कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेयविरुद्ध अनियमितताको उजुरी परेको छ । अस्पतालमा आवास, कर्मचारी भर्ना, अस्पतालको हाताभित्रै फार्मेसी सञ्चालन गर्न दिएको लगायत एकलौटी मनपरी गरेर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा उजुरी परेको हो ।
मेसु पाण्डेय र अस्पतालको लेखा शाखाका अधिकृत मदनसिंह महराको मनपरीले गर्दा प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको साख घट्दै गएको भन्दै उजुरी परेको हो । उनीहरूले कानुन विपरीत अनियमितता गरेको समेत आरोप छ । पाण्डेयले अस्पतालमा रहेको सरकारी आवासमा ताला लगाएर आफू निजी घरमा बस्दै आएको र दुई महिनाअघि अवकाश प्राप्त डाक्टर र सरुवा भएका डाक्टरलाई समेत निवास उपलब्ध गराएको आरोप छ । जसले गर्दा हाल कार्यरत डाक्टरहरू भाडामा बस्दै आएका छन् ।
पाण्डेयले अस्पतालको हाताभित्र नेपाल चिकित्सक सङ्घलाई घर बनाउन दिएर त्यसवापतको भाडा पनि उसैको खातामा हाल्न दिएको आरोप छ । अस्पतालको हाताभित्रका निजी फार्मेसीहरू हटाउन समेत आर्थिक प्रलोभनमा परेका पाण्डेयकै कारण ढिलाइ भइरहेको उल्लेख छ । अस्पतालको हाताभित्रका निजी फार्मेसी बन्द गर्न गत जेठ १ गते प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली लगायतको टोलीले अस्पतालभित्रका निजी फार्मेसी हटाउन अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो ।
त्यसको पालना नभएपछि गत भदौ २५ गते मन्त्रालयले फेरी हटाउन पत्राचार गरेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी झंकरबहादुर विष्टले बताए । सर्वोच्च अदालतले समेत सरकारी अस्पतालको हाताभित्र निजी फार्मेसी राख्न नपाउने आदेश जारी गरेको छ । तर सेती प्रादेशिक अस्पतालमा भने निजी फार्मेसीका ढोका, झ्याल तथा एउटा फार्मेसी त भित्रै छ । अस्पताल प्रशासनले मन्त्रालयको निर्देशन पालनामा चासो नदिएको बिस्टको भनाई छ ।
यता अस्पताल प्रशासनले भने विगतमा रहेको विकास समितिको सम्झौताले फार्मेसी हटाउन समस्या भएको जनाएको छ । पाण्डेयले एकलौटी ढङ्गले चिकित्सक भर्ना गरेको, आमा सुरक्षा कार्यक्रममा अनियमितता गरेको, स्टाफ नर्स भर्ना गर्दा खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा आफ्नी भाई बुहारी र अर्का एकजना गरी दुई जना स्टाफ नर्सलाई गोप्यरूपमा भर्ना गरिएको उजुरीमा उल्लेख छ । साथै उनीहरूको पारिश्रमिकसमेत आमा सुरक्षा निर्देशिका विपरीत प्रदान गरिँदै आएको बताइएको छ ।
छपाई मसलनन्द तथा अन्य सामान, साबुन, सोडा, चिनी, चियापत्ती फिनायल, हार्पिक, इलेक्ट्रिक सामानहरू पनि सूची दर्ता गरी लिनुपर्नेमा त्यसो नगरेको बताइएको छ । पाण्डेयले नयाँ खानेपानी योजनाका लागि ३० लाखको टेन्डर आह्वान गरी खानेपनी सुचारु नभए पनि रकम भने भुक्तानी गरिसकेको, अस्पतालको रंगरोगन तथा मर्मतका नाममा करौंडौं रकम हिनामिना गरेको भन्दै छानबिन गरिदिन माग गरिएको छ ।
सत्यपाटी ।