्रेस निकट स्रोतले बतायो ।

वडाबासीहरुले आफ्नो वडाको मतदातासमेत नरहेकाले श्रीकृष्णप्रति विश्वास गर्ने आधार नभएको बताएका छन् । अहिले कोहलपुर–६ मा यही चर्चा चलिरहेको छ । श्रीकृष्ण कोहलपुर वडा नं. ५ को मतदाता रहेको स्रोतको भनाई छ । ५ नं. वडामा स्थायी बसोबार गर्दै आएका श्रीकृष्ण वडा नं. ६ को वडाध्यक्ष पदका लागि उम्मेद्वार बनेपछि निर्वाचन जित्ने कुने आधार नभएको वडाबासीहरुको दावी छ ।

हाल उनी कोहलपुर नगरपालिका–५ प्रगतिनगरमा बस्दै आएका छन् । नाम नवताउने शर्तमा एक मतदातले भने, ‘हाम्रो वडाको अध्यक्ष अर्को वडाको व्यक्तिलाई कसरी दिने ? ६ नं. वडाको अध्यक्ष कोहलपुर ५ मा स्थाई बसोबास भएका श्रीकृष्णलाई बनाउन सकिँदैन । हामीले युवा र योग्य उम्मेद्वार छनौट गर्छौ । युवाहरुको भोट राप्रपाका उम्मेद्वार श्रीधर सुवेदीलाई जान्छ । उनीभन्दा योग्य र सक्षम व्यक्ति उम्मेद्वार अरु कोही छैन ।’

यता आफु ‘साधु र सादगी’ रहेको भन्दै मत माग्दै हिँडेका सत्तारुढ नेकपाका उम्मेद्वार रामशरण तत्कालिन माओवादीमा हुँदा स्थानीयहरुलाई अनावश्यक दुख दिने गरेकाले व्यक्तिगत रुपमा उनलाई मतदाताहरुले रुचाएका छैनन् । आफू ‘साधु’ भएको भन्दै मतदाताहरुसँग मत माग्दै आएका उनीप्रति वडाबासी विश्वस्त नरहेको बताउँछन् । एक जना मतदाताले भने, ‘उनले विगतमा माओवादीका नाममा दिएको दुख यहाँका वडाबासीले बिर्सिएका छैनन् ।’

त्यसो त नेकपा निकट स्रोतका अनुसार बाहिर नेकपाको प्रचार बलियो देखिए पनि उम्मेद्वारकै कारण निर्वाचनमा पराजय भोग्नुपर्ने पार्टीभित्रै आँकलन गरिएको छ । ‘उम्मेद्वारको पृष्ठभूमीकै कारण निर्वाचनमा पराजय हुनुपर्ने स्थिति आउन सक्छ । उम्मेद्वार छनौट गर्दा ध्यान नदिँदाको घाटा व्यहोर्नुपर्ने निश्चित छ,’ स्रोतले भन्यो, ‘अहिले केही उपाय नलागेपछि ‘साधु र सादगी’ व्यक्ति रहेको नारा बनाइएको छ । यसले निर्वाचन जितिँदैन ।’

जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ । गणितीय जोड घटाउकै बीचबाट जीत निकाल्ने दाउमा राप्रपा लागिपरेका छन् । वडाबासीबीच निकै लोकप्रिय बनेका राप्रपा उम्मेद्वार श्रीधर सुवेदी त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । पत्रकारिता हुँदै राजनीतिमा होमिएका श्रीधर हरेक कोणबाट वडाध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको वडाबासीहरु नै बताउँछन् ।

आफूलाई कोहलपुर वडा नं. ६ को चौकीदार भएको बताउने श्रीधरकै कारण काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउन मुस्किल भएको छ भने नेकपाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्ता र शक्तिको प्रयोग गरिरहेको छ । दुई ठूला दलले उठाएका उम्मेद्वारको छवी धुमिल भएकै कारण स्वच्छ छवी भएका श्रीधरको जीत निश्चित रहेको वडाबासीहरुकै आँकलन छ । ‘नेकपा र काँग्रेसको विकल्प राप्रपा नै हो । हाम्रो जीत निश्चित छ,’ राप्रपाका उम्मेदवार श्रीधरले भने ।

मतदाताहरुले अहिले पार्टी र जातभन्दा माथि उठेर राप्रपाका उम्मेद्वारलाई सघाउने आशय व्यक्त गरेका छन् । नेकपा र काँग्रेस उम्मेदवारको तुलनामा राप्रपाका उम्मेदवार श्रीधर मतदाताको रोजाईमा परेका छन् । उनलाई नेकपा र काँग्रेसभित्र देखिएको अन्तरकलहले थप फाइदा पुर्याएको छ । नेकपा र काँग्रेसभित्र उम्मेद्वारकै कारण अन्तरकलह भइरहेको पार्टी निकट स्रोतको भनाई छ ।

नेकपा र काँग्रेसमा पार्टीभित्र युवाहरुलाई निषेध गरेर अघि बढ्न खोजेपछि ती पार्टी निकट युवाहरु राप्रपामा प्रवेश गरेका छन् । काँग्रेस निकट तरुण दलका कोहलपुर नगर सदस्य होमराज वलीले काँग्रेस परित्याग गरेका छन् भने नेकपामा रहेका युवाहरुले पनि राप्रपालाई सघाउने आन्तरिक तयारी गरिरहेका छन् । कोहलपुरमा युवा संघ र तरुण दलमा आवद्ध युवाहरुले मतदानमा राप्रपालाई सघाउने आन्तरिक तयारी गरेको स्रोतको भनाई छ ।

युवाहरुले मतदानमा राप्रपालाई सघाउने भएपछि त्यसको घाटा नेकपा र काँग्रेसले व्यहोर्नुपर्ने देखिएको छ । त्यसो त उपनिर्वाचन नजिकिँएसँगै कोहलपुर–६ मा नेकपा र काँग्रेसभित्र अनेक खालका चर्चा चलिरहेका छन् । स्रोतका अनुसार कोहलपुरमा नेकपा र काँग्रेसको एउटा समुहले आन्तरिकरुपमा राप्रपालाई सघाउने तयारी गरिरहेको छ । ‘कोहलपुरमा नेकपा र काँग्रेसको ठूलो हिस्सा राप्रपालाई सघाउने आन्तरिक तयारीमा छ,’ स्रोतले भन्यो ।

कोहलपुर–६ मा नेकपाबाट रामशरण थारु, काँग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मैदानमा छन् । गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार १०:३९