बाँके । नेपाल तरुण दलले नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहको साथबाट बरामद भएको हतियार प्रहरीले राखेको आरोप लगाएको छ । झूठा बाहना बनाएर शाहलाई फसाएर तरुणलाई दुख दिन खोजेको तरुण दलले आरोप लगाएका छन् ।
प्रहरीले शाहसँगै नेपालगन्ज–१० भृकुटीनगरका ४० वर्षिय दिनेशकुमार शाही, नेपालगन्ज–१२ का ५४ वर्षिय राघव शाह (कानु), ३५ वर्षिय माधव नेपाली, नेपालगन्ज–४ का ३५ वर्षिय प्रितम थापा र नेपालगन्ज–२० का यामबहादुर बुढालाई पनि पक्राउ गरेको छ । शाहको साथबाट बरामद भएको भनिएको हतियारको फिङ्गर प्रिन्ट जाँच गर्न तरुण दलले माग गरेको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले शुक्रबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणहरुलाई दुख दिने नियतमा प्रहरी लाग्यो ।’ ‘मेड इन अमेरिका’ लेखेको अटोमेटिक पेस्तोल, दुई राउण्ड गोली र त्यसको म्याग्जिनसहित प्रहरीले शाहसहित ६ जनालाई पक्राउ गरेको छ ।
बा १८ च ४२११ नम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनी लुकाई राखेको अवस्थामा बिहीबार राती पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले कार पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
गनापुरमा रहेको नमस्ते रेष्टुरेन्टमा हतियारसहित केही व्यक्ति बसेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीको दावी छ । प्रहरी नायव उपरीक्षक शाहीले पेस्तोल बरामद भएको कारसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । उनीहरुमाथि हाहतियार तथा खरखजाना ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
सत्यपाटी ।