सूचनाको शक्ति - The Power Of Information

        

खुकुलो पारियो नेपालगन्ज नाका

बाँके । अयोध्याको जग्गा विवादको फैसलाको कारणले ‘सील’ गरिएको नेपालगन्ज नाका खुकुलो पारिएको छ । खुल्ला भने गरिएको छैन । भारतीय सुरक्षाकर्मीले ‘अत्यावश्यक’ कामका लागि जान थालेका व्यक्तिलाई भारततर्फ जान दिएको छ । एम्बुलेन्सलाई जान छुट दिइरहेको भारतीय सुरक्षाकर्मीले आइतबार बिहानैदेखि विशेष कामका लागि भारत जान थालेकाहरुलाई छोडेको छ ।

कामका लागि भारत जान थालेका धेरै मानिसहरु नेपालगन्ज नाकामा अलपत्र गरेपछि भारतीय पक्षले उनीहरुलाई जान दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक काम नरोकिएको बताए । ‘नाका सुचारु गर्ने विषयमा कुरा भइसकेको छैन । उनीहरुले जरुरी कामका लागि जान थालेका व्यक्तिलाई जान दिएका छन्,’ प्रजिअ खड्काले भने, ‘अत्यावश्यक कामले जान थालेकाहरु जान पाएका छन् ।’

दसैँ र तिहार मनाएपछि मौसमी कामका लागि भारतका विभिन्न शहरमा जान थालेका पहाडी जिल्लाका नेपालीहरु नाका सील हुँदा नेपालगन्जमा अलपत्र परेका थिए । अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन दिने र बाबरी मस्जिदलाई अर्को ठाउँमा जग्गा दिने भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिन सक्ने आकलन गर्दै नेपालगन्ज नाका सील गरिएको थियो ।

शनिबार बिहानैदेखि सील गरिएको नेपालगन्ज नाका आज बिहानदेखि खुकुलो पारिएको छ । भारतीय पक्षले रुपैडिहामा किनमेल गर्न जानेहरुलाई रोकेको छ । नेपालगन्ज लगायत यस क्षेत्रबाट दैनिक ठूलो संख्याका नेपालीहरु भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने गर्दछन् । नेपाली पक्षलाई बिना सूचना एक्कासी नाका बन्द गरिएपछि आइतबार केहीबेर जिल्लामा खैलाबैला मच्चिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतवार ११:३८