सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा कार्यालय प्रमुखहरुको बैठक, प्रभावकारी सेवा दिनुपर्नेमा जोड

बाँके । बाँके जिल्लाका कार्यालयका प्रमूखहरुले विकासमा पछाडि परेको नरैनापुर गाउँपालिकाका समस्याका बारेमा छलफल गरेका छन् । नियमित बैठकमा सहभागी हुन बिहीबार नरैनापुर पुगेका कार्यालय प्रमूखहरुले नरैनापुरका नागरिकहरुले पाउनुपर्ने प्रभावकारी सेवा सुविधाका बारेमा पनि छलफल गरेका छन् ।

बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामहरुलाई जनताले महसुस गर्ने गरी द्रुत गतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिइएको थियो ।

विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक बिहीवार नरैनापुर गाउँपालिकामा बसेको छ । हरेक महिना नियमितरुपमा बस्दै आएको बैठक गत बर्षदेखि गाउँपालिकास्तरमा पनि बस्न थालेको हो ।

बैठकमा प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाले बर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएर लागेको बताउँदै जनतालाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्नेदेखि विकासका काममा कार्यालय प्रमुखहरुले समन्वय र सहकार्य गर्नुपर्ने बताइन् । गाउँपालिका अध्यक्ष शाहले विस्तारै विकासमा गति लिँदै गरेको नरैनापुर गाउँपालिकामा सरकारी कार्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा रहेको सरकारी टोलीले नेपाल भारत सीमा क्षेत्रको निरीक्षणसमेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षता तथा प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको विशिष्ट आतिथ्यतामा बसेको बैठक बसेको थियो । अर्को महिनाको बैठक राप्तीसोनारी गाउँपालिकामा बस्नेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०६:४८