सूचनाको शक्ति - The Power Of Information

        

तरुण दलका नेतालाई कोहलपुरका डिएसपी शाहीको फोन, ‘भाइ…तिघ्रा छेडिदिन्छु’

पक्राउ परेका तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाह (बाँया), तरुण दलका बाँके कोषाध्यक्ष केशर खड्का (बीच) र डिएसपी हेमबहादुर शाही ।

पक्राउ परेका तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाह (बाँया), तरुण दलका बाँके कोषाध्यक्ष केशर खड्का (बीच) र डिएसपी हेमबहादुर शाही ।

बाँके । बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगन्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टमा प्रहरी टोली पस्यो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही नेतृत्वको प्रहरी टोलीले रिसोर्टमा रहेका सन्दीपजंग शाहसहित छ जनालाई पक्रियो । पक्राउ परेका शाह नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेपालगन्ज नगर सभापति हुन् ।

डिएसपी शाहीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले शाह र उनीसँगै रहेका पाँच जनालाई रिसोर्टबाट नियन्त्रणमा लिएको हो । ‘उनीहरुलाई समातेर चेकजाँच गर्ने क्रममा शाहको कारमा लुकाएको अवैधानिक पेस्तोल फेला पर्यो,’ शाहीले भने । रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कारमा चालकको बायाँतर्फको सिटमूनि लुकाइराखेको पेस्तोल दुई राउन्ड गोलीसहित फेला परेको डिएसपी शाहीले बताए ।

‘मेड इन युएस’ लेखिएको उक्त पेस्तोल नगर सभापति शाहकै भएको प्रहरीको भनाइ छ । ‘अवैधानिक पेस्तोल जसको गाडीमा भेटिएको हो, उसैको मानिन्छ, हामी थप अनुसन्धान गरिरहेका छौं,’ शाहीले भने, ‘पक्राउ परेकाहरुले विगतमा गरेका केही घटना छन् कि भनेर मिसिल पनि हेरिरहेका छौं ।’ पक्राउ पर्ने बाँकी पाँच जनामा दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भैरहेको डिएसपी शाहीले बताए । हिजो रातिको यो घटना डिएसपी शाहीले भनेजस्तै सरल भने छैन । नेपालगन्जमा ठेक्का व्यवसाय गर्ने तरुण दलका बाँके कोषाध्यक्षसमेत रहेका केशर खड्का, उनका बिजनेश पार्टनर सन्दीपजंग शाह र डिएसपी शाहीबीचको व्यक्तिगत सम्बन्ध र दुश्मनीमा जेलिएको छ, यो घटना ।

केही महिनाअघि सरुवा भएर कोहलपुर पुगेका डिएसपी शाही र खड्काबीच सुरुमा सम्बन्ध राम्रो मात्र होइन घनिष्ठ नै देखिन्छ । दुईले एक अर्कालाई दाइ–भाइ भनेर सम्बोधन गर्ने गरेको देखिन्छ । आपसी सहयोग देखिन्छ । दुई बीच सम्बन्ध यति घनिष्ठ देखिन्छ कि, मौलापूजाका दिन फोन गरेर शाहीले खड्कासँग प्रहरीका लागि खसी मागेका छन् । डिएसपी शाहीले खड्कासँग खसी मागेको अडिओ प्राप्त भएको छ ।

