सूचनाको शक्ति - The Power Of Information

        

दैनिक लोडसेडिङ गर्ने प्राधिकरणले निकाल्यो बिजुलीको खपत बढाउन सूचना !

काठमाडौं । तीन वर्षअघिसम्म नेपाल विद्युत् प्राधिरकणले दैनिक लोडसेडिङको तालिका निकाल्थ्यो, त्यही तालिका हेरेर नागरिकहरू आफ्नो दैनिकीको पनि तालिका बनाउँथे । तीन वर्षमा त्यस्तो कहालीलाग्दो लोडसेडिङ हटेर परिवेश ठ्याक्कै उल्टो बनेको छ, कतिसम्म भने अब विद्युत् प्राधिकरणले हिउँद सुरु भएपछि पनि विद्युत् खपत बढाउन प्रोत्साहन गर्नेगरी चाहिएजति बिजुली लिन आग्रह गर्दै सूचना निकाल्न थालेको छ ।

प्राधिरकरणको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरले एक सूचना निकाल्दै आफ्नो घर, उद्योग, पसलहरूमा बिजुली नयाँ लाइन जोड्न तथा पुरानो लाइनको क्षमता बढाउन कुनै समस्या नरहेको जानकारी दिएको छ । कार्यालयले प्राधिकरणमा थ्रि–फेज, सिंगल–फेज र ट्रान्सफर्मरको सहज आपूर्ति भइरहेको जानकारी दिँदै नयाँ लाइन जडान गर्नुपरेमा, क्षमता बढाउनुपरेमा तथा लो–भोल्टेजको समस्या भएमा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

‘यस्तो सेवा नागरिक बडापत्रमा उल्लेख भएको सेवा शुल्क बुझाइ सञ्चालन गर्नुहुन सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । ग्राहकलाई ५० केभीएभन्दा तलको लोड आवश्यक भएमा प्राधिरकणको ट्रान्सफरबाटै सेवा दिन सकिने कार्यालयले जनाएको छ । कार्यालयले लोड बढाउन प्रोत्साहित मात्रै गरेको छैन, लाइन लिनका लागि विगतजस्तो प्राधिरकणका कर्मचारीलाई नजराना बुझाउनुपर्ने र अनेक तवरले मनाउनुपर्ने अवस्था नरहेकोले सचेत बन्न सांकेतिक रुपमा सर्वसाधारणलाई जानकारी पनि गराएको छ ।

‘छिटोरछरितो सेवाप्राप्त गर्ने बहानामा कुनै पनि अतिरिक्त शुल्क भुक्तानी नगर्नरनगराउन हुन पनि जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । समयमै सेवा उपलब्ध नभए वा सेवा सञ्चालन गर्न कठिनाइ आएमा वितरणकेन्द्र प्रमुख र प्रादेशिक कार्यालय प्रमुखलाई सम्पर्क गर्न आग्रह गरिएको छ । सूचनामा विराटनगर वितरण केन्द्र प्रमुख राजिवकुमार सिहं, १ नम्बर प्रदेशका प्रादेशिक प्रमुख श्रीरामराज पाण्डको मोबाइल नम्बर पनि राखिएको छ ।

किन आयो यो अवस्था ?

तीन वर्ष अघिसम्म मागलाई धान्न नसकेर लोडसेडिङ गरेर बसेको अब विद्युत् प्राधिकरणलाई बिजुलीको खपत बढाउने चुनौती देखिएको छ । त्यसैले प्राधिकरण उपभोक्ताको मागअनुसार बिजुली दिन पर्याप्त मिटर ट्रान्सफर्मर आपूर्ति गरेर तयारी हालतमा बसेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी कात्तिकको मध्यसम्म पनि आन्तरिक उत्पादनले नै समग्र बिजुलीका माग धानिरहेको बताउँछन् ।

साँझको पिक आवरमा भारतबाट बिजुली आयात भइरहे पनि नेपालले पनि २८ देखि ३२ मेगावाट बिजुली गत आसारबाट निरन्तर भारतमा निर्यात गरिरहेको छ । अहिले प्राधिरकणको प्रणालीमा करिब १२ सय मेगावाटको ‘पिक डिमान्ड’ छ । त्यसमा करिब ५३५ मेगावाट नेपाल विद्युत् प्राधिरकणका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले धान्छ । निजी स्तरका आयोजनाबाट करिब ४२५ मेगावाट बिजुली उत्पादन भएर खपत हुँदैछ । औसत दैनिक ८० मेगावाट बिजुली भारतबाट आयात हुन्छ भने २६ मेगावाट बिजुली भारत निर्यात गरिँदैछ ।

यो वर्ष वर्षामा रातको समयमा माग घट्दा नेपालकै बिजुली प्लान्टहरू बन्द गर्नुपर्ने अवस्थासमेत आइसकेका थियो । त्यसैले प्राधिरकणलाई जतिसक्दो छिटो देशभित्रै बिजुली खपत बढाउन दबाव परेको छ । प्राधिकरणले यो आर्थिक वर्षको अन्त्यसम्म प्रणालीमा १ हजार ५ मेगावाट विजुलीको माग थपिने प्रक्षेपण गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि यसै आर्थिक वर्षको अनत्यसम्म सञ्चालनमा ल्याउने योजना छ ।

तामाकोसीसहित यो वर्षमात्रै ५० वटा नयाँ आयोजनाले उत्पादन थाल्ने अनुमान रहेको प्रवक्ता अधिकारीले बताए । प्रक्षेपणअनुसार आयोजना सञ्चालनमा आएको एक वर्ष्भित्रै देशको विद्युत् उत्पादन क्षमता दोब्बर हुनेछ । ‘अब हामीलाई उत्पादनको कुनै चिन्ता छैन, हामीलाई अब प्रसारण, वितरण र उत्पादित बिजुलीको बजार प्रवर्धनको चुनौती मात्रै छ,’ प्रवक्ता अधिकारी भन्छन्, ‘त्यसैले विद्युत् खपत बढाउन के–के गर्न सकिन्छ सबै प्रयासहरू हामी गर्दैछौं ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १३:१६