सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा मतदाता रिझाउँदै उम्मेद्वार, राप्रपाको दावी ‘जीत सुनिश्चित’

स्थानीय तहको उपनिर्वाचन २०७६

बाँके । २०७४ सालको स्थानीय निकायको निर्वाचनमा कोहलपुर–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडाबासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मंसीर ६ गते सो वडामा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तीनका उम्मेद्वार वडाका टोलटोलमा पुग्न थालेका छन् । वडा नं. ६ मा तीन ठूला दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदुर किसान पार्टी र समाजवादी पार्टीले मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर चुनावी चहलपहल बढाइरहेका छन् ।

२०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि कोहलपुर वडा नंं ६ मा हुन लागेको उपनिर्वाचनमा विभिन्न कार्यक्रम गर्दै उम्मेद्वारहरुले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । मतदातालाई आफ्नो पकडमा पार्न राजनीतिक दलहरु भेला, अन्तरक्रिया र प्रचारमा जुटेका छन् । दलका सम्पर्क कार्यालयमा नेता र कार्यकर्ताको भीड छ ।

सत्तारुढ पार्टी र सबैभन्दा ठूलो दल भएकाले नेकपाले तामझामसहित सक्रियता देखाइरहेको छ । नेकपा कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भनिन्, ‘सबै भातृ तथा शुभेच्छुक संगठनलाई सबै तहसम्म पु¥याउन र जनमत नेकपाको पक्षमा ल्याउन खटिइरहेका छौं । हामीले टोलटोल, गाउँगाउँसम्म कार्यक्रम गरिरहेका छौं ।’ नगर अध्यक्ष अधिकारीले निर्वाचन नजिकिसकेकोले सोही अनुसार भेला, अन्तरक्रिया र प्रचारलाई तीव्र बनाएका छन् ।

उनले भनिन्, ‘मतदाताहरु सरकारका काम कारबाही बारे सन्तुष्ट हुनुहुन्छ । यसले पनि हामीले निर्वाचन जित्नेमा ढुक्क छौं । सरकारका बारेमा गरिएका गलत प्रचारलाई मतदातालाई स्पष्ट पार्दै अघि बढेका छौं । दिनहुँ हाम्रा चुनावी अभियान र गतिविधि तीव्ररुपमा अघि बढेका छन् ।’ घरदैलो अभियानसँगै नेपाली काँग्रेसले पनि प्रचारका कार्यक्रमहरुलाई तीव्रता दिइरहेको कोहलपुर नगर सभापति बलराम शर्माले बताए ।

‘विगतमा पनि हामीले नै जितेका हौं । यस पटक पनि हामी निर्वाचनलाई आफ्नो पक्षमा पार्छौ । मतदाताहरु सरकार र कोहलपुरमा नेकपाबाट निर्वाचितहरुको कामप्रति सन्तुष्ट हुनुहुन्न । त्यसलै पनि हाम्रो जीत निश्चित छ,’ नगर सभापति शर्माले भने । कांग्रेसले पनि मतदातालाई रिझाउन वडाका टोलटोलमा चुनावी गतिविधिलाई तीव्रता दिएको छ । नगर सभापति शर्माले भने, ‘हामीले मतदातालाई आफ्नो पक्षमा पर्ने रणनीति अपनाइरहेका छौं ।’

नेकपा र काँग्रेसबीच कडा प्रतिश्पर्धा हुने र त्यही बीचबाट आफ्नो जित निकाल्ने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्र बनाएको राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले बताए । उनले भने, ‘हामीले चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छौं । सबै टोलमा उम्मेद्वारसहित प्रचारका कामहरु भइरहेका छन् । तयसका साथै हामीले प्रोजेक्टरमार्फत पार्टीका प्रतिवद्धताहरु आम मतदाताहरुसामु राखिरहेका छौं । हामीले अन्य दलभन्दा योग्य, शिक्षित र युवा उम्मेद्वार छनौट गरेकाले जीत सुनिश्चित छ ।’

