सूचनाको शक्ति - The Power Of Information

        

भुइँमान्छे हराएको सूचना

 

शैलेश भट्टराई

करिब एक मुड्की बाक्लो
हात्ती छाप चप्पल लगाएको,
हिंड्दा चप्पल पड्केको आवाज निकै परसम्म सुनिने,
दाहिने चप्पलको दाहिने फिता चुँडिएर
आगोले जोडेको प्रष्टै देखिने,
फस्नर बिग्रेको रातो रंगको मैलो पाइन्ट

कुहिना फाटेको नीलो रंगको मैलै कमिज लगाएको,
किताबै किताबले भरिएको
एउटा झोला भिरेको,
ग्याष्ट्रीकले ग्रस्त,
सुकेनासले सिकिस्त,
फू गर्दा हाम्रो सरकार ढले झैं ढल्ने,
दुई गालाबीचको दूरी समाप्त हुने क्रममा रहेको,
चिउँडो एउटै भएको,
रुद्रघण्टी टाढैबाट दृष्टिगोचर हुने,
खाने बस्ने ठेगान नभएको,
गहुँगोरो,
कालो कपाल र कालै आँखा भएको,
उमेर यकिन गर्न नसकिने,
बेला बेलामा सूरज छाप बिंडी सल्काइरहने,
अनि
बलवान छाप खैनी खाईरहने,
आवाज निकै कडा,
धाराप्रवाह बोल्न सक्ने,
खुद्रा मसिना कुरै नगर्ने,
बातैपिच्छे अमेरिका, बेलायत, रूसमा यस्तो उस्तो
भन्दै उदाहरण दिइरहने,
भुइँभन्दा माथिका मान्छेलाई देख्नै नसक्ने,
तीनलाई शोषक, सामन्त, भ्रष्टाचारी, अत्याचारी भनेर चिनाउने,
भुइँमान्छेलाई भने असाध्यै माया गर्ने,
मीठो मसिनो खान दिए
भुइँमान्छेहरू भोकभोकै, म यस्तो खाएर बस्ने
राम्रो कोट लाउन दिए
भुइँमान्छेहरू नाङ्गै, म सुकिलो मुकिलो भएर हिड्ने
भन्दै अस्वीकार गर्ने,
नेपाल र नेपालीको भाग्यविधाता म नै हुँ भन्दै हिंड्ने,
अन्तिम पटक
२०४६ सालको उत्तराद्र्धमा
काठमाडौंकै भुइँमा देखिएको,
एउटा सग्लो भुइँमान्छे,
त्यस उप्रान्त
लापत्ता छ ।
जीवित वा मृत जुन रूपमा भए पनि,
फेला पार्नु हुने महानुभावले
भुइँमान्छेकै रूपमा फेला पार्नु भएमा
नजिकैको संग्रहालयमा
बुझाइदिनुहोला ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ०५:१२