बाँके । प्रहरीको निकै ओहोरदोहोर हुने नेपालगन्जको धम्बोझी चोक दिनभर उत्तीकै व्यस्त हुन्छ । रातभर पनि प्रहरीका गाडीहरु धम्बोझीलाई नै केन्द्रविन्दु बनाएर नगरभर हुइँकिन्छन् । धम्बोझीमै प्रहरीको बीट पनि छ । जहाँ २४ सैं घण्टा प्रहरी तैनाथ हुन्छ ।
जिल्ला प्रहरी कार्यालय आउजाउ गर्ने प्रहरीका गाडीहरु धम्बोझी चोकमा पुग्नैपर्छ । त्यही धम्बोझी चोकको उत्तरतर्फ १५० दुरीमा सडक किनारामा लगाइएका आधा दर्जन रेलिङ्ग काटिँदासम्म प्रहरीलाई कुनै जानकारी भएन । दिउँसो मात्रै होइन राती पनि त्यही बाटो भएर प्रहरीका गाडीहरु दर्जर्नौ पटक ओहोरदोहोर गर्छन् ।
जिल्ला प्रहरी कार्यालय पुग्ने प्रवेशद्वारका रुपमा रहेको धम्बोझी चौकमा रेलिङ्ग काँटिदा पत्तो नपाउने प्रहरीले जिल्लाको शान्ति सुरक्षालाई कसरी चुस्त बनाउँला भन्ने प्रश्न यतिखेर उठीरहेको छ । ‘नाकमुनीको घटना थाहा नपाउने प्रहरीले पिठ्युमा भएको घटना कसरी थाहा पाउला ?, एक जना स्थानीयले भने ।
नेपालगन्जको धम्वोझी चोक नजिकै बागेश्वरी इलेक्ट्रो हवको सामुन्ने रहेका ६ वटा रेलिङ्ग मध्यरातमा काटिँदासमेत प्रहरीलाई जानकारी भएन । जसले नेपालगन्जको शान्ति सुरक्षालाई नजिकबाट गिज्याएको छ । नेपालगन्ज फोरलेन सडकको फुटपाथमा एडिबीले निर्माण गरेका रेलिङ काटिएका हुन् ।
रेलिङ कसले र किन काट्यो भन्ने एकिन छैन । स्थानीयले भने व्यापारीले काटेको आरोप लगाएका छन् । यसबारे बागेश्वरी इलेक्ट्रो हवका सञ्चालक विष्णु अर्यालले अनभिज्ञता प्रकट गरे । उनले भने, ‘रेलिङ काटिएको आज विहान मात्रै थाहा पाए ।’ बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले आफूलाई विहान मात्रै जानकारी भएको बताए ।
रेलिङ्ग काटिएको भन्ने बारेमा कुनै जानकारी नआएको र यस विषयमा बुझेर दोषी पत्ता लगाउने प्रहरी उपरीक्षक ओलीले प्रतिक्रिया दिए । प्रहरी बिट नजिकै हुँदा पनि मध्यरातमा रेलिङ्ग काटिएको भन्दै स्थानीयबासी आक्रोशित छन् । दोषीलाई तत्काल कारवाही गरीनुपर्ने स्थानीयहरुको माग छ ।
सत्यपाटी ।