सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन : कोहलपुरमा काँग्रेसको बिरासत भत्काउने दाउमा नेकपा

बाँके । प्रमूख तीन ठूला दलले उम्मेद्वार सिफारिश गरेसँगै कोहलपुर नगरपालिका वडा नं. ६ मा उपनिर्वाचनको माहौल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेद्वार सिफारिश गरिएको छ ।

कोहलपुर–६ मा दलहरुले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटीहरु निर्माण गरेर चुनावी गतिविधिहरुलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रमहरु भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले सबै रणनीति तय गरिरहेका छन् ।

उम्मेद्वार सिफारिश भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउनै हम्मेहम्मे पर्नेछ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलहरुबीच कडा प्रतिश्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

२०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालिन नेकपा एमालेका उम्मेद्वार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दावी छ ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर वली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत ल्याउनुभएको थियो । ‘पार्टी एकीकरणपछि हाम्रो मत करिब २०० को अन्तरले बढेको छ, नयाँ मतदाताहरु पनि धेरै नेकपाकै हुनुहुन्छ,’ कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भनिन् ।

वडा नं.६ मा थारु र मधेसी बाहुल्य गाउँहरुमा सैद्धान्तिक मत कम रहेकाले मतदातालाई आफ्नो पक्षमा पार्ने चुनौति रहेको नगर अध्यक्ष अधिकारीको भनाई छ । उनले भनिन्, ‘थारु र मधेसी बाहुल्य गाउँहरुमा सैद्धान्तिक र बैचारिक मत निकै कम छ । यो मत कसको पक्षमा कसरी जान्छ भन्ने थाहा नै हुँदैन । तर हामी हाम्रो पक्षमा पार्छौ ।’

सरकारका लोकप्रिय र जनमूखी कार्यक्रमकै कारण मतदाताहरु नेकपाको पक्षमा रहेकाले जीत सुनिश्चित भएको नगर अध्यक्ष अधिकारीको दावी छ । ‘सरकारले ल्याएको विकास र आर्थिक समृद्धिका कारण जनलहर नेकपाको पक्षमा छ । कोहलपुरमा नेकपाकै मेयर भएकाले बिकासका कामहरु तीव्ररुपमा भएका छन्, यो पनि जीतको आधार हो,’ उनले भनिन् ।

नेपाली काँग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौति देखिए पनि काँग्रेसको जीत सुनिश्चित रहेको बताए । उनले भने, ‘तत्कालिन मधेसी जनअधिकार फोरमका उम्मेद्वार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।’

तत्कालिन मधेसी जनअधिकार फोरमबाट मेयरको उम्मेद्वार बनेका फुलाराम थारुले गत निर्वाचनमा वडा नं. ६ बाट ११४ मत प्राप्त गरेका थिए । फुलाराम र रामसोहनले ल्याएको कुल ५३८ मत छ । यो तथ्यांक अनुसार नेकपा र काँग्रेसको मतान्तर ८७ देखिन्छ । तर सो वडामा थारु मत धेरै रहेकोले काँग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् । तत्कालिन नेकपा एमालेबाट उम्मेद्वार बनेका श्रीराम थारुका भाई कृष्ण थारु अहिले हाम्रो पार्टीबाट उम्मेद्वार बनेका छन् । थारु समुदायबाट बलियो उम्मेद्वार छनौट गरेकाले निर्वाचन परिणाम सहजै हाम्रो पक्षमा आउँछ,’ नगर सभापति बलरामले दावी गर्दै भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार १४:५०