गाउँको विकास र समृद्धिको लागि मतदाताले राप्रापालाई मतदान गर्ने केन्द्रीय सदस्य देवकोटाको दावी छ । जिल्लामै एउटा मात्र वडामा उपनिर्वाचन हुन लागेकोले सबै दलहरुको ध्यान कोहलपुर वडा नं. ६ मै गएको छ । बाँके जिल्लामा घर भएका दलका केन्द्रीय नेताहरु समेत कोहलपुर–६ मै बसेर चुनावी रणनीति बनाइरहेको सम्वद्ध दलहरुले बताएका छन् । सत्तारुढ नेकपा र प्रमूख प्रतिपक्षी दल काँग्रेसले थारु समुदायबाट उम्मेद्वार उठाएका छन् ।

राप्रपाले भने पहाडी समुदायबाट उम्मेद्वार छनौट गरेको छ । थारु मतदाता धेरै रहेको वडा भएकाले दुई ठूला दलले थारु समुदायबाट उम्मेद्वार बनाउँदा थारु समुदायको मत विभाजन हुने र त्यसको फाइदा राप्रपालाई हुने अनुमान गरिएको छ । दलहरुले विकास र समृद्धिलाई नै मुख्य मुद्दा बनाएर मतदातासम्म लैजाने र मन जित्ने दाउमा छन् । तीन ठूला दलसँगै नेपाल मजदुर किसान पार्टी र समाजवादी पार्टीले पनि चुनावी अभियान चलाइरहेका छन् ।

कोहलपुर–६ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली कांग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मैदानमा हुनुहुन्छ । गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । उम्मेद्वार मनोनयन दर्तासँगै कोहलपुर–६, मा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।

जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ । गणितीय जोड घटाउकै बीचबाट जीतको दाउ मार्न राप्रपाबाट युवा नेता श्रीधर सुवेदी लागिरेका छन् । वडाबासीबीच निकै लोकप्रिय बनेका सुवेदीले त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । पत्रकारिता हुँदै राजनीतिमा होमिएका श्रीधर हरेक कोणबाट वडाध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको स्वयं वडाबासीहरुले नै बताउने गरेका छन् । वडाका युवामाझ लोकप्रिय श्रीधरको उम्मेदवारी यतिबेला नेकपा र काँग्रेसको टाउको दुखाई भएको छ ।

नयाँ जोसजाँगर र वडाको समृद्धिका लागि वडाध्यक्षका दाबेदार श्रीधर घरदैलोमा व्यस्त छन् । उनी आफूलाई कोहलपुर वडा नं. ६ को चौकीदार भएको बताउँछन् । उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउन हम्मेहम्मे हुने देखिएको छ भने नेकपाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा सत्ता र शक्तिको प्रयोग गरिरहेको छ । दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यसबाट आफ्नो जीत निकाल्ने निश्चित भएको राप्रपाको दावी छ ।

‘नेकपा र काँग्रेसको विकल्प राप्रपा नै हो । हाम्रो जीत निश्चित छ,’ राप्रपाका उम्मेदवार श्रीधरले भने, ‘मतदातासमक्ष पुगेर भोट मागिरहेका छौं ।’ यसअघि काँग्रेसले जितेको उक्त वडामा अहिले त्रिपक्षिय भीडन्त हुने देखिएको छ । मतदाताहरुले अहिले पार्टी र जातभन्दा माथि उठेर राप्रपाका उम्मेद्वारलाई सघाउने आशय व्यक्त गरेका छन् । नेकपा र काँग्रेस उम्मेदवारको तुलनामा राप्रपाका उम्मेदवार श्रीधर आमवडाबासीको रोजाईमा परेका छन् ।

काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारू यसअघि सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको तला थप्ने भन्दै महायज्ञ लगाएर लाखौं रकम हिनमिना गरेको विद्यालय स्रोतले जनाएको छ । नेकपाका उम्मेद्वार रामशरण थारुले तत्कालिन अवस्थामा माओवादी हुँ भन्दै वडाबासीलाई बेलाबेलामा सताउँदै आएकोले यी दुबै उम्मेदवार वडाबासीका लागि उपयुक्त नभएको भन्दै मतदाताहरुको छनौटमा श्रीधरले बाजी मार्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १४:०६