सूचनाको शक्ति - The Power Of Information

        

तिहार सकिएसँगै नयाँ सभामुखको खोजी

काठमाडौं । कृष्णवहादुर महराले सभामुख पद गुमाएपछि रिक्त पदमा कसको चयन हुन सक्ला भन्ने जिज्ञासा सर्वत्र पैदा भएको छ । सभामुख पदमा नेकपाभित्रको पूर्वमाओवादीले आफ्नो दावी प्रस्तुत गर्न सक्ने सम्भावना जति देखिएको छ नेकपाभित्रकै पूर्वएमालेले कुनै हालतमा सभामुख पद नछोड्ने सम्भावना पनि त्यत्तिकै छ ।

हालसम्म पार्टीभित्र र बाहिर करीब पौने एक दर्जन नेताहरू नाम सम्भावित सभामुखका रुपमा चर्चामा छन् । सुवास नेम्वाङ्ग, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, हृदयेश त्रिपाठी, पम्फा भुषाल, देव गुरुङ्ग, देवेन्द्र पौडेल, ओनसरी घर्ती र अग्नि सापकोटाको नाम चर्चामा रहेका छन् । नेपाली कांग्रेसले समेत सभामुखमा दाबी गरिरहेको छ ।

सभामुख र उपसभामुख दुई भिन्न दलहरूबाट हुने संवैधानिक ब्यवस्था भएकोले राजपाका नेता लक्ष्मणलाल कर्णको नाम पनि सम्भावित उपसभामुखका रुपमा अगाडि आएको छ । सत्तारुढ पार्टीले सभामुख पद नछोड्ने निश्चित भएको र उपसभामुख शिवमाया तुम्बाहाम्फेसमेत नेकपाकै पक्षको भएकोले तुम्बाहाम्फलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्रिमण्डलमा समावेश गरिने या अन्य कुनै महत्वपूर्ण जिम्मेवारी दिइने सम्भावना छ ।

यी नामहरूमध्ये प्रचण्डले चाहेको पहिलो ब्यक्ति अग्नि सापकोटा हुन् । प्रधानमन्त्री केपी ओलीको रोजाइमा सुवास नेम्वाङ्ग परेको स्रोतको भनाइ छ । गृहमन्त्री रामबहादुर थापाले देव गुरुङ्गलाई सभामुख बनाउने पक्षमा देखिएका छन् । माधवकुमार नेपालले नाताले सम्धी पर्ने सोमप्रसाद पाण्डेलाई सभामुख बनाउन लागेका छन् । प्रचण्डको प्रथम प्राथमिकतामा अग्नि सापकोटा दोस्रोमा पम्फा भुषाल र तेस्रो प्राथमिकतामा मात्र देव गुरुङ्ग भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार ०८:४४