चितवन । देशभरिको निर्वाचन परिणाम धमाधम आउँदा चितवन–३ को परिणाम आउन भने अझै केहीदिन कुर्नुपर्ने भएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिक्रम पाण्डेले मतगणना बुथ थप्न नमानेपछि मतगणना कार्य निकै सुस्त हुन पुगेको आरोप वामगठबन्धनले लगाएको छ । झण्डै ९३ हजार मत खसेको चितवन–३ मा आइतबार मध्यान्हसम्म जम्मा २४ हजार मत मात्र गणना भएको छ। र, यति गणनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लोकतान्त्रिक गठबन्धनका बिक्रम पाण्डे भन्दा ४ हजार ३ सय १४ मतले अगाडि छन् ।
गणना भएको मतमध्ये प्रचण्डले १३ हजार ३ सय ८७ मत ल्याएका छन् भने राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका लोकतान्त्रिक गठबन्धनका पाण्डेले ९ हजार ७३ मतका साथ प्रचण्डलाई पछ्याइरहेका छन् ।चितवनका अन्य क्षेत्रको गणना कार्य रफ्तारका साथ हुँदा चितवन–३ मा भने गणनाले गति नपक्रेपछि वामगठबन्धनले ४ वटा बुथ बनाएर गणना गर्नुपर्ने माग गरेको थियो । किनभने, शनिवार दिउसोसम्म सिर्फ एउटै बुथबाट मात्र गणना हुँदै थियो ।
वामगठबन्धनको सो मागपछि दुई बुथ थपेर तीन बुथबाट गणना सुरु गरिएको थियो । त्यसअघि २४ घण्टाभित्र १२ हजार मत गणना भएकोमा दुई बुथ थप भएपछि ४ घण्टाको बीचमा ८ हजार मतगणना हुन सकेको थियो । र, प्रचण्डको अग्रता बढ्न थालेको थियो । तर वनमन्त्री समेत रहेका लोकतान्त्रिक गठबन्धनका पाण्डेले मतगणना बुथ घटाउन माग गरेपछि जम्मा दुई बुथबाट गणना सुरु भएको छ,जसले गर्दा फेरि गणना र मतान्तरले रफ्तार लिन सकेको छैन । गणना गर्ने प्रतिनिधिको अभाव देखाउँदै पाण्डेले बुथ घटाउन माग गरेका थिए ।
‘हामीले धेरै ठाउँमा एकैचोटी गणना गरौं भनिरहेका छौं तर पाण्डे पक्ष सहमतिमा आएको छैन’ गणनामा सहभागी माओवादी केन्द्रका युवा नेता सन्तोष पनेरुले भने, विना सहमति गणना गर्ने बुथहरु थप्न सक्ने स्थिति छैन, त्यसैले त्यसैले फेरि मतगणना ढिलो भैरहेको छ ।’ वामगठबन्धनको आरोप के छ भने, पराजयका बीच पाण्डे सत्ताको आयु लम्ब्याउने दाउमा छन् । पनेरु भन्छन्, ‘मतगणना जति ढिलो भयो, नयाँ सरकार बनाउन त्यति नै ढिलो हुन्छ, त्यसैले नियोजित रुपमा नै गणना ढिलो गर्ने काम भइरहेको छ ।’
हुन त विवादका कारण स्याङ्जाको मतगणना नै सुरु भएको छैन । यस हिसावले सबैभन्दा अन्तिम परिणाम स्याङ्जाको हुने सम्भावना ज्यादा छ । तर, यदि स्याङ्जाको गणना तत्काल सुरु भयो र चितवनको गणनाले यस्तो रफ्तार लियो भने चितवन–३ को मतपरिणाम सबैभन्दा अन्तिममा आउने सम्भावना छ ।
।