सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम नेपालका सुन्दर गन्तव्य जोड्ने स्वर्ग नेपालगन्ज : पर्यटन मन्त्री भट्टराई

नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभा

बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज पश्चिम नेपालका सुन्दर गन्तव्यहरु जोड्ने स्वर्ग भएको बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री भट्टराइले भ्रमण वर्ष आउन केही समयमात्रै बाँकी रहेकाले यसलाई सफल बनाउन यहाँका उद्योगी व्यवसायीले सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘भ्रमण बर्ष आइसक्यो, पर्यटनको ट्रान्जिट नेपालगन्जका उद्योगी व्यवसायीहरुले सरकारलाई सकेजति सहयोग गर्नुस् ।’ उनले पश्चिम नेपालका सुन्दर पर्यटकीयस्थल मानसरोवर, रारा, से–फेक्सुण्डो, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न र कर्णाली लगायतका नदीहरुमा ¥याफ्टिङ्ग गर्न, अन्य पर्यटकीय क्षेत्रको घुमफिरका लागि नेपालगन्ज स्वर्गका रुपमा रहेको बताए । ‘नेपालगन्ज पर्यटकहरुका लागि स्वर्गभूमी हो । पश्चिम नेपाल घुम्न यही आउनुपर्छ,’ उनले भने ।

नेपालगन्जलाई पर्यटकीय र औद्योगिक शहरका रुपमा थप विस्तारका लागि सरकारले आफ्नो तर्फबाट गर्नसक्ने पहल र कामहरुलाई तीव्रता दिने उनले बताए । ‘प्रदेश राजधानी नपाए पनि नेपालगन्ज पछि परेको छैन । यसमा यहाँका नागरिकहरु आत्तिनुपर्ने, निराश हुनुपर्ने छैन,’ उनले भने, ‘नेपालगन्ज पर्यटकीय र औद्योगिक शहरकै रुपमा विकास हुन्छ ।’

‘नेपालगन्ज विमानस्थललाई अत्याधुनिक बनाउँछौं’

मन्त्री भट्टराईले आगामी पाँच बर्षभित्र नेपालगन्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न नेपालगन्ज विमानस्थलमा पाँच बर्षमा रु.१५ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेको बताए । सुविधा सम्पन्न बनाएर यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयले कार्ययोजना अघि बढाएको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि हामी प्रतिवद्ध छौं, तर हाम्रो चाहनाले मात्रै सम्भव हुँदैन । यसका लागि पहल भइरहेको छ ।’ उनले भारतीय उड्डयन प्राधिकरणसँग यस विषयमा नेपालगन्ज–लखनउ र नेपालगन्ज–नयाँदिल्ली उडानका लागि छलफल भइरहेको बताउँदै भने, ‘दुई देशको आपसी सहमतिका आधारमा हवाई रुट निर्धारण हुन्छ । हामीले नेपालगन्ज र महेन्द्रनगर नाकाबाट उडानको अनुमति मागिरहेका छौं । भारतीय पक्षमा यसमा केही सकारात्मक देखिएको छ ।’

उहाँले भारतीय उड्डयन प्राधिकरणसँग कुटनीतिक पहल भइरहेकोले यस विषयले छिट्टै सफलता पाउने बताए । ‘अन्तर्राष्ट्रिय उडानका लागिका लागि हामीसँग पनि भन्सार, राजस्व, सुरक्षा लगायतका कार्यालयहरु थप गर्नुपर्छ । हामीले हाम्रो तर्फबाट यी कामहरुलाई पूर्णता दिनुछ । यसले अन्तर्राष्ट्रिय उडानमा थप सहजता ल्याउनेछ,’ मन्त्री भट्टराइले भने ।

मन्त्री भट्टराइले नेपालगन्ज पश्चिम नेपालको पर्यटन ट्रान्जिट रहेको भन्दै अन्तरप्रदेश हवाई उडानका लागि नेपाली नीजि विमान कम्पनीका प्रतिनिधिहरुसँग पनि छलफल भइरहेको बताए । उनले भने, ‘हाम्रा प्रदेश–प्रदेशबीच पनि आन्तरिक उडानका लागि पहल भइरहेको छ । यसले एकापसको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’

