सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्षका लोकप्रिय उम्मेद्वार श्रीधर सुवेदी भन्छन्, ‘म वडाको चौकीदार हुँ’

कोहलपुर नगरपालिका–६, मा उपनिर्वाचन

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका वडाध्यक्ष रामसोहन थारुको २०७५ मंसिर ९ गते भएको निधनपछि रिक्त रहेको कोहलपुर नगरपालिका वडा नं. ६ मा आगामी मंसिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन नजिकिँदै गर्दा चुनावी चहलपहल तीव्र बनेको छ । कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेका श्रीधर सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

कोहलपुर नगरपालिका वडा नं. ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष पदमा श्रीधर सुवेदी योग्य र सक्षम उम्मेद्वार हुन् । पत्रकारितामार्फत समाजका समस्याहरु नजिकबाट बुझेका श्रीधर आफ्ना लागि कोहलपुर क्षेत्र र त्यसमा पनि विशेषगरी वडा नं. ६ को समस्या नौलो नभएको बताउँछन् । स्थानीय निकायबाट भइरहेका गतिविधि र गर्न सकिने कामबारे उनी जानकार छन् । युवामाझ अत्यन्तै लोकप्रिय, मिलनसार र राजनीतिकरुपले प्रतिशोध साध्नु नभई सबैसँग हातेमालो गरेर अगाडि बढ्ने स्वभावका श्रीधर आफू जन्मे हुर्केको क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाउने चाहेको बताउँछन् ।

युवा नेता श्रीधर डा.धवलशम्सेर राणाको विकासको मोडलबाट प्रभावित भएको बताउँछन् । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले यस क्षेत्रको विकासमा पुर्‍याएको योगदानलाई श्रीधरले प्रेरणा र मार्गनिर्देशनको रुपमा आत्मसाथ गर्दै आएका छन् । राष्ट्रियता, धर्म र सनातन परम्पराबारे राप्रपाका अध्यक्ष कमल थापाबाट दिक्षित उनले ‘आफ्नो क्षेत्र, आफ्नो सान, कोहलपुरमा वडा नम्बर ६ को छुट्टै मान’को मुल लक्ष्यसहित वडा नं.६ को अध्यक्ष पदका लागि उम्मेदवार बनेको बताए ।

उम्मेद्वार भएसँगै श्रीधरले चुनावी प्रचारलाई वडाका टोल र बस्तीहरुमा पुर्‍याइरहेका छन् । मतदाताको उल्लेख्य समर्थन रहेको दावी गर्दै श्रीधरले बाँकी रहेको साढे दुई बर्षमा वडा नं. ६ लाई कोहलपुरकै नमूना वडाका रुपमा विकास गर्ने योजना आफूसँग रहेको दावी गरे । राप्रपा उम्मेद्वार श्रीधर अन्य पार्टीका उम्मेद्वारभन्दा योग्य, शिक्षित, विकासप्रेमी, मेहेनती र स्वच्छ छवीका मानिन्छन् । जसका कारण पनि उनी निर्वाचन जित्ने उम्मेद्वारका रुपमा दरिएका छन् ।

उनले समाजमा न कसैलाई धम्की दिए, न दुख दिए, न भ्रष्टाचारको आरोप उनीमाथि लागेको छ । अहिलेसम्म समाजले उनलाई स्वच्छ छवि भएको युवामध्येमा उभ्याइरहेको छ । निर्वाचन जित्ने एउटै आधार हो, उनी योग्य, शिक्षित र समाजलाई बुझेका युवा हुन् । वडामा रहेका युवाहरुले उनैलाई पछ्याउँछन्, वृद्धहरुले पत्याएका उम्मेद्वार हुन्, समाजले भरोसा गरेका असल र स्वच्छ छवी भएका युवा नेता हुन् । वडाबासीलाई अन्य उम्मेद्वारप्रति कुनै प्रकारको भरोसा छैन । त्यसैले पनि श्रीधर अरु प्रतिस्पर्धीभन्दा निकै बलिया छन् ।

त्यसैले कोहलपुर नगरपालिका वडा नंं. ६ मा राप्रपाले निर्वाचन आफ्नो पक्षमा पार्ने निश्चित छ । श्रीधर भन्छन्, ‘म वडाको चौकीदार हुँ, पूर्वाधार विकास र रोजगार सिर्जना गर्ने चौकीदार हुँ । अपाङ्गगतामैत्री, महिलामैत्री, बालमैत्री, वडा बनाउने चौकीदार हुँ । हो म यीनै कारणले वडाको निम्ति चौकिदारी गर्छु, गरिरहनेछु, चाहे चुनावी परिणाम मेरो अनुकुल होस् या नहोस् । यसैले चुनाव जित्ने निश्चित छ, यसमा सबै मतदाताहरुलाई विश्वास पनि दिलाउन चाहन्छु । वडाको विकासका लागि जस्तोसुकै मुल्य चुकाउन पनि तयार छु, समग्रतामा समाज बदल्ने मेरो ध्येय हो ।’

वडाबासीकै साथ र सहयोगमा दिगो विकास र आर्थिक समृद्धिका लागि उत्पादनमुलक कार्यक्रमसँगै युवा रोजगारका योजना बनाउने उनको प्रतिवद्धता छ । उपनिर्वाचनको प्रचारमा व्यस्त श्रीधरले वडाभित्र सबै प्रकारका समस्या समाधानका लागि अहोरात्र खट्ने बताउँदै आफू अध्यक्षमा निर्वाचित भएपछि वडा नं.६ लाई अबको साढे दुई बर्षभित्र विकास र समृद्धिको नमुना वडा बनाउने योजना सुनाए । आफूले निर्वाचन जितेपछि २४सैं घन्टा वडाबासीसँगै हुन्छु, उहाँहरुका समस्या सुन्ने, वस्तुस्थिति बुझ्ने र आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

