सूचनाको शक्ति - The Power Of Information

        

तरुण दलका नेपालगन्ज नगर सभापति शाह हिरासतमै, पुनः सात दिन म्याद थप

बाँके । हतियारसहित पक्राउ परेका काँग्रेस निकट संगठन तरूण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहबिरूद्ध पुनः सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ । नेपालगन्जको नमस्ते रिर्सोटबाट कार्तिक १४ गते बिहीबार अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाहबिरूद्ध कोहलपुर प्रहरीले हातहतियार तथा खरखजाना ऐनअनुसार अदालतमा मुद्दा दायर गरिसकेको कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।

उनकाअनुसार पहिलोपटक सात दिन म्याद थप गरेर कार्तिक १६ गते शनिबारदेखि सभापति शाहसँग अनुसन्धान गरेकोमा दोस्रो पटक दुई दिन र तेस्रो पटक पुनः सात दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाए । उनले हतियार बरामद पनि रितपूर्वक गरिएको बताउँदै भने, ‘गाडीबाट हतियार बरामद भएका बेलाका फोटो, भिडियोजस्ता प्रमाण पनि प्रहरीसँग सुरक्षित छन् ।’

आपराधिक मानसिकता बोकेका नगर सभापति पक्राउ परेपछि बजारमा तरूण दलका कोषाध्यक्ष भनिने केशर खड्काले आफ्ना बिरूद्ध गरेको प्रचारबाजी निराधार भएको डिएसपी शाही बताउँछन् । उनकाअनुसार खड्कापनि कोहलपुर क्षेत्रमा विगत लामो समयदेखि आपराधिक गतिविधीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएकोले उनीमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।

कोहलपुरमा रहेको इलाका प्रहरी कार्यालयमा हेमबहादुर शाही डिएसपीका रूपमा आएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुद हुनुका साथै आपराधिक गतिविधीमा कमी आएको छ । आपराधिक गतिविधीमा सक्रिय भएका कोहलपुर क्षेत्रका मात्रै नभई नेपालगन्ज र आसपासका केही आपराधिक व्यक्तिलाई पक्राउ गर्दै कारवाहीका लागि कोहलपुर प्रहरीले खोरमा कोचेको छ ।

बाँकेको कोहलपुर प्रहरीले पछिल्लो समय आपराधिक गतिविधी न्यूनिकरणका लागि सक्रियता बढाएको छ । कतिपयका नाममा अदालतमा मुद्दासमेत दर्ता भइसकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी शाही बताउँछन् । राजनीतिक आडमा तरूण दलका सभापति र उनका केही आसेपासेले कोहलपुर क्षेत्रलाई आफनो कब्जामा लिन खोजेको भन्दै डिएसपी शाहीले यस्ता गतिविधी नियन्त्रणका लागि सक्रियता बढाएको बताएका छन् ।

यसैबीच काँग्रेस माथि भैरहेको ज्याद्तीको बिरोधमा तरुण दल केन्द्रीय समिति र बाँके जिल्ला समितिले सोमबारदेखि पुनः आन्दोलन गर्ने जनाएको छ । अबैध हतियारसहित पक्राउ परेका शाहको घटनाका विषयमा बाँके तरुणदलले सन्दीपलाई फसाएको भन्दै बिभिन्न बिरोध गर्दै आएको छ । शाह निर्दोश रहेको र प्रहरीले उनलाई फसाएको तरुणदलको दावी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार ०७:३९