सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा उपनिर्वाचन : ठूला दलको कडा प्रतिस्पर्धा, जीत निकाल्ने दाउमा राप्रपा

बाँके । कोहलपुर नगरपालिका–६, वडामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले सरगर्मी छाएको छ । यतिबेला सवै दलहरुले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटीहरु निर्माण गरेर चुनावी गतिविधिहरुलाई तीव्र बनाएका छन् । दिनहुँजसो राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रमहरु भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले सबै रणनीति तय गरिरहेका छन् ।

वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा मुख्य तीन दलले उम्मेदवार टुङ्गो लगाएसँगै चुनावी सरगर्मी बढेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि कोहलपुर वडा नम्बर–६, उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउनै हम्मेहम्मे पर्नेछ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा छ । तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ ।

यस्तो छ मतदाताको गणितीय जोड घटाउ

गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारु जम्मा ४२४ मत प्राप्त गरी विजयी भएका थिए । २०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालिन नेकपा एमालेका उम्मेद्वार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए ।

पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दावी छ । अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मतमा समेटिएका थिए । ‘पार्टी एकीकरणपछि हाम्रो मत करिब २०० को अन्तरले बढेको छ, नयाँ मतदाताहरु पनि धेरै नेकपाकै हुनुहुन्छ,’ कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारी बताउँछिन् ।

नेपाली काँग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि काँग्रेसको जीत सुनिश्चित रहेको बताउँछन् । उनले भने, ‘तत्कालिन मधेसी जनअधिकार फोरमका उम्मेद्वार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।’ तत्कालिन नेकपा एमालेबाट उम्मेद्वार बनेका श्रीराम थारुका भाई कृष्ण थारु अहिले काँग्रेस पार्टीबाट उम्मेद्वार बनेका छन् ।

तत्कालिन मधेसी जनअधिकार फोरमबाट मेयरको उम्मेद्वार बनेका फुलाराम थारुले गत निर्वाचनमा वडा नम्बर–६, बाट ११४ मत प्राप्त गरेका थिए । फुलाराम र रामसोहनले ल्याएको कुल ५३८ मत छ । यो तथ्यांक अनुसार नेकपा र काँग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकोले काँग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ । सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् ।

प्रमूख तीन ठूला दलले उम्मेद्वार सिफारिश गरेसँगै कोहलपुर नगरपालिका वडा नं.–६, मा उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा एकमात्र उपनिर्वाचन हुने भएपछि सर्वत्र चासो बढेको छ । नेकपाबाट रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेद्वार सिफारिश गरिएको छ । यही गणितीय जोड घटाउकै बीचबाट दाउ मार्न राप्रपाबाट युवा नेता श्रीधर सुवेदीले वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

वडाबासीबीच निकै लोकप्रिय बनेका सुवेदीले त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । पत्रकारिता हुँदै राजनीतिमा होमिएका श्रीधर हरेक कोणबाट वडाध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको दावी गर्छन् । विशेषगरी वडाका युवामाझ लोकप्रिय सुवेदीको उम्मेदवारीसँगै यतिवेला नेकपा र काँग्रेसको टाउको दुखाई भएको छ । नयाँ जोसजाँगर र वडाको समृद्धिका लागि वडाध्यक्षका दाबेदार श्रीधर यतिवेला घरदैलोमा व्यस्त छन् । उनी आफूलाई कोहलपुर वडा नं. ६ को चौकीदार रहेको बताउँछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १४:५७