शाही र खड्काबीच भएको कुराकानी यस्तो छ ।

प्रहरी – हेलो ।
केसर – हेलो ।
प्रहरी – कहाँ छौं ?
केशर – अँ । भन न ।
प्रहरी – यसो गर न अब केही गर । दशैँ आयो…एउटा खसी देला भन्दै हुनुहुन्छ डिएसपी साबले ।
केशर – हजुर ?
प्रहरी – एउटा खसी के डिएसपीसाबले देला भन्दै हुनुहुन्छ के, फोन दिउँ ?
केशर – हँ ।
प्रहरी – ल डिएसपी साबसँग कुरा गर्नु ।
डिएसपी – के छ ब्रो, के छ ?
केशर – दाजु नमस्ते दाजु ।
डिएसपी – नमस्ते, नमस्ते के छ सञ्चै ।
केशर – ठीक छ । दाइलाई भेट्न आउन पाएको छैन व्यस्तव्यस्त भएर ।
डिएसपी – त्यै त त्यै त यार अरु सबै ठीकै छ, विजयादशमीको शुभकामना भाइलाई ।
केशर – सेम टु यु दाइ हजुरलाई नि ।
डिएसपी – ठीक छ यार ब्रो ठीक छ । के हो भेट नै भा छैन यार । अब भेट्न आउनुभन्दा अगाडि पनि के गर्नु यहाँचाहिँ दशैं मान्ने भन्दैछन् पुलिसहरुले । के गर्ने भाइ अब यस्तै त हो नि ?
केशर – हुन्छ दाइ भइहाल्छ ।
डिएसपी – भोलिचाहिँ ऊ हो के मातहत लगायतलाई बडाभोज लगाएजस्तै हो (पछाडि प्रहरीसँग कुरा गर्दैँ) ए आज हो आजै साँझ रैछ । के छ यार अब ब्रदर भाइहरुलाई भन्ने हो के रे हामीले ।
केशर – के गर्न पर्यो भन्नु न दाइ ।
डिएसपी – त्यै त अब एउटा खसी ठिक्क पारेर राखिदियो भनि आभार हुन्छम् है हामी ।
केशर – आज नै पठाइदिम कि भोलि पठाइदिम्, दाइ के हुन्छ ?
डिएसपी – आज आज कार्यक्रम छ यार साँझ ५÷६ बजेपछि, आजै काट्ने हो है ब्रदर ।
केशर – ए ल दाइ ल । हुन्छ दाइ हस् हस् ।
डिएसपी – ल ल ।

खसी दिन्छु भने पनि आफूले खसी नदिएपछि डिएसपी शाही रिसाएको खड्काले बताए । डिएसपी शाहीले खसीसँगै रक्सी र पैसा पनि माग्ने गरेको उनले दावी गरे । डिएसपी शाहीले असोज २६ गते आफूलाई इलाका प्रहरी कार्यालयमा बोलाएर थर्काएको खड्का दाबी छ । त्यसपछि उनीहरुबीचको के बिषयमा मनमुटाव भयो एकिन छैन, सम्बन्ध बिस्तारै बिग्रँदै गएको देखिन्छ । ‘दाजुभाइ’को सम्बन्ध केही समयमै दुश्मनीमा बदलिएको प्राप्त अर्को अडियो टेपले देखाउँछ । ‘खसी सम्वाद’को केही दिनपछि फोन गरेर डिएसपी शाहीले खड्कालाई आफ्नाविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै ठोकिदिने धम्की दिन्छन् ।

उनीहरुबीच भएको संवाद यस्तो छ ।

डिएसपी – हेलो ।
केशर – हेलो हेलो । हजुर दाइ नमस्कार ।
डिएसपी – कहाँ हुनुहुन्छ तपाईं ?
केशर – हजुर, पार्टी कार्यालय छु दाइ ।
डिएसपी – ए । कहाँ पार्टी कार्यालयमा हो तपाईं? ए मलाई भेट्न आउन सक्नुहुन्छ तपाईं ?
केशर – कहाँ दाइ ?
डिएसपी – मकहाँ आउन सक्नुहुन्छ ?
केशर – एक घन्टा जति लाग्ला दाइ ।
प्रहरी – के रे ?
केशर – एक घन्टा जति लाग्ला दाइ एक घन्टा ।
डिएसपी – अ…। गतिविधि नराम्रो गरिराछस् रे नि त भाइ तैंले त गतिविधि । गतिविधि त फुक्दै हिँडिराछस् रे भन्ने कुराचाहिँ आयो मलाई ।
केशर – के भो दाइ ?
प्रहरी – गतिविधि त फुक्दै हिँडिराछस् रे त मेरो बारेमा सुन्दैछु ।
केशर – कस्तो गतिविधि भन्नाले ?
डिएसपी – मेरो तँ सरुवा गर्नलाई राछस् रे त भाइ तैंले त हैन ?
केशर – हे हे दाइ, म गरिबको के हैसियत हुन्छ र ?
डिएसपी – अँ तैंले गरेर मेरो सरुवा हुने भो त ?
केशर – खै दाइ ?
प्रहरी – तँ फुक्दै हिँड तेरो तिघ्रा छेडिदिन्छु । त फुक्दै हिँड न यति हो के तसँग वार नै भयो । मेरो नजरमा परिस है भाइ । तेरो मेरो दुश्मनी केही छैन अब शुरुवात हुन्छ तेरो मेरो वार ।

