सूचनाको शक्ति - The Power Of Information

        

वाम गठबन्धनका सुत्रधार बामदेव अप्ठ्यारोमा, मतान्तरण घटाउँदै

बर्दिया । बर्दिया प्रतिनिधिसभा क्षेत्र १ बाट उम्मेदवारी दिएका वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम मत परिणाममा अप्ठ्यारोमा परेका छन् । तर पछिल्लो मतगणनाका क्रममा उनले मतान्तर घटाउँदै लगेका छन् । कांग्रेसका उम्मेदवारसमेत रहेका मन्त्री सञ्जय गौतम उनका लागि भारी परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेता वामदेव १८९३ मतले पछाडि छन् ।
बर्दियाको बराबर्दिया नगरपालिका वडा नम्बर ८ मा मतगणना हुने क्रम जारी छ । वडा नम्बर ९, १०, ११ मत गणना हुन बाँकी छ । चारै वटै वडा वाम गठबन्धनको पकड क्षेत्र मानिन्छ । स्थानीय तहको निर्वाचनमा बराबर्दिया नगरपालिकाको मेयरमा माओबादी केन्द्रले जितेको थियो । कांग्रेसले १ वटा वडामा कांग्रेसले जितेको थियो ।
गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले ३००० हजार मतले बामदेवलाई पछाडि पारेका थिए । बदैया ताल गाउँपालिकाबाट १५ सय मतले अगाडि रहेका वामदेव बाँसगढी नगरपालिकामा निकै कम मत पाएपछि उनी पछाडि परेको एमाले नेताहरुको भनाई छ । बराबर्दिया नगरपालिकामा उनले लिड गर्ने विश्वास वाम गठबन्धनले गरेको छ । तर दुई गौतमबीच जित हार झिनो मतले हुने अनुमान गरिएको छ । यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट ३ पटक जितेका र २ पटक हारेका वामदेवले २०७० को निर्वाचन पनि बर्दियाबाट जितेका थिए ।
तर प्युठानबाट समेत जितेका उनले बर्दिया १ छोडेपछि बर्दियाली जनताहरु आक्रोसित भएका थिए । वामदेवले बर्दियामा कुनै पनि विकासका काम नगरेको आरोप चुनावी प्रचारमा खेप्दै आएका थिए । उनले बबई सिँचाइ योजना र भेरि डाईभर्सन योजनालाई निर्वाचन प्रचारमा अगाडि सारेका थिए । तर उक्त विकास योजनाले भने बर्दियाका जनतालाई छोएन ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०८:०५