सूचनाको शक्ति - The Power Of Information

        

सिमा विवादको प्रमाणिक दस्तावेज सुगौली सन्धी खोज्न नेपाली सेनाको छुट्टै निर्देशनालय

काठमाडौं । नेपाली सेनाले भारत र चीनसहित द्विपक्षीय सम्बन्ध भएका राष्ट्रहरुसँग विभिन्न ऐतिहासिक कालखण्डमा भएका सन्धि–सम्झौता खोजिरहेको खुलासा भएको छ । सैनिक मुख्यालय जंगी अड्डाभित्र एउटा छुट्टै निर्देशनालय नै स्थापना गरेर यस्ता महत्वपूर्ण दस्तावेजको खोजी तथा संकलन भइरहेको हो ।

उच्च सैन्य अधिकारीका अनुसार सेनाले पछिल्लो सात महिनादेखि नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको आधिकारिक प्रति खोजीरहेको हो । सुगौली सन्धीसँग सम्बन्धित अन्य दस्तावेज सहित यस विषयमा जानकारहरुको खोजीमा पनि सेना जुटेको छ । सुगौली सन्धि अहिले कालापानी क्षेत्रमा देखिएको नेपाल–भारत सिमा विवादको सबैभन्दा प्रमाणिक दस्तावेज हो ।

रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन तहमा पुर्याउन सेनालाई सीमा सम्बन्धी छिमेकी देशहरुसँग भएका सन्धि–सम्झौता जस्ता महत्वपूर्ण दस्तावेजको अध्ययन–अनुसन्धान र संकलनको जिम्मेवारी दिएको हो । ‘हामी सुगौली सन्धि खोजिरहेका छौं,’ जंगी अड्डामा उच्च सैनिक अधिकारीले भने, ‘केही दस्तावेज फेला परेका छन्, यसका जानकारहरूसँग पनि सेनाले सम्पर्क गर्नेछ ।’

सेनाले पाएको जिम्मेवारी अनुसार ऐतिहासिक नक्साको समेत अध्ययन अनुसन्धान हुनेछ । यस्तै पुराना सीमाको सर्वेक्षण र नक्सांकनमा खटिएका पूर्व अधिकारीलाई समेत सूचना स्रोतका रुपमा सेनाले उपयोग गर्ने अधिकार पाएको छ । ‘हामी बाह्य स्रोतसँग समेत सहयोग लिनेछौं,’ ती सैन्य अधिकारीले भने, ‘यसका लागि सेनाको एउटा महाशाखाले काम गरिरहेको छ ।’

सेनाले निर्देशनालय बनाएपछि भारतको नयाँ नक्सा

नेपाली सेनाले सहायक रथी (ब्रिगेडियर जर्नेल) को नेतृत्वमा चार महत्वपूर्ण महाशाखा सहित निर्देशनालय नै स्थापना गरेर सीमा तथा सन्धि–सम्झौता सम्बन्धी दस्तावेजको अध्ययन, अनुसन्धान, संकलन र सर्वेक्षण थालेपछि भारतले नयाँ नक्सा सार्वजनिक गरेको खुलासा भएको छ । सेनाले एकजना सहायक रथीको नेतृत्वमा चारजना महासेनानी सहितको निर्देशनालय यही बैशाखमा स्थापना गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै गत चैतमा सेनालाई पत्र पठाएपछि रक्षा मन्त्रालयको निर्देशनअनुसार सेनाले नयाँ निर्देशनालय स्थापना गरेको हो । नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सचिवालयको प्रत्यक्ष निर्देशनमा रहने गरि २०७६ बैशाखमा सर्वे तथा सीमा अनुगमन निर्देशनालय स्थापना गरेको हो । निर्देशनालय अन्तर्गत प्राविधिक विज्ञसहितको सीमा अनुगमन समन्वय महाशाखा, सर्वे महाशाखा, सन्धि तथा सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा र बन्दोबस्ती महाशाखा रहेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले रक्षा मन्त्रालयको पत्रपछि सेनाले बैशाखदेखि नै सर्वे तथा सीमा अनुगमन निर्देशनालय स्थापना गरेर काम गरिरहेको स्वीकार गरे । उनले सेनाले राष्ट्रिय सुरक्षा नीतिअनुसार रक्षाले दिएको कार्य गरिरहेको बताए । ‘हामीलाई रक्षाले पठाएको पत्रपछि हामी निर्देशनालय निर्माणको प्रक्रियामा गएका हौंं’, सहायक रथी पाण्डेले भने, ‘निर्देशनालयले चार महाशाखा सहित काम गरिरहेको छ ।’

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले २०७५ फागुन २१ मा मन्त्रीस्तरीय निर्णय गर्दै सन्धि–सम्झौताको एकिकृत संकलन, अध्ययन अनुसन्धान र सीमा सुरक्षा तथा समन्वयको म्याण्डेट सहित सेनालाई खटाउने निर्णय गरेका थिए । रक्षाले सोही मन्त्रीस्तरीय निर्णयका आधारमा २०७५ चैत्र १४ मा सेनालाई औपचारिक पत्र पठाएको थियो ।

के हो सुगौली सन्धी

नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भारतको सुगौलीमा भएको सन्धि ‘सुगौली सन्धि’ का नामले चर्चित छ । नेपालले ठूलो भू–भाग गुमाउनु परेको यो सन्धिपछि नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो ।

सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए । सन्धिअनुसार नेपालले युद्धमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ना गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्न नपाउने सर्त नेपालले मानेको थियो । सुगौली सन्धिअघि फ्रान्सका कमाण्डरहरूले नेपाली सेनालाई तालिम दिन्थे ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०९:१५