बाँके । ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको संख्या बढ्दै गएको छ ।
नेपालगन्जको जमुनाह नाकाबाट दैनिक सयौं नेपाली नागरिक भारततिर जाने र भारतीय नागरिक नेपालतिर आइरहेका छन् । पछिल्ला दिन जमुनाह नाकामा बन्दबस्तीका सामानसहित युवा, बृद्धबृद्धा तथा केटाकेटीको भिड रोजगारीको लागि भारतबाट नेपाल प्रवेश गरेका छन् । बुधबार जमुनाह नाकामा भेटिएका भारतीय नागरिक रजनेश यादवले परिवारसहित कामका लागि काठमाडौं जान लागेको बताए ।
उमेरले ४० बर्ष काटेका रजनेश यादव काठमाडौंको इट्टा भट्टामा काम गर्छन् । दुई छोरा र एक छोरी बोकेर नेपालगन्ज आइपुगेका यादव केही बर्षदेखि काठमाडौंमा काम गर्दै आएको बताउँछन् । ‘करिब तीन बर्ष भयो काठमाडौंको भट्टामा काम गर्न थालेको, अहिले परिवार नै लिएर जाँदैछु,’ यादवले भने । रजनेशजस्तै उहाँकै गाउँका बालादिप पनि काठमाडौंकै इट्टा भट्टामा काम गर्न जाने क्रममा नेपालगन्ज आइपुगेका छन् ।
३६ बर्षका छोरा बुहारी अनि नातीलाई साथमा लिएर नेपालगन्ज नाकामा आइपुगेका बालादिप यादव नेपालमा सजिलै काम पाउने भएकोले दशैं मनाएर काठमाडौं जानका लागि हिँडेको बताउँछन् । ‘काठमाडौंमा भट्टामा काम सजिलै पाइन्छ, त्यहीँ काम गर्न लागेको दुई दिन बर्ष भयो, दशैंमा काठमाडौंमा काम पनि बन्द हुन्छ, त्यसैले दसैं मनाउन भारत फर्किएका थियौं,’ उनले भने ।
भारत बरेलीका रामनिवास अहिर पनि रोजगारीका लागि नेपाल भित्रिंदै गर्दा सीमामा भेटिए । उनी आफ्ना साथीहरुसँग रोजगारीका लागि नेपालगन्ज नाका हुँदै काठमाडौं जाँदै छन् । ‘सहजै रोजगारी पाइने भएपछि यसपटक दशैं बिदापछि थप साथीहरु लिएर आएको छु,’ उनले भने । सीमा क्षेत्रका भारतीय नागरिकहरु नेपालमा सहजै काम पाइने भन्दै भारतबाट नेपालतर्फ भित्रिरहेका छन् ।
नेपालीहरु भने स्वदेशमा काम नपाइने भन्दै कामका लागि भारत जान थालेका छन् । दशैतिहार सकिएलगत्तै भारत जाने नेपालीहरुको सीमामा लर्को लागेको छ । चाडपर्व मनाउन नेपाल आएका नेपालीहरु पनि भारत फर्कन थालेका छन् । दशैंतिहार सकिएलगत्तै रोजगारीको लागि पुनः भारत फर्किने क्रम बढ्दै छ । भारतको मुम्बईमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका कालिकोटका अशोक थापा र उहाँका एक जना साथी बुधबार भारत फर्किएका छन्
नेपालमा रोजगारीको अभावको रहेको र स्वरोजगारको लागि सीप र लागतको अभावले रोजगारीको लागि बर्सेनि भारत जानुपरेको थापा बताउँछन् । ‘आफूसँग हातमा सीप छैन, ब्यापार ब्यवसाय गर्न लगानी छैन, अनि महिनादिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । त्यसैले बाध्यताले गर्दा भारतमा मजदुरी गरेर बस्नुपरेको छ । आफ्नै गाउँठाउँमा बस्ने रहर त सबैलाई हुन्छ नि, तर यहाँ काम पाइँदैन,’ थापाले भने ।
पर्वको लागि भनेरै भारतका आसाम, मुम्बई, देहरादुन, गुहाटी, राजकोट, जस्ता ठाउँबाट बाँकेसँगै बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोट जिल्लामा फर्किएका नेपालीहरु चाडपर्व सकिएसँगै कामको लागि पुनः भारत हिडेका हुन् । उनीहरु समूह बनाएर भारततिर गइरहे का छन् । भारतबाट आउनेहरु भारतीय नागरिकहरु नेपालमा रोजगारी देख्छन् भने नेपालबाट जाने नेपाली नागरिकहरु भारतमा ।
‘घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ,’ जाजरकोट छेडागाड नगरपालिका–३ का धनसिंह पुनले भने । मानसिंहसँगै गाउँका अरु १३ जना युवा पनि भारततिर गएका छन् । ‘चाडपर्व सकिए, गाउँमा बेरोजगारी छ, यहाँ काम नपाएर खाली बस्नुभन्दा भारत गएर पाँच÷सात महीना कमाउँदा परिवारको गर्जो टर्छ,’ धनसिंहले भने ।
अधिकांश नेपालीहरु मौसमअनुसार मजदूरी गर्न भारत जाने गर्छन् । चाडपर्वमा गाउँ फर्किएकाहरु गहुँ, मसुरो लगायतका हिउँदे खेती गरेर भारत पस्छन् । उनीहरु जेठ असारमा धान रोप्नका लागि फर्किने गर्छन् । ‘गाउँघरमा हिउँदै खेतीपातीको काम सकियो, यहाँ रोजगारी पाइँदैन । अलिअलि बाँकी रहेका काम घरपरिवारका अरु सदस्यले गरी हाल्छन् । हामी अब एकैचोटि धान रोप्ने बेलामा मात्रै फर्किन्छौं,’ धनसिंहले भने ।
सङ्घ तथा प्रदेश सरकारले युवा वर्गलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी भारत जाने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आए पनि रोजगारीको खोजीमा भारत जानेको सङ्ख्या घट्न सकेको छैन । चाडपर्व सकिएसँगै कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् । भारत जानेहरुमध्ये कोही यसअघि पनि भारतमा गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् ।
उमेरले ५० बर्ष कटिसकेका सुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपाली गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यले विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आइरहेका छन् । उनले भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैं जानु पर्दैनथ्यो ।’ उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाका ने पालीहरु प्रायः भारतमा मजदूरी गर्नकै लागि जाने गर्छन् ।
सल्यान बनगाड कुपिन्डे नगरपालिकाका बलबहादुर बिष्टले चाडपर्व मनाएर काममा फर्किएको बताए । घरको आर्थिक अवस्था नाजुक भएका कारण मजदुरी गर्न भारत जान लागेको उनको भनाइ छ । ‘राम्रो काम पाएपछि धेरै समय बस्ने गरी गइरहेको छु,’ उनले भने, ‘कहिले फर्किने भन्ने निश्चित छैन ।’ पहाडी जिल्लाबाट युवा वर्ग भारत पसेपछि गाउँहरु सुनसान हुने गरेका छन् ।
सत्यपाटी ।