राप्ती किनारको गाउँ, फत्तेपुर । जहाँ मगर, थारु र अन्य जातिको बसोबास छ । बर्षायाममा बाढीको पीडा, विकासमा पछाडी परेको गाउँ । २०३८ साल भदौं १६ गते फत्तेपुरकै सिधनवा गाउँमा जन्मिए जनकबहादुर थारुले स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । फत्तेपुरका सक्रिय समाजसेवीका रुपमा परिचित जनक २०६४ सालमा तत्कालिन नेकपा माओवादी केन्द्रको सदस्यता लिएर राजनीतिमा होमिए । राजनीतिमा सक्रिय भएसँगै साविक फत्तेपुर गाविसमा पार्टी सचिवको जिम्मेवारी पाएपछि संगठन विस्तारलाई अघि बढाए ।
२०६९ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सहसचिव हुँदै २०७१ मा जिल्ला सचिव रहेर काम गरे । सोही समयमा उनी तत्कालिन नेकपा माओवादी केन्द्रको बाँके जिल्ला सदस्य भएर राजनीतिमा थप निखारिँदै गए । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि पनि उनी जिल्ला कमिटीको सदस्य भएर काम गरिरहेका छन् । उनी २०६७ सालदेखि हालसम्म सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा नेतृत्व गरिरहेका छन् ।
जनसिद्धेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समितिको सदस्यसमेत रहेका जनकले राजनीति समाज सेवा हो भन्ने कुरालाई मनन् गर्दै सामाजिक कामहरुलाई प्राथमिकतामा राखेर वडाबासी सँगसँगै अघिपछि लागे । गाउँका लागि उनी ‘जीउँदोको जन्ती मर्दाको मलामी’ बनेर आफ्ना राजनीतिक तथा सामाजिक कर्महरुलाई अघि बढाइरहे । असल, इमानदार र कर्मठ युवाको रुपमा चिनिएका जनकले १७ बर्षसम्म विभिन्न सामाजिक संघसंस्थामा काम गरे । विभिन्न गैरसरकारी संस्थामा ७ बर्ष जागिरे जीवन विताएका उनले १० बर्षसम्म नेपालगन्ज उद्योग वाणिज्य संघमा कर्मचारीकै रुपमा विताए ।
उद्योग वाणिज्य संघको पहिलो उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान पाएका उनको जीवनको बाटोलाई स्थानीय तहको निर्वाचनले बदलिदियो । स्थानीय तहको निर्वाचनमा राप्तीसोनारी गाउँपालिका–६ बाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेसँगै आफ्ना प्रतिद्वन्द्वीलाई ३८१ मतान्तरले पछाडी पारेर विजयी भए । उनले कुल ११८४ मत ल्याए । निर्वाचन जितेसँगै उनको सामाजिक प्रतिष्ठा थप बढ्यो । सामाजिक तथा राजनीति सेवाले थप निखारता पायो । त्यसो त गाउँमा स्थानीय तहको निर्वाचनअघि विकासे गतिविधि शुन्यजस्तै थिए । स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा विकासका ढोकाहरु खुले ।
‘नागरिकहरुको बुझाई र चेतनास्तरको कमीले केही समस्या आउने गरेको भए पनि हामी समन्वय गरेरै अघि बढेका छौं । विकास निर्माण वा अन्य सामाजिक कामहरु विवादरहित बनाउन हामी लागिपरेका छौं ।’
वडाध्यक्षमा विजयी भएसँगै उनले विकास निर्माणलाई तीव्रता दिए । कच्ची बाटोघाटो, पुल पुलेसा, भवन लगायतका योजनाहरु सञ्चालन भए । थप आयोजनाहरु तीव्ररुपमा अघि बढिरहेका छन् । जनकको काम गर्ने शैली र विकासको रफ्तारले वडाबासीहरु दंग छन् । जादुको छडीजस्तै एकाएक गाउँहरु फेरिएका छन् । टोलटोलमा विकास पुगेको छ । कच्ची सडकहरु ग्राभेल गरिएका छन्, ग्राभेल सडकहरु कालोपत्रे गरिएका छन् । शिक्षा स्वास्थ्य, खानेपानी लगायत सबै क्षेत्रले अनुहार परिवर्तन गरिरहेका छन् ।
