काठमाडौं । संसद् सचिवालयमा काम गर्ने कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबारको रात सदरखोर डिल्लीबजारमा बिताए । सदरखोरभित्रको ‘भीआइपी ब्लक’ बनेको ‘क सेल’मा उनी पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसँगै छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेले पछि ठहरे बमोजिम हुने गरी महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाए । महरा कालो ज्याकेट र सेतो सर्टमा तालु मुसार्दै सरकारी पाहुना हुन डिल्लीबजार कारागार पुगे । रोल्पामा भएको शैक्षिक आन्दोलनमा पटकपटक थुनामा परेका महराले यसअघि कहिल्यै जेल बस्नुपरेको थिएन ।
१० वर्षे सशस्त्र द्वन्द्वमा पनि महरा कहिल्यै पक्राउ परेनन् । दाङको हापुरे र बर्दियाको ठाकुरद्वारामा भएका वार्तामा उनी माओवादी वार्ता टोलीका संयोजक थिए । पटकपटक वार्ता टोलीमा रहेका उनी माओवादीको सार्वजनिक अनुहार थिए । त्यसअघि लामो समय शैक्षिक आन्दोलनमा बिताएका महरा पार्टीका अधिकांश कार्यकर्ताका लागि ‘सर’ थिए ।
जसले उनीहरुलाई औपचारिक शिक्षासँगै राजनीतिक चेतना पनि दिए । ती मध्येकै एक थिइन्, रोशनी शाही । महराकै घरमा चारवर्ष बसेकी रोशनीले बलात्कार प्रयासको अभियोग लगाएपछि महराको ‘भद्र’ नेताको छवि चकनाचुर बनेको छ । यो यथार्थलाई अझै पनि उनका कतिपय पुराना सहयात्रीले स्वीकार्न सकेका छैनन् ।
२०४४ देखि निरन्तर महरानिकट रहेका पुराना पत्रकार नरेन्द्रजंग पिटर (दुलाल) महराविरुद्व विषकन्याको प्रयोग गर्ने इतिहास दोहोरिएको टिप्पणी गर्छन् । सरकार र विद्रोहीबीच भएका दुवै चरणका वार्तामा महरासँगै थिए पिटर । महरा अन्तर्मुखी स्वभावको भएकाले तीनदशक लामो संगतमा पनि कहिल्यै उनीसँग बसेर मदिरा पिउने अवसर नजुरेको पिटरको भनाइ छ ।
‘उहाँसँग कहिल्यै मदिरा पिइएन र रसिक कुराकानी पनि भएन,’ पिटरले भने ‘उहाँको स्वभाव नै त्यस्तो थिएन ।’ रोशनीले महराविरुद्ध लगाएको आरोप थियो, श्रीमान् नभएका बेला महरा मेरो डेरामा आए । मदिरा बोकेर आएका महराले मलाई बलात्कार प्रयास गरे । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार महरा करिब सात बजे सुविधानगरस्थित रोशनीको डेरामा पुगे ।
रोशनीले आठ बजेर ४५ मिनेटमा प्रहरी कन्ट्रोलमा टिपाइन्, मलाई सभामुख महराले जबर्जस्ती गर्न खोजे, कुटपिट गरे । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोली नौ बजेर १० मिनेटमा घटनास्थल पुग्यो । डिएसपी रेग्मीले घटनास्थलको भिडियो बनाए । अनि रोशनीलाई स्वास्थ्य परीक्षणका लागि आफूसँगै हिँड्न अनुरोध गरे । रोशनी जान मानिनन् ।
उनले श्रीमान बाहिर भएकाले फर्केपछि सल्लाह गरेर जान्छु भनिन् । प्रहरी टोली फर्कियो । यो २०७६ असोज १२ को रातिको घटना थियो । रोशनीले प्रहरी फर्किएपछि साढे ११ बजे नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई फोन गरेर हारगुहार मागिन् । उनले उमासँग पनि प्रहरीलाई दिएकै विवरण टिपाइन् । डिएसपी रेग्मी अर्को दिन (२०७६ असोज १३) बिहान घटनास्थल पुगेर रीतपूर्वक मुचुल्का लिए ।