नेपाली वायुसेवा कम्पनीहरुले लिइरहेको दोहोरो भाडादरको समेत अन्त्य गरिने मन्त्री भट्टराईले बताए । ‘नीजि विमान कम्पनीहरुले लिइरहेको दोहोरो भाडादर हटाउने विषयमा छलफल भइरहेको छ । हामीले विमान सञ्चालक कम्पनीहरुसँग पटक–पटक छलफल गरिसकेका छौं । यसमा हामी केही सहमति नजिक पनि छौं, सहमतिमै यसलाई हटाउँछौं,’ उनले भने ।

उमन्त्री भट्टराईले नेपालगन्जबाट पोखरा, भैरहवा, विराट नगर लगायतका ठुला शहरहरुमा उडान थप गर्नका लागि पनि छलफल भइरहेको छ । ‘नीजि कम्पनीहरुसँग आन्तरिक उडान थप गर्ने विषयमा छलफल भइरहेको छ । यसमा सरकारका तर्फबाट दिनुपर्ने निश्चित छुट हामी दिन्छौं, विमान कम्पनी सञ्चालकहरु सकारात्मक हुनुपर्छ,’ उनले भने ।

‘प्रदेश राजधानी फिर्ता हुँदैन’

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यक्रममा प्रदेश राजधानीका विषयमा वक्ताहरुबाट गुनासाहरु आएपछि मन्त्री भट्टराईले तत्काल राजधानी फिर्ता नहुने बताए । ‘हाम्रा उत्तेजना र आवेशले राजधानी फिर्ता हुन सक्दैन,’ मन्त्री भट्टराईले भने, ‘हिजोका हाम्रा सोचाइँ र उत्तेजनाका कारण नेपालगन्जले राजधानी गुमाएको हो । अब फिर्ता हुन सक्दैन ।’

मन्त्री भट्टराईले राजधानी नभए पनि नेपालगन्ज शहर मृत होइन जीवित शहरकै रुपमा अघि बढेको बताए । ‘नेपालगन्ज मृत होइन जीवित शहर हो, पर्यटकीय ट्रान्जिट हो, औद्योगिक नरी हो । राजधानी नभए पनि राजधानीसरह यसको विकास हुन्छ र भइरहनेछ,’ मन्त्री भट्टराईले भने, ‘हामी हिजोका सोचाइँबाट मुक्त भएर अघि बढौं । यहाँ धेरै सम्भावनाहरु छन् ।’

‘स्थायी सरकार अवसर’

मन्त्री भट्टराईले दुई तिहाईको स्थायी सरकार मुलुककै समृद्धिको लागि अवसर भएको बताए । उनले स्थायी सरकार भएकाले मुलुकमा समृद्धिका धेरै कामहरु हुने र आगामी निर्वाचनहरुमा पनि कम्युनिष्टकै सरकार बन्ने भएकाले उद्योगी व्यवसायीहरुले कसेलाई चन्दा निदुपर्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘अब देशमा कम्युनिष्टकै सरकार चल्छ । हामी दयामायाले अरुलाई सरकार चलाउन दिनेवाला छैनौं । तर त्यसका लागि सरकारले नागरिकप्रति जवाफदेही भएर काम गर्नुपर्छ । हामी अब चन्दा माग्दैनौं, राम्रो काम गरेर भोट मात्रै माग्छौं । अब हामीलाई चन्दा होइन भोटमात्रै दिनुहोला । कसैले चन्दा माग्यो भने सोझैं इन्कार गरिदिनुस् ।’

व्यवसायीमैत्री सरकार बनोस् : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यवसायीका समस्या समाधानका लागि सरकार व्यवसायीमैत्री बन्नुपर्ने बताएकी छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकारले व्यवसायीका समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने बताइन् ।

उनले यहाँका व्यवसायीहरुले जटिबुटी निकासी लगायतका क्षेत्रमा व्यहोर्नुपरेको समस्या केही सहज भए पनि समस्यालाई पूर्णरुपमा अन्त्य गर्नका लागि सरकारले ठोस् पहल गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरकार व्यवसायीमैत्री बन्दै गएको छ, अझै केही समस्याहरु छन्, ती समस्याहरु समाधानका लागि सरकारले पहल गरिदिनुपर्छ ।’

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार १७:१२