सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागिर

सल्यान । सल्यानमा एकजना जनप्रतिनिधि राजीनामा दिएर शिक्षण पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।

विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटा अन्तरगत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए ।

शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उत्तीर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन् । ‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे,’ बुढामगरले भने । आगामी दिनमा राजनीतिमा नफर्किने सोचेको बुढामगरले बताए ।

उनले भने, ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु,’ बुढामगरले भने । उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका थिए । सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १२:४०