सूचनाको शक्ति - The Power Of Information

        

बिदा हुने बेलामा सूचना लुकाउँदै सरकार, धमाधम राजनीतिक नियुक्ति


काठमाडौं । कामचलाउ सरकारले धमाधम राजनीतिक नियुक्ति गर्न थालेको छ । सोमबार बिहानै बसेको मन्त्रिपरिषद् बैठकले गोराखापत्र संस्थानको महाप्रबन्धक र चलचित्र विकासको बोर्डको अध्यक्ष नियुक्त गरेको छ । तर नियुक्ति सम्बन्धी निर्णय सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले लुकाए । बैठकलगत्तै सम्बोधन गर्दै मन्त्री बस्नेतले दुई सहायक रथी र एक प्राविधिक उपरथीको पदावधि बढाएको मात्र जानकारी दिए। अन्य कुनै पनि निर्णय नभएको उनले बताएका थिए ।
‘क्याबिनेटको बैठकमा आज खासै निर्णय भएन, यिनै सामान्य पदावधि थप्ने निर्णय भयो,’ उनले थपे, ‘मन्त्रालयका विदेश भ्रमणका प्रस्तावहरुलाई अनुमोदन गरिएको छ ।’ सञ्चारमन्त्री बस्नेतले सहायक रथी दामोदर थापा र नवजित शमशेर राणा तथा प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पदावधि बढाउने निर्णय गरिएको बताए । बैठक स्रोतका अनुसार गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्याय र चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरिएको छ ।
कामचलाउ अवस्थामा रहेको सरकारले निर्वाचनको अन्तिम समयतिर धमाधम राजनीतिक नियुक्ति दिन थालेको छ । मन्त्रिपरिषदको अर्को बैठक चाँडै बस्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बस्नेतले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०७:३९