सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओली–दाहालबीच ‘वान अन वान’ छलफल, मन्त्रीपरिषद पुनःगठन टुङ्गिदै

काठमाडौं । मन्त्रीपरिषद पुनःगठनका लागि हेरफेर हुने मन्त्रीहरुको अन्तिम नाम टुंगो लगाउन आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान अन वान छलफल हुँदैछ ।

छलफल बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ मंसीर साँझ बसेको मन्त्रिपरिषद बैठकमा आज आफूले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको र सो तयारीलाई ध्यानमा राखेर कुनै पनि सार्वजनिक कार्यक्रममा नजान मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

त्यसक्रममा उनले कोही मन्त्री फेरि दोहोरिन सक्ने र कोही चाहिँ नयाँ अनुहार आउने भन्दै यसलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच हुने ‘वान अन वान’ छलफलका कारण आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक पछाडि सरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिहान ९ बजेको पूर्वनिधारित सचिवालय बैठक केही पछि सारिएको बताए । ‘केही तयारी गर्नुपर्ने भयो, आजै बैठक चाहि बस्छ तर नयाँ समय टुंगो लागिसकेको छैन,’ श्रेष्ठले भने । उनले नेकपा सचिवालयको बैठकमा मन्त्री हेरफेरको अजेण्डाले प्रवेश पाउने संकेत गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्तावमा मन्त्री फेरबदलको विषय पनि छलफल हुनसक्छ ।’

मन्त्रीपरिषद पुनर्गठनका लागि यसबीचमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच धेरै चरणमा छलफल भइसकेका छन् । तर, मुख्यतः दाहालको अडानकै कारण त्यसबारे टुंगो लाग्न नसकेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ । दुईदिन अघिमात्र यसबारे भएको छलफलमा प्रधानमन्त्री ओलीले दाहाललाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘कमरेड, काम गर्ने मन्त्री दिनुस् ।’

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०९:०५