सुन्नुस दुबै अडिओ ।

खड्का र डिएसपी शाहीको यो ‘वार’मा नगर सभापति शाह पनि जोडिएको देखिन्छ । खड्का र शाह बिजनेस पार्टनर हुन् । नेपालगन्जमा खड्काको अनमोल एन्ड के कन्स्ट्रक्सन कम्पनी छ भने शाहले जयमा बागेश्वर निर्माण सेवा चलाउँछन् । ‘डिएसपीले मलाई थर्काएपछि उहाँ पनि प्रहरी कार्यालय जानु भएको थियो,’ खड्काले भने, ‘मेरा पक्षमा कुरा गर्न गएकाले डिएसपी शाही सन्दीपलाई राम्रो मान्दैनथे । हिजो पनि रिसोर्टमा प्रहरी मलाई खोज्दै आएका थिए तर काम परेर म बाहिर निस्केकाले म पक्राउ परिनँ ।’

प्रहरीले बिहीबार राति शाहलगायतलाई पहिला नै हत्कडी लगाएर पछि गाडी खानतलासी गरेको खड्काको आरोप छ । ‘उनीहरुलाई छेउमा राखेर प्रहरी एक्लैले गाडी खोलेको छ,’ खड्काले भने । तरुण दलले विज्ञप्ति निकालेर प्रहरीले गाडीमा आफैं पेस्तोल राखेर खड्कालाई फसाउन खोजेको आरोप लगाएको छ । उसले पेस्तोलको ’फिगंर प्रिन्ट’ जाँच गर्न पनि माग गरेकोछ । तर शाहको बन्द गाडीभित्र प्रहरीले आफैंले पेस्तोल राख्न कसरी सम्भव हुन्छ ? हामीले यही प्रश्न खड्कालाई सोध्यौं ।

उनले त्यसको स्पष्ट जवाफ दिन सकेनन् । ‘त्यो त मलाई थाहा छैन,’ उनले भने । डिएसपी शाहीले पनि शाहको गाडी खानतलासी प्रहरीको व्यवसायीक काम भएको र त्यसमा कुनै व्यक्तिगत रिसइबी नरहेको जिकिर गरे । तपाईंले फोनमा खड्कासँग खसी मागेको र ‘अब वार हुन्छ’ भन्नु भएको छ । त्यो फोन तपाईंले गरेको हो कि होइन भन्ने प्रश्नमा उनले भने, ‘गुण्डा फटाहाभन्दा प्रहरीमाथि हुनुपर्छ भनेर काम गरिरहेको छु । मेरो विरोध गर्नेलाई त म राम्रो मान्दिनँ । प्राप्त अडिओमा तपाईंले भनेका कुराबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अडियोमा के भनेको छ त मैले नसुनी अहिले भन्न सक्तिनँ ।’

आफूले भनेको कुरा त आफूलाई थाहा हुन्छ नि भन्ने दोहोरो प्रश्नमा उनले पहिला अडिओ सुन्नुपर्ने जिकिर गरे । पहिला नै हत्कडी लगाएर प्रहरीले कार खानतलासी गरेको आरोप सरासर झुठो भएको शाहीको दाबी छ । ‘मैले आफ्नो कमाण्डरलाई रिपोर्ट गरेर पुरै पक्रिया पुर्याएर पेस्तोल बरामद गरेको छु । अहिले एउटा भिडिओ पनि आएको छ रे । त्यो हिजोको होइन,’ डिएसपी शाहीले भने, ‘तपाईंलाई मेरो कुरामा विश्वास लागेन भने एसपी, डिआइजीसाबहरुलाई सोध्नुस् । मैले प्रक्रिया पूरा गरेरै मान्छे समातेको हो ।’ नेपाल तरुण दल पनि बरामद पेस्तोल आफ्ना कार्यकर्ता शाहको नभएकोमा अडिग देखिएको छ ।

केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, प्रहरीद्वारा आफैंले लगेको हतियार तरुण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरुणहरुलाई दुस्ख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरुण नेताहरुलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दैछौं । डिएसपी शाहीले पनि उक्त पेस्तोलको फिंगर प्रिन्ट परीक्षण गर्न प्रहरी तयार रहेको बताएका छन् ।

 

 

 

 

 

 

#सेतोपाटी

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार १९:०१