आफ्नो कार्यकालमा जनताले गरेको अपेक्षाभन्दा धेरै कामहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई सोहीअनुसार क्रियाशिल बनाइरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, वातावरण लगायतका धेरै क्षेत्रलाई व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु निर्माण, मर्मत र स्तरोन्नतिका कामहरु भइरहेका छन् । नागरिकले पाउनुपर्ने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आफै लागिपरेका छन् । अझ धेरै काम बाँकी छन् । सिमित स्रोत साधन र जनशक्ति अभावमै पनि सेवा प्रवाहलाई प्रभावकारी बनाइरहेका छन् ।
वडापालिकाले गत दुई आर्थिक बर्षमा करिब ६९ करोड २५ लाख रुपैयाँ बजेट खर्च गरिसकेको छ । तटबन्ध, कच्ची सडक स्तरोन्नती, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमाधेरै रकम खर्च गरिएको छ । वडापालिकाले सञ्चालन गरेका मुख्य आयोजनाहरुमध्ये सबैभन्दा धेरै सडक स्तरोन्नती, विद्युतीकरण, तटबन्ध निर्माण तथा नहर मर्मतमा खर्च गरिएको छ । जसमा ३६ करोड ३० लाख रकम खर्च भएको छ । त्यस्तै सभागृह निर्माणका लागि ७० लाख, बहुजातिय संग्रहालय निर्माणमा १२ लाख, विद्यालय भवन निर्माणमा ५० लाख रुपैयाँ खर्च भएको छ ।
वडापालिकाले चालु आर्थिक बर्षमा एक करोड ६५ लाख ३० हजार रुपैयाँ बजेट विभियोजन भएर विकासका कामहरु अघि बढिसकेका छन् । यस आवमा पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । सीमित स्रोत साधन र जनताका अपेक्षा उच्च हुँदा पनि सन्तुलित रुपमै अघि बढेको बताउँछन्, वडाध्यक्ष जनकबहादुर थारु । ‘नागरिकहरुको बुझाई र चेतनास्तरको कमीले केही समस्या आउने गरेको भए पनि हामी समन्वय गरेरै अघि बढेका छौं । विकास निर्माण वा अन्य सामाजिक कामहरु विवादरहित बनाउन हामी लागिपरेका छौं,’ वडाध्यक्ष थारुले भने ।
वडाध्यक्षमा युवा जोश जाँगर, इमान्दारिता र पारदर्शिता भएकै कारण विकासका कामहरुले गति लिइरहेका छन् । वडापालिकालाई जिल्लाकै नमूना बनाउने अभियानमा रहेका वडाध्यक्ष थारुले घरबासदेखि खेतियोग्य जमिन सबैतिर फराकिलो सडक, गाउँभित्रका सडक पनि व्यवस्थित गरेर फत्तेपुरलाई शहरोन्मूख गराउने अभियानमा रहेको बताए । उनी भन्छन्, ‘मेरो व्यक्तिगत जीवन नै छैन जस्तो लाग्छ । मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन सार्वजनीक बनिसक्यो । जनताका कर्महरुसँग मेरो जीवन जोडिएको छ । वडाको विकासका लागि, आफूलाई समर्पित गरेको छु । बिहान उठेदेखि साँझसम्म वडाकै काममा हुन्छु ।’
वडाको विकासलाई उच्च प्राथमिकतामा राखेर वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु अहोरात्र खटिइरहेका छन् । वडालाई नमुना बनाउने प्रतिवद्धता अनुसार पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् । वडाका सबै सडक पक्की, सबै टोलमा विजुली, सबै टोल साक्षर लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर वडाध्यक्ष थारुले आफ्नो दैनिकीलाई अघि बढाइरहेका छन् । उनलाई वडाबासीका काममा एकछिन फुर्सद छैन । हुन पनि उनी दिनभर वडाबाट आम नागरिकले पाउनुपर्ने सेवा प्रवाहलाई चुस्त बनाउन हरदम खटिइरहन्छन् । उनी निर्वाचित भएदेखि नै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउनुका साथै पूर्वाधार व्यवस्थापनमा लागिपरेका छन् ।
