सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सहरु श्रमशोषणमा परेको खुलासा

बाँके । लर्डबुद्व एजुकेशनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजमा परिक्षण कालमा कार्यरत (ट्रेनि) स्टाफ नर्सहरु न्यूनतम पारिश्रमिकसमेत पाउँदैनन् । श्रम मन्त्रालयले ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनुपर्ने व्यवस्था गरेको छ । तर, लर्डबुद्व एजुकेशनल एकेडेमीले उनीहरुमाथि श्रमशोषण गरिरहेको खुलासा भएको छ ।

श्रम मन्त्रालयले तोकेको पारिश्रमिक अनुसार उनीहरुले मासिक न्यूनतम रु.१३ हजार ४५० पाउनुपर्ने भए पनि लर्डबुद्व एजुकेशनल एकेडेमीले उक्त पारिश्रमिक दिन आनाकानी गरिरहेको छ । त्यहाँ कार्यरत करिब १५ सय बढी कर्मचारीलाई असोज र कात्तिक महीनाको पारिश्रमिकसमेत दिएको छैन ।

सरकारले तोकेको पारिश्रमिक समेत नदिएरै श्रम शोषण गरेपछि लर्डबुद्व एजुकेशनल एकेडेमीमा कार्यरत ट्रेनि स्टाफ नर्सहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु तीन दिनदेखि आन्द्योलनमा उत्रिएका हुन् । नेपाल स्वास्थ्यकर्मी संघ, कर्मचारी युनियन र लर्डबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघले सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने भन्दै विरोधमा उत्रिएका छन् ।

संघका कार्यबाहक सभापति मुस्लिम खाँनले लडबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनुपर्ने भए पनि सोको कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताए । उनले भने, ‘श्रम मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिएपछि आन्दोलनमा उत्रिएका हौं, कार्यान्वयन नभए अझ सशक्त आन्दोलन गर्छौ ।’

नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँनले एकेडेमी प्रशासनले आफ्ना मागहरु पुरा नगरे भोलिदेखि नीतिगत आन्दोलनमा जाने बताए । उनले एकेडेमीले मौखिक आश्वासन दिए पनि झुटको राजनीति गरिरहेको भन्दै न्यूनतम पारिश्रमिक दिने लिखित प्रतिबद्वता जनाउनुपर्ने बताए ।

एकेडेमीमा कार्यरत कर्मचारीलाई दुई महिनाको पारिश्रमिकसमेत नदिएको र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नसमेत चासो नदेखाएपछि आन्दोलनमा उत्रिनुपरेको लडबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघका महिला उपसभापति सुमन गिरीले जानकारी दिइन् । उनले भनिन्, ‘एकेडेमीले थोरै पारिश्रमिक पनि समयमै दिएको छैन ।’

एकेडेमीका ट्रेनि स्टाफ नर्स आस्था श्रेष्ठले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिएर श्रमशोषण भइरहेको बताइन् । उनले भनिन्, ‘हामीलाई आधारभूत आवश्यकतासमेत पुरा गर्न समस्या भइरहेको छ । सामान्य खाजा खर्चमा काम गर्छौ, सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु नभएसम्म हामी आन्दोलन गर्छौ ।’

आन्दोलनरत टे«नि नर्सहरुले सेवाग्राहीलाई मर्का नपर्ने गरी आइतबारदेखि नै विहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म हरेक विभागमा एक जनाले ड्यूटीमा खटिने र बाँकी नर्सहरु आन्दोलनमा उत्रिने गरेको बताएका छन् । लडबुद्व एजुकेशनल एकेडेमीको एउटा शाखामा करिब ४० जना ट्रेनि स्टाफ नर्सहरु कार्यरत छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १७:०९