सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा सिके राउतले भने, ‘घरघरमा पुगेर मधेसी दलको भण्डाफोर गर्नुस्’

बाँके । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेसीको नाममा काम नगरी ‘राज गरिरहेका’ मधेसी दलहरुको भण्डाफोर गर्नका लागि जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाटमा उनले वर्षौदेखि मधेसीको नाममा ब्रम्हलुट गरिरहेका मधेसी नेताहरुको भण्डाफोर गर्दै आगामी निर्वाचनमा उनीहरुलाई पराजित हुने वातावरण बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

‘मधेसी दलको नाममा मधेसका छोटे राजाहरुले ब्रम्हलुट मच्चाएका छन् । जनमत पार्टीले जनताको घरघरमा पुगेर त्यसको भण्डाफोर गर्नुपर्छ । हामीले काम गरेर देखाउनुपर्छ । आगामी चुनावमा उनीहरुलाई पराजित गर्नुपर्छ,’ डा. राउतले भने, ‘तपाईहरु जनताको घरघरमा पुग्नुस् ।’ डा.राउतले विगतमा मधेसी दलहरुसँग भएको सम्झौताहरु पूरा गर्नुपर्ने उल्लेख गर्दै नेपाली सेनालाई राष्ट्रियकरण गर्नका लागि मधेसीको सामुहिक प्रवेश हुनुपर्ने बताए ।

उनले मधेसीको दुश्मन मधेसी नै रहेको बताए । बाँकेका आफ्ना कार्यकर्ता राममनोहरको हत्या उपेन्द्र यादवले गराएको डा.राउतको भनाई थियो । डा.राउत मंसीर ७ गते काठमाडौंमा हुने रंगभेद विरुद्धको आमसभाको तयारी अन्तरगत जिल्लाव्यापी दौडाहामा निस्केका छन् । बाँकेको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाटलाई केन्द्रीय सदस्य अब्दुल खान र केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज इरफान अहमद शेषले पनि मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १८:०७