‘चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाह मेरो पहिलो सर्त हो । वडाको विकास र समृद्धिका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार मातहत रहेर काम गरिरहेको छु ।’
उनी भन्छन्, ‘चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाह मेरो पहिलो सर्त हो । वडाको विकास र समृद्धिका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार मातहत रहेर काम गरिरहेको छु ।’ जनताका आकांक्षा, मुद्दा र मागलाई समेट्दै वडालाई कसरी नमूना बनाउन सकिन्छ भन्ने ध्याउन्नमा उनी निरन्तर लागिपरेका छन् । वडालाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन प्रतिबद्ध रहेका वडाध्यक्ष थारु भन्छन्, ‘वडाको विकास र सेवा प्रवाहले गति लिइसकेको छ । आगामी निर्वाचनसम्म विकास र समृद्धिमा वडाले धेरै फड्को मारिसक्छ ।’ स्थानीय तहको निर्वाचनपछिको प्राथमिकता भनेकै बाटो बनाउने, भएका बाटाको स्तरोन्नति गर्ने थियो । आफ्नै वडाको बजेट र नगरको सहयोगमा अत्यावश्यक बाटाहरुको स्तरोन्नति भएका छन् ।
बजेटको आकार हेरी सम्भव भएसम्म धेरै कामहरु भएका र बाँकी कामहरुलाई पनि क्रमशः योजनामा समावेश गरेर सम्पन्न गर्दै लैजाने गरिरहेको बताउँदै वडाध्यक्ष थारु भन्छन्, ‘भौतिक पूर्वाधारको विकास गरी आगामी निर्वाचनसम्म वडालाई सुविधा सम्पन्न बनाइसक्ने हाम्रो लक्ष्य हो ।’ वडालाई वातावरणमैत्री, बालमैत्री, उज्यालो वडा बनाउनुका साथै वडाभित्र रहेका युवालाई आयआर्जनतर्फ उन्मुख गराउने, गरिब, विपन्न, दलित, मधेसी, मुस्लिम समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका योजनाहरु छन् । सडकमा धेरै बजेट लगानी भइरहेको छ । अन्य धेरै योजना पनि प्राथमिकतामा परेका छन् ।
उनी भन्छन्, ‘चाहेर मात्रै पूरा हुँदैन । हरेक चिजको सीमा हुन्छ । हामी पनि केही सीमाभित्र रहेर योजना छनोट गर्नुपर्दछ । योजना छनोट गर्दा योजनाको आवश्यकता, समुदायमा त्यसको माग किन छ ? कतिको आवश्यकता छ ? यो विषयमा पहिले निक्र्याेल गरिन्छ । पूर्वाधार विकासका सन्दर्भमा पनि जहाँ जनघनत्व बढी छ, त्यहाँ पूर्वाधारहरुको माग र आवश्यकता धेरै हुन्छ भन्ने हामीले बुझेका छाँै । त्यसैले त्यस्ता स्थानमा पहिलो प्राथमिकता दिने गरेका छौं ।’ गाउँपालिकाभित्र विकासप्रेमी, निडर र सहयोगी वडाध्यक्षका रुपमा चिनिने थारुले निर्वाचित भएपछि विकास निर्माणलाई प्राथमिकतामा राखे । उनी भन्छन्, ‘मेरो नजरमा सबैभन्दा ठूलो काम विकास निर्माण हो । त्यसैले पनि वडाभित्र विकास निर्माणका कामहरु धेरै भएका छन् ।’
छोटो समयमै वडाध्यक्ष थारु वडाबासीमाझ सकारात्मक छाप बसाल्न सफल भए । उनलाई आफु वडाध्यक्ष भएकोमा कहिल्यै घमण्ड भएन । उनी भन्छन्, ‘म नेता होइन, जनताको प्रतिनिधि हुँ, जनताका काम गर्न छानिएको एउटा पात्र मात्रै हुँ । म आफूलाई नेताभन्दा जनताको सेवक हुँ भन्ने लाग्छ । मैले अहिलेसम्म गरेका कामहरु बहुसंख्यक वडाबासीको सुझाव अनुसार भएका छन् । मैले हरेक काममा वडाबासीको सल्लाह र सुझाव लिने गरेको छ ।’ राजनीतिक आस्थाका आधारमा नभई आमनागरिकका आवश्यकताका आधारमा काम गरिरहेकाले सबैको सहयोग पाएको उनको भनाई छ । जनताको विश्वास र मतको सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने वडाध्यक्ष थारुको भनाई छ ।
जनकबहादुर थारु, वडाध्यक्ष, राप्तीसोनारी-६, बाँके ।