फाइल तस्वीर
बाँके । नेपालगन्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ । गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो ।
राति करीब ८ः०० बजेदेखि शुरु भएको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो ।
पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो । आइतबार रातिमात्रै नेपालगन्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । गत बिहीबार नेपालगन्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महिनामा नेपालगन्जमा सात ठूला आगलागी भइसकेका छन् ।
सत्यपाटी ।