काठमाडौं । तिहार र छठ गयो । जाडोको याम पनि शुरु भयो । जाडो अर्थात् चिसो सिरेठोको मौसम । जाडो अर्थात सुख्खायाम । यो याममा हातखुट्टा र अनुहारको छाला फुट्छ । छाला फुट्नबाट जोगिन म्वाइस्चराइजर लगाइन्छ । भ्यासलिन, कोल्ड क्रिमको जुगाड गरिसक्नुभयो हैन त ? तर जाडो त्यतिमात्र कहाँ हो र ?
जाडो त रोग पनि हो । होस् गर्नुहोस् है, यो त फ्लुको मौसम पनि हो । अनेकन् प्रकारका फ्लुका जिवाणुहरु यही बेला हावामा सक्रिय भइरहेका हुन्छन् । यी जिवाणुले खासगरी केटाकेटीलाई र वृद्धहरुलाई सताउँछन् । नाक बग्न थाल्यो, रुघा लाग्ने र खोकी लाग्न थाल्यो भने बुझ्नु भए हुन्छ चिसोमा सक्रिय हुने जिवाणुले सताए । तर सधैं उठ्ने प्रश्न हो, यसरी सताउन आइपुग्ने जिवाणु के हुन् ? ब्याक्टेरिया कि भाइरस ?
कहिलेकाहीं भाइरस वा ब्याक्टेरियाको संक्रमणका लक्षण उस्तै हुन्छन् । त्यसैले तिनले बारम्बार झुक्काइरहन्छन् । तर यी दुवैको उपचार गर्ने पद्दति भने फरक हुन्छ भन्छन् बालरोग विशेषज्ञ डा.फ््रयांक एस्पर । उनका अनुसार जाडो बेलामा सताउन आइपुग्ने जिवाणु बढीजसो त भाइरस नै हुन्छन् । भाइरल संक्रमणलाई औषधीले निको पार्दैन । यसले आफ्नो चरण पार गरेपछि छोडेर जान्छ । यत्ति हो, त्यसलाई थेग्ने रोग प्रतिरोधात्मक क्षमता भने बलियो हुनैपर्छ ।
‘धेरैजस्तो अवस्थामा त भाइरसहरु आफै जान्छन्, हाम्रो प्रतिरक्षात्मक प्रणाली नै उनीहरुलाई निकाल्न सक्षम हुन्छ,’ भन्छन् डा. एस्पर । तर रुघाखोकीको ज्वरो सामान्यतः भन्दा बढी छ भने सतर्क हुन जरुरी हुन्छ । त्यतिबेला भाइरल संक्रमण नभई ब्याक्टेरियाको हुनसक्छ । ‘ब्याक्टेरियाको संक्रमण छ भने एन्टिबायोटिकहरु प्रयोग गर्नुपर्ने हुन्छ किनकि यसको असर बढी नै हुनसक्छ,’ डा. एस्पर भन्छन् ।
तर एन्टिबायोटिकको प्रयोग कम खतरनाक भने छैन । हुन त अचेल यो फेसन जस्तो भएको छ । सामान्य रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ । यसरी एन्टिबायोटिकको अनावश्यक प्रयोग अनुपयोगी मात्र होइन, हानीकारक पनि हुन्छ भन्छन् डा.एस्पर । एन्टिबायोटिकको अनावश्यक प्रयोगले ब्याक्टेरियालाई झन् बलियो बनाउँछ । उनीहरुमा पनि ती औषधीलाई प्रतिरोध गर्ने क्षमता बढ्न थाल्छ । फलस्वरुप, एन्टिबायोटिकहरु कम प्रभावकारी वा अप्रभावकारी हुनपुग्छन् ।
त्यतिमात्र होइन, हामीले प्रयोग गरिरहेका एन्टिबायोटिकहरुले हामीलाई चाहिने ब्याक्टेरिया पनि नास गरिरहेका हुन्छन् । डा. एस्पर भन्छन्, ‘एन्टिबायोटिकको उच्च प्रयोगले खासगरी आन्द्रामा हुने ‘राम्रा’ ब्याक्टेरिया मारिदिन्छन् जसले पेट र आमाशयमा गडबडी निम्त्याउँछ । तपाईंको आन्द्रा ब्याक्टेरियाले भरिएको छ तर एन्टिबायोटिकले शत्रु र मित्र छुट्याउँदैन । चिसोमा प्रयोग गरिने एन्टिबायोटिकले खासगरी पिनासजन्य संक्रमण गराउने ब्याक्टेरिया मारिदिन्छ तर यसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने ब्याक्टेरिया मारिदिन्छ ।’
त्यसैले चिसो लाग्नसाथ एन्टिबायोटिकको प्रयोग उचित होइन । तर भाइरसको हो वा ब्याक्टेरियाको संक्रमण भन्ने पत्ता लगाउन जरुरी हुन्छ । त्यसैले चिसो लाग्दा हेलचेक््रयाँई नगरी डाक्टरको जानुपर्छ । शिशुहरुमा त थप सतर्कता जरुरी हन्छ । डा. एस्पर भन्छन्, ‘यदि दुई महिनाभन्दा कमउमेरको शिशुलाई १०० दशमलव ४ फरेनहाइट डिग्रीभन्दा बढी ज्वरो छ भने डाक्टरकोमा लैजान ढिलो गर्नुहुँदैन ।’
#हेल्थइसेन्सियल्सबाट अनुवाद
सत्यपाटी ।