बाँके । अबको चार महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्स पुर्याउने दावी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको तयारी छ । पटकपटक ढिलासुस्ती भइरहेको भन्दै आलोचना खेपेको मन्त्रालयले मात्रै होइन मातहतका विभाग र कार्यालयले पनि चर्को आलोचना खेपिरहेका छन् ।
मन्त्रालयले तीव्र गतिमा लाइसेन्स छाप्न सक्ने मास प्रिन्टर खरीद गरेर जडान गरेसँगै लाइसेन्स छपाईमा हुने ढिलासुस्ती हट्ने भएको छ । ‘१० लाख स्मार्ट कार्ड भित्रिएको छ । मास प्रिन्टर जडान भएर टेस्टिङ हुँदैछ, अर्को हप्ताबाटै छाप्न सुरु हुन्छ । अबको चार महिनामा सबैको हातमा स्मार्ट लाइसेन्स पुग्छ,’ सहसचिव राजेश्वर ज्ञवालीले भने ।
यससँगै यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र प्रणालीलाई पनि थप सुधार गर्ने भएको छ । अहिले भएका सफ्टवेयरलाई सुधार गर्दै थप प्रभावकारी बनाउन सुरु गरिएको छ । सवारी चालक अनुमतिपत्र प्रणालीमा रहेका विद्युतीय त्रुटीलाई समाधान गरेर सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिन लागिएको छ ।
सफ्टवेयर प्रणालीलाई चुस्त बनाउनकै लागि सवारी चालक अनुमतिपत्र प्रणालीसँगै स्मार्ट कार्डको सेवासमेत यातायात मन्त्रालयले मातहतका सबै कार्यालयमा बन्द गरेको छ । सवारी चालक अनुमतिपत्र प्रणालीमा रहेका तथ्यांक स्थानान्तरण गर्न आफ्ना सेवाहरु बन्द गरेको छ । यातायात व्यवस्था कार्यालयका अधिकृत बालकृष्ण चौधरी नेपालगन्जका अनुसार तीन दिन सवारी चालक अनुमतिपत्र प्रणालीसम्बन्धी सबै सेवाहरु बन्द गरिएको छ ।
‘सवारी चालक अनुमतिपत्र प्रणालीलाई व्यवस्थित गर्न तीन दिन सफ्टवेयरमार्फत व्यक्तिगत विवरण (वायोमेट्रिक) र फोटो खिच्ने कार्य बन्द हुनुका साथै सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै प्रकारका दर्ता प्रक्रिया र राजस्व संलकन बन्द गरिएको छ,’ अधिकृत चौधरीले भने, ‘विभागले विद्युतीय प्रणालीलाई स्तरोन्नती र तथ्यांक स्थानान्तरण गरिरहेको छ । यो काम सकिएलगत्तै सबै काम सुचारु हुन्छन् ।’
सत्यपाटी ।