सूचनाको शक्ति - The Power Of Information

        

बागी उम्मेद्वारी फिर्ता लिन हेलिकप्टर चढेर गएका शेरमान त्यसै फर्किए

तस्वीर : उजिर मगरको फेसबुकबाट ।

तस्वीर : उजिर मगरको फेसबुकबाट ।

पोखरा । बागलुङ क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा उपनिर्वाचनमा नेकपा र राजमोका संयुक्त उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दिएका शेरमान घर्ती आफ्नो उम्मेद्वारी फिर्ता लिन समयमै नपुग्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट फर्किएका छन् ।

नेकपा र राजमोका संयुक्त उम्मेद्वार खिमविक्रम शाहीविरुद्ध बागी उम्मेद्वारी दिएका घर्तीलाई नेकपाले उम्मेद्वारी फिर्ता लगाउन दबाब दिइरहे पनि अन्तिम समयमा मात्रै उम्मेद्वारी फिर्ता लिन राजी भएका थिए । उपनिर्वाचन कार्यक्रम तालिका अनुसार आइबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेद्वारी फिर्ता लिन सकिने आयोगले जनाएको थियो ।

उम्मेद्वारी फिर्ता गराउन नेकपाका स्थानीय नेताहरुले उनलाई हेलिकप्टरमार्फत सदरमुकाम ल्याएका थिए । उनी रहेको बुर्तिवाङबाट सदरमुकाम आइपुग्न बसबाट झन्डै तीन घन्टा लाग्ने हुँदा समय अभावका कारण हेलिकोप्टर प्रयोग गरिएको नेकपा बागलुङ जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । तर समयमै उम्मेद्वार कार्यालयमा उपस्थित हुन नसक्दा उम्मेद्वारी फिर्ता हुन नसकेको हो ।

तस्वीर : उजिर मगरको फेसबुकबाट ।

उम्मेदवारी फिर्ताका लागि दिइएको समय सकिएपछि घर्ती कार्यालयमा आएपनि उम्मेद्वारी फिर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर उनलाई सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्याइएको थियो । पार्टीले कार्यकर्ताको योगदानको कदर नगरेको भन्दै घर्तीले गत कात्तिक २१ गते मनोनयनपत्र दर्ता गराएका थिए ।

उनको प्रस्तावकमा नेकपाकै दधिराम अर्याल र रिमबहादुर विक समर्थक छन् । तत्कालिन बोबाङ गाविसका अध्यक्षसमेत भइसकेका घर्ती गत ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदको चुनाव लडेका थिए । उक्त क्षेत्रबाट ०७४ को प्रदेश सभामा निर्वाचित राजमोका सांसद टेकबहादुर घर्तीको हृदयघातका कारण गत मंसिरमा निधनपछि रिक्त भएको थियो । टेकबहादुर तत्कालीन वाम गठबन्धनबाटै विजयी भएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतवार १५:०९