‘अरु कुरा गर्छन्, हामी पुरा गर्छौ’ भन्ने प्रतिवद्धताका साथ मेरो उम्मेद्वारी हो । यही अभिलाषाका साथ सम्पूर्ण आमाबुवा दाजुभाईहरुलाई गाई चिन्हमा मतदान गर्न उनले आग्रह गरेका छन् । ‘तपाईहरुकै घरदैलोमा छु र आएको छु, गाई चिन्हमा छाप लगाई अत्याधिक मतले वडाध्यक्ष पदमा जिताउनहोस्,’ श्रीधरले भने, ‘समाजको विकास र उत्थान पहिलो कुरा हो । विभिन्न सामाजिक विकास, चेतना र जागरणका अभियानमा आफूलाई समर्पित गर्नेछु ।’ समग्रमा आफ्नो वडालाई समृद्ध र विकसित बनाउने तथा शिक्षा, स्वास्थ्य, रोजगार, गास, बास र कपासको लागि नमुना वडा बनाउन योजनावद्धरुपले लाग्ने उनको पूर्ण प्रतिवद्धता छ ।

 

को हुन् श्रीधर सुवेदी ? 

 

तत्कालिन रझेना गाविस वडा नं. ७, हाल कोहलपुर नगरपालिका वडा नं.६ मा जन्मिएका युवा नेता श्रीधर सुवेदी यसअघि पत्रकार हुन् । २०५८ सालदेखि कोहलपुर साप्ताहिकबाट पत्रकारिता सुरु गरेका सुवेदी राजनीति र समाज सेवाप्रति विशेष चासो बोक्ने युवा पनि हुन् । उनी पत्रकारीतासँगै प्रजातन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा आवद्ध भए । उनले स्वतन्त्र समाचार सेवा काठमाडौं, नेपाल एफएम (काठमाडौं), श्री अभिलेख साप्ताहिक (मलेशिया) हुँदै आफ्नो पत्रकारिताको यात्रालाई निरन्तरता दिए ।

२०६३ सालदेखि मलेसियाबाट प्रकाशन सुरु भएको अभिलेख साप्ताहिकमा उनी कार्यकारी सम्पादक भए । मलेसियामा रहेका नेपालीमाझ निकै लोकप्रिय पत्रिका अभिलेख प्रकाशनको क्रममा उनले नेपाल पत्रकार महासंघ मलेसिया शाखाको गठन गरेका थिए । उनी महासंघ मलेसिया शाखाको संस्थापक सचिव हुन् । मलेसियामै रहँदा उनले राष्ट्रिय समाचार समिति (रासस)को मलेसिया प्रतिनिधिसमेत रहेर काम गरे । स्वदेश फर्किएर उनले २०६७ बाट कोहलपुरमै न्युज नमस्ते दैनिक पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

उनले न्युज नमस्तेमार्फत स्थानीय क्षेत्रमा भइरहेका भ्रष्टाचार, बेतिथि, सामाजिक विभेदविरुद्ध धावा बोलेका थिए । २०७३ मा उनी कोहलपुर टेलिभिजनको प्रवन्ध निर्देशक भएका थिए । कमल थापाको दिक्षा, डा.धवलशम्शेरको शिक्षा प्रारम्भमा नेपाली काँग्रेससँग आवद्ध भएका श्रीधर हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । कांग्रेस नेता वीपी कोइरालाको प्रजातान्त्रिक समावजाद र राष्ट्रिय मेलमिलापको नीति प्रति प्राभावित भएर उनी कांग्रेसमा आवद्ध भएका थिए । कोहलपुरमै रहँदा नेपाल प्रेस युनियनमा आवद्ध उनी पत्रिका प्रशासनको क्रममा मलेसियामा रहँदा काँग्रेस निकट संगठन नेपाली जनसम्पर्क समिति मलेशियाको संस्थापक सचिव भए । उनी मलेशियाबाटै महाधिवेशन प्रतिनिधिसमेत भएका थिए ।

मुलुकको परिवर्तित अवस्थामा राष्ट्रियताको संरक्षण तथा सनातन धर्म, संस्कृति र पहिचानको सम्बद्र्धनबाट मात्र देश बलियो हुने, राष्ट्रिय सम्बृद्धिको लक्ष्यहासिलहुने र विपिको प्रजातान्त्रिक समाजवादबाट कांग्रेस च्युँत हुँदै गएको भन्दै उनले नेपाली काँग्रेस परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा आवद्ध भए । उनलाई राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालको पहलमा तत्कालिन राप्रपाका केन्द्रिय उपाध्यक्ष एवं हाल नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले पार्टीमा प्रवेश गराएका थिए । वडा सदस्यदेखि राजनीति सुरु गरेका श्रीधर राप्रपा नेपाल बाँकेको जिल्ला सदस्यसँगै जिल्लाको पार्टी प्रवक्तासमेत भइसकेका छन् । राप्रपा नेपाल निकट पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रीय सदस्य समेत रहेका श्रीधर २०७४ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सूचना प्रविधि विभागको सदस्य सचिवको पदमा कार्यरत छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १५:४६