सूचनाको शक्ति - The Power Of Information

        

आज कुकुर तिहार र नरके चतुर्दशी मनाइँदै

बाँके । तिहारको तेस्रो दिन आइतबार घर घरमा सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने भएकाले तेस्रो दिन परेको जनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको विश्वास गरिन्छ ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

नरक चतुर्दशी

आइतबार बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिदक मत छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतवार ०७:४४