सूचनाको शक्ति - The Power Of Information

        

कार्यकर्ता छुटाउन तरुण दलको बाँके बन्द

बाँके । बाँके प्रहरी प्रशासनविरुद्ध उत्रिएको नेपाल तरुण दलले आज बाँके बन्दको आह्वान गरेको छ । आफ्ना कार्यकर्तामाथि प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै बाँके बन्दको आह्वान गरेको हो । आफ्ना कार्यकर्ता छुटाउन दबाब दिने क्रममा तरुण दलले चरणबद्ध विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तरुण दलले कांग्रेस तथा तरुण कार्यकर्तामाथि प्रहरी प्रशासनको ज्यादती र राज्य आतंकबिरुद्ध बन्द भन्दै आएपनि बन्दुकसहित पक्राउ परेका भनि बाँके प्रहरीले अनुसन्धान गरिरहेका तरुण नेपालगन्जका अध्यक्ष सन्दिपजंग शाहीको रिहाईको दबावका लागि बन्दसम्मको कार्यक्रममा उत्रिएको हो । बन्दको पूर्व सन्ध्यामा तरुण दलले बिहीबार साँझ राँके जुलुससमेत निकालेको थियो ।

नेपाली काँग्रेस पार्टी कार्यालयबाट तरुण दलले बाँके प्रहरीको विरोध गर्दै राँके जुलुस निकालेको थियो । आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै बन्द आह्वान गरेको बुधबार तरुण दल बाँके सभापति विरेन्द्र शाहद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा बन्दको समयमा एम्बुलेन्स लगायत अत्यावश्यक बाहेकका अन्य सवारी साधन चल्न नदिने बताएको छ ।

साथै विञप्तीमा बन्दका बेला विद्यालय, कलेज, कलकारखाना, पसल व्यवसाय, गाडी, ईरिक्सा लगायत सबै बन्द गरिने जनाएको छ । बन्द हडताल सधैंका लागि बन्द गरिनुपर्ने जनमत रहेका बेला तरुण दलको बन्द आन्दोलनको तिब्र आलोचना गरिएको छ । लोकतान्त्रिक दलको अलोकतान्त्रिक कदम रोक्न उद्योगी व्यवसायी सबैले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०८:४५