सूचनाको शक्ति - The Power Of Information

        

कविता : बधाई छ

विष्णु पोखरेल

विष्णु पोखरेल

बधाई छ हजुरलाई धेरैधेरै बधाई छ,
अदभूत जीवन सहजै चलेकोमा बधाई छ ।

भीर पहाड खाल्डाखुल्डी सडकमा यात्रा गर्नु छ,
उमेर पास र ब्रेक फेल भएका गाडीमा चढनु छ,
धुलो, धुवाँ, हर्नको अस्तव्यस्तमा निस्सासिनु छ,
बस चढ्दा बोका हैन, सिन्कीजस्तै खादिनु छ ।

तै पनि बधाई छ, हजुर धेरैधेरै बधाई छ,
अदभूत जीवन सहजै चलेकोमा बधाई छ ।

तिहुन खाँदा युरिया मलसँगै, बिसादी नि खाइन्छ,
मिसावटको कुरै नगरौ हजुर, भन्यो कि उल्लु भइन्छ ।
पढन स्कुल गएको बच्चा नसेडीको हुलमा भेटिन्छ,
उत्कृष्ट भनाउदा होटलको परिकारमा पनि झिगा भेटिन्छ ।

तै पनि बधाई छ हजुर धेरै धेरै बधाई छ,
अदभूत जीवन सहजै चलेकोमा बधाई छ ।

वैद्य जति लोप भए, डाक्टरलाई भेटाउनै सकिन्न,
समाजसेवी हुँ त भन्छन्, तर सामाजिक सेवा पाइन्न ।
विश्वास, माया कता गए धोका बाहेक केही पाइन्न
पर्म, हातेमालो ईतिहास भए, खोजेर पाईदै पाइन्न ।

तै पनि बधाई छ हजुर धेरै धेरै बधाई छ,
अदभूत जीवन सहजै चलेकोमा बधाई छ ।

अहिले आफ्नैमा सुतेको हो भन्नेमा ढुक्क छ,
भोलि उठदा छिमेकीकोमा पुगिन्छ कि डर पनि छ ।
पुर्खाैली गर्व, सान र रगतको भर त मनग्गे छ,
यसैले मुटुमाथि ढुङ्गा राखेरै भए पनि मन दरिलो बनेको छ ।

यसैले बधाई छ हजुरलाई धेरै धेरै बधाई छ,
अदभूत जीवन सहजै चलोस् हजुरलाई बधाई छ ।

मंसिर ७,२०७६

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतवार ०९:०१