बाँके । सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो, नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्यो । उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी संगठन नेपाल विद्यार्थी संघका नेता थिए ।
प्रहरी तत्कालै मूभ भयो । प्रहरीलाई किन पनि हतारो थियो भने केही साताअघि सार्वजनिक भएको अडियो रेकर्डमा बाँकेका कोहलपुर इलाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीद्धारा चलखेल गरेको भन्दै तिघ्रा छेड्ने चेतावनी पाउने उनै खड्का थिए । प्रहरीले खड्काको मोबाइल लोकेसन हेर्यो ।
खोज्दै जाँदा खड्का गोगंबुमा भेटिए । प्रहरीले अपहरणबारे सोधपुछ गरे । खड्काले प्रहरी पोसाकमा आएका तीनचार जनाको नकाबधारी समूहले होटलमा लगेर मोबाइलमा रहेको सामग्रीसमेत डिलिट गरेको बताए । त्यसपछि होटलमा सिसिटिभी हुनसक्ने भन्दै प्रहरीले खड्कालाई लिएर उक्त होटलमा लैजाने तयारी गर्यो ।
यत्तिकैमा खड्काले आफुले अपहरणमा परेको नाटक गरेको बताएपछि प्रहरी छक्क पर्यो । अनुसन्धानमा खटिएका अधिकारीहरु प्रहरीले अप्ठेरोमा पार्न खड्काले अपहरणको नाटक रचेको दावी गर्छन् । खड्का तरुण दलका बाँके कोषाध्यक्ष हुन् ।
यसअघि कोहलपुर इलाका प्रहरीले केही साताअघि बाँकेका नगरसभापति संजिवजंग शाहलाई हतियारसहित पक्राउ परेको समाचार सार्वजनिक भएलगत्तै सोही इलाका प्रहरी इन्चार्ज शाहीले खड्कासँग दशैँका लागि खसी मागेको र आफ्नो सरुवा गर्न चलखेल गरेको भन्दै धम्क्याएको छुट्टाछुट्टै दुई वटा अडियो रेकर्ड सार्वजनिक भएको थियो ।
कोहलपुर प्रहरीले ज्यान मार्ने उद्योगमा खड्काविरुद्ध पक्राउ अनुमति पाएको बताएपछि महाशाखाले उनलाई बाँके पठाउने तयारी गरेको छ । ‘यो पक्राउ पूर्जीभन्दा पनि हामीले अदालतबाट पक्राउ गर्न अनुमति पाएका छौँ,’ कोहलपुरका डीएसपी शाहीले भने ।
स्रोतका अनुसार त्यस घटनामा खड्काविरुद्ध किटानी जाहेरी नपरे पनि पक्राउ परेकाले बयानमा उनको नाममा पनि पोलेका छन् । २०७६ असोज २६ गते राती बाँकेको बैजनाथ गाउँपालिका–३ मा मेलामा नेपाली सेनाका जवान लोकेन्द्र शाहीमाथि भएको खुकुरी प्रहारमा कोहलपुर प्रहरीले ६ जनालाई पक्राउ गरि ज्यान मार्ने उधोगमा मुद्धा चलाएको थियो ।
पक्राउ परेकामध्ये यमबहादुर राना पुर्पक्षका लागि कारागार चलान भए भने अन्य धरौटीमा छुटेका थिए । कोहलपुर इलाका प्रहरी प्रमुख शाहीले गत कात्तिक १९ गते भएको बाँके जिल्ला अदालतको आदेशले तरुण दलका जिल्ला कोषाध्यक्ष खड्काविरुद्ध पक्राउ अनुमति पाएको बताए ।
‘अनुसन्धानका क्रममा त्यो घटनाको सम्पूर्ण योजनाकार नै खड्का रहेको पाइयो । पिडित र पक्राउ परेकाको बयानमा पनि त्यही उल्लेख छ,’ शाहीको दावी छ । यता, कोहलपुर प्रहरीले गत कात्तिक १४ गते तरुणदलका नगर सभापती सन्दीपजङ्ग शाहीलगायतलाई हतियारसहित पक्राउ गरेको थियो ।
त्यसको भोलिपल्ट डीएसपी शाहीले खड्कासँग खसी मागेको र तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो । पछिल्लो समय खड्काले आफूविरुद्ध कोहलपुर प्रहरीले फसाउने षड्यन्त्र गरेको निकटस्थहरुसँग बताउँदै आएका थिए ।
सत्यपाटी ।