मुचुल्कामा आधा सकिएको रक्सीको बोतल, आधा भएको रक्सीको गिलास, काँक्रो–मुला र बदामलाई दसी प्रमाण बनाइयो । यस्तै एकथान भाँच्चिएको चश्मा र जुत्ताको तलुवासमेत प्रहरीले घटनास्थलबाट बरामद गर्यो । घटनाको दिन महराको सुरक्षार्थ खटिएका जमदार काजीराम रानामगरले रोशनीको घरमा गएको र डेढ घण्टा त्यहाँ बसेर फर्किएको बयान सरकारी वकिलको रोहबरमा गरेका छन् ।
उनीसँगै प्रहरी हवल्दार विष्णुबहादुर थापा र चालक सशस्त्र प्रहरी हवल्दार श्यामहरि आचार्य साढे ६ बजे निस्किएको र घटना भएको घरबाहिर बसेर फर्किएको बयान लिखत गरेका छन् । तर, महराले बयानमा आफू रोशनीको घर बाहिरसम्म गएको तर भित्र नपसेको बयान दिएका छन् । आफूले मदिरा लिएर नगएको र नपिएको दाबी उनले सरकारी वकिल र अदालतसामु गरे । ‘विशेष समारोहमा रेड वाइन लिने गर्छु, चिकित्सकको सल्लाह अनुसार मैले ह्विस्की पिउन छाडेको १२ वर्ष भयो,’ उनको जिकिर छ ।
प्रहरीले अदालतमा रोशनीको डेराबाट बरामद भाँच्चिएको चश्माको पावर र महराको चश्माको पावर एउटै भएको कागज प्रमाणका रुपमा पेस गरेको छ । जुत्ताको तलुवाको आधिकारिकता भने प्रहरीले खुलाउन सकेन । महराले रोशनीको कोठमा नपसेको दाबी गरिरहँदा प्रहरीले भने उनी ८ बजेर ३२ मिनेट ४५ सेकेण्डमा सो स्थानबाट बाहिरिएको क्लोज सर्किट क्यामराको भिडियो अदालतमा पेस गरेको छ ।
उनी एक घण्टा २५ मिनेट त्यहाँ बसेको प्रहरीको भनाइ छ । त्यसबाहेक महराले रोशनीले ‘फर्गेट एस्टरडे, आइ एम सरी’ लेखेको एसएमएस समेत अदालतमा पेस गरेको थियो । प्रहरीले अदालतमा पेस गरेको रोशनीको स्वास्थ्य परीक्षण रिर्पोटमा उनीमाथि नीलाडाम हुनेगरी कुटपिट भएको उल्लेख छ । महराको मुद्दाको मिसिल कमजोर बनाइएको आरोप पनि लागेको छ ।
सरकारी वकिल कार्यालयले महरालाई करणी उद्योगमा पाँच र थप साढे दुई गरी साढे सात वर्ष सजाय मागदाबी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा लिएर गएको थियो । सरकारी वकिल कार्यालयले प्रहरीले जुटाएका प्रमाणको परीक्षण गर्न चाहेन । प्रहरीले पनि महराको पोलिग्राफ टेस्ट र अदालतको आदेश अनुसार डीएनए रिपोर्ट समेत जुटाउन सकेन । महराले बोक्ने मोबाइल उनकी श्रीमतीले आवेगमा फोडेको र हराएको उनकै बयान अदालतमा मिसिलका रुपमा पेस गरियो ।
अदालतको प्रक्रियाले महराको अपराधलाई आंशिकरुपमा ग्रहण गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनका लागि एक तहमाथिको उच्च र आवश्यक परेमा सर्वोच्च अदालतको ढोका त खुला छँदैछ । तर, अदालतले उन्मुक्ति नै दियो भने पनि महराका लागि उही पुरानै ‘एम सर’ बन्न असम्भवप्रायः छ ।
सत्यपाटी ।