सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरबाट नेपाली युवा बेपत्ता, भारतीय प्रहरीले अपहरण गरेको आशंका

बाँके । धान काट्न खेतमा गएका नरैनापुरका युवा असरफ अलि साई नौ दिनदेखि बेपत्ता भएका छन् । कात्तिक ७ गते दिउँसो धान काट्न आफ्नै धान बारीमा गएका बाँके नरैनापुर गाउँपालिका–३ बालापुरका २० बर्षिय साईलाई भारतीय प्रहरीले धान काटिरहेको अवस्थामा पक्राउ गरी लगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बालापुर गाउँको दक्षिण कोदीपूर्वामा रहेको धानखेतमा धान काटिरहेको अवस्थामा भारतीय प्रहरीको पोसाक लगाएका एक जनासहित आठ जनाको समुहमा भारतीय नम्बर प्लेटको गाडीमा आएको समुहले चारैतिरबाट घेरा हालेर भारततर्फ लगेको प्रत्यक्षदर्शीसमेत रहेका उनका दाई नूर मोहम्मदले जानकारी दिए ।

नूर मोहम्मदले भने, ‘भाइको अवस्थाका बारेमा हालसम्म कुनै जानकारी छैन । भाइको खोजीका लागि के गर्ने भन्ने थाहा नभएर नेपालगन्ज आइपुगेका छौं । भोली विहानै प्रहरी कार्यालयमा निवेदन दिन्छौं ।’ नूर मोहम्मदले साला नाता पर्ने मो.सकिलले भारतीय प्रहरीसँग मिलेमतो गरेर अपहरण गरेको आशंका रहेको बताए ।

भारतको श्रावस्ती जिल्ला गद्दीपुर घर भएका साला नाता पर्ने मो.सकिलले आफूसँग रु.३५ हजार सापटी लिएको र सो रकम माग्दा भाइलाई अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गरे । ‘मैले सकिलसँग सापटी दिएको रकम फिर्ता मागेको थिएँ, त्यो रकम नतिर्नकै लागि भाइलाई दुख दिएको हुनुपर्छ,’ नूर मोहम्मदले भने ।

घटनाका विषयमा प्रहरी अनविज्ञ रहेको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । ‘पीडितहरुले पनि हामीकहाँ अहिलेसम्म कुनै निवेदन वा उजुरी परेको छैन । घटना के हो भन्ने बारेमा हामी बुझ्छौं । यर्थात के हो भन्नेबारेमा बुझेर मात्रै भन्न सकिन्छ,’ प्रहरी उपरीक्षक वलीले भने ।

प्रहरी उपरीक्षक ओलीका अनुसार प्रहरीमा उजुरी नपरे पनि खोजतलासका लागि सम्बन्धीत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुलाई निर्देशन दिइसकिएको छ । नेपाल भारत सीमा क्षेत्रमा एक अर्काबीचको रिसिइबीका कारण अपहरण र फिरौतीका घटनाहरु हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार २०:३५