सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढ्दै, स्थानीय त्रसित

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेकोछ । बाघ आक्रमण बढेसँगै निकुञ्ज आसपास क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । निकुञ्ज क्षेत्रका बासिन्दामाथि बाघले पटकपटक आक्रमण गर्दा सो क्षेत्रका बासिन्दाको धनजान जोखिममा परेको छ ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसगैं निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुदैं मानव वस्तीतर्फ बाघ पस्न थालेका छन् ।

निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रबेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ ।

तर, निकुञ्ज र सम्बन्धित निकायसंग मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ नियन्त्रणका लागि व्यवस्थापन गर्न सकिरहेको छैन । निकुञ्ज र सरोकारवाला निकुञ्जका बाघ मात्र नभई अन्य वन्यजन्तुलाई समेत नियन्त्रण तथा उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन् । अधिकांसले अनाहकमा ज्यान गुमाइरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणमा मंगलबार एकजना माउतेको मृत्य भएको छ । निकुञ्जभित्र गैँडा मचान नजिक पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु भयो ।

२२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत बर्दिया ठाकुरबाबा नगरपालिका–७, मोहनपुरका ४५ वर्षिय निकुञ्जका माहुते मंगरे थारुको मृत्य भयो । हात्तीका लागि घाँस काट्ने क्रममा पाटेबाघले थारुलाई झम्टेको निकुञ्जले जनाएको छ । बाँके र बर्दियामा पछिल्लो समयमा पाटेबाघको आक्रमण बढेको हो ।

२०७६ भदौ ५ गते बिहीबार बर्दिया जिल्ला गेरुवा गाउँपालिका–४ मा पाटेबाघले आक्रमण गर्दा सोही स्थानका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उनी घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले उनीमाथि आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको थियो । आपसमा जोडिएका बाँके र बर्दिया निकुञ्जको सीमावर्ती क्षेत्रका स्थानीयहरु त्रसित बनेका छन् ।

यो घटना सेलाउन नपाउँदै बर्दियाकै ठाकुरबाबा नगरपालिका–१ भुरीगाँउ खानेपानी ट्याकीं नजिक २०७६ भदौ ८ गते आइतबार विहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीय ७० वर्षीय पहरिया थारुको मृत्यु भयो । बुंगुरलाई दाना दिन हिँडेका पहरिया थारुलाई बाघले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

त्यस्तै गत माघ २१ गते बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । सोही घटनामा बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाइते भएका थिए । बाघको आक्रमणको घटनाबाट बाँके पनि अछुतो रहेन ।

बाँकेको खजुरा गाँउपालिका–३, धौलागिरीमा २०७६ जेठ ३ गते सोमबार साँझ तीन जनालाई पाटेबाघले आक्रमण गरेर घाइते बनायो । घाइतेमध्ये ५० वर्षीय दीपबहादुर श्रीष गम्भीर घाइते भएपछि उनी नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारपछि निको भएर घर फर्किएका थिए ।

बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालय बर्दियाले सवैलाई सजग र सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गरि हटाउने कार्य गरिरहेको छ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेका घटना एकपछि अर्को गर्दै दोहोरिन थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरकिो भनाई छ ।

ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारुले भने, ‘बाघ र अन्य वन्यजन्तुहरु निकुञ्जबाट मानव वस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौति थपिएको छ ।’ मानव वस्तीमा बाघ तथा वन्यजन्तु प्रवेश गरेर धनजनको नोक्सानी गरिरहँदासमेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको उनको भनाई छ ।

‘मानव वस्तीमै पुगेर वन्जयजन्तुले आक्रमण गर्दा सोबाट बच्न प्रतिकार गर्दा निकुञ्जले कानून लगाउँछ, पक्रिन्छ, प्रतिकार नगरौं हाम्रो ज्यान जोखिममा छ,’ उनले आफ्नो पीडा सुनाउँदै भने । नेपालको कानूनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले रु.१० लाख उपलब्ध गराउने गरेको छ ।

सरकारी तथ्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ वटा र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको संख्या बढे पनि आहाराको कमीले मानव वस्तीमा पुगेर वन्यजन्तुले आक्रमणको आक्रमण न्यूनीकरणका लागि सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १४:४६