बाँके । बाँकेको नेपालगन्जमा पर्व तथा समारोह सजावटलाई आवश्यक पर्ने फूलका लागि भारतीय बजार धाउन नपर्ने गरी आजबाट औपचारिकरुपमा फुल विक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्जको औद्योगिक क्षेत्र नजिकै ‘चर्ति फ्लोरा’ सञ्चालनमा ल्याइएको हो ।
‘चर्ति फ्लोरा’ले पर्व तथा समारोह विषेशलाई लक्षित गरी आवश्यक पर्ने फूल तथा फूलबाट निर्मित सजावटका सामानहरु विक्री गर्ने सञ्चालिका बिन्दु चर्तिमगरले जानकारी दिइन् । विभिन्न पर्व तथा समारोहमा आवश्यक पर्ने फूल मालाका लागि भारत धाउनु पर्ने बाध्यतालाई ‘चर्ति फ्लोरा’ले हटाएर नेपालगन्जमै रोजेको फूल उपलब्ध गराउने जानकारी दिइन् ।
सञ्चालिका चर्तीमगरले भनिन्, ‘भारतको लखनउ वा काठमाडौंबाट ओइलाएको बासी फूल मगाउनुपर्ने बाध्यता टार्ने प्रयास स्वरुप विक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।’ उनले गुलाव, सयपत्री, मखमली फूल तथा विभिन्न प्रकारको फूलको खेती र बजारीकरण गर्दै स्थानीय महिलालाई रोजगारी दिने उद्देश्यले ‘चर्ति फ्लोरा’ सञ्चालनमा ल्याइएको बताइन् ।
उनले विक्री केन्द्रसँगै फूलको खेतीसमेत सुरु गरेको बताउँदै प्रारम्भीक चरणमा करिव रु.२० लाख बढी लगानी गरेको जानकारी दिइन् । गृहणी महिलाको लागि घरमै बसेर पनि रोजगारी दिने उनको भनाई छ । नेपालगन्ज उपमहानगरका मेयर डा.धवलशम्शेर राणाले नीजि क्षेत्रबाट विक्री केन्द्र स्थापना भएर सञ्चालनमा आउनु हर्षको कुरा भएको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले नेपालगन्जमा विभिन्न समुदायका पर्वहरु, विवाह, तथा समारोहको लागि आवश्यक पर्ने फूलको लागि भारत धाउनु नपर्ने भन्दै खुसी व्यक्त गरिन् । उनले फूलखेतीसँगै विक्री केन्द्र सञ्चालनमा आएपछि भारतबाट आउने फूललाई प्रतिस्थापन गर्दै रोजगारी पनि सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।
तीन वर्षयता फुल आयात शुन्य
त्यसो त पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जबाट पछिल्लो तीन वर्षयता भारतबाट फुलको आयात शुन्यमा झरेको छ । खासगरी तिहारमा खपत हुने फुल तथा त्यसका मालाहरु भारतबाट आउनै छाडेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो तीन वर्षयता भारतबाट फुलको आयात भएको छैन ।
कार्यालय प्रमुख शान्तिराम निरौलाले केही वर्षयता यो नाकाबाट फुलको आयात नभएको जानकारी दिए । ‘हामीले तीन वर्षको डाटा हेर्दा राम्रो तथ्यांकमा विरुवाबाटै टिप्ने फुल चाँही पैठारी भएको दैखिदैन,’ उनले भने, ‘कृतिम फुल र माला भने केही आएको देखिन्छ ।’ चालु आर्थिक वर्षको हालसम्म रु.६ लाखको कृत्रिम माला नेपालतर्फ आयात भएको छ ।
उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा रु.चार लाख र आर्थिक वर्ष २०७५/०७६ मा रु.पाँच लाख मुल्य बराबरको कृतिम माला आयात भएको थियो । पछिल्लो समय फुलको आयात बन्द भए पनि कृतिम मालाको आयात भने रोकिएको छैन । आव २०७४/०७५ मा तीन हजार किलो, आव २०७५/०७६ मा चार हजार किलो र चालु आवको हालसम्म दुई हजार किलो कृतिम माला आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
‘मुल्य वृद्धि भएका कारण कृत्रिम मालाको आयात धेरै भएको जस्तो देखिन्छ,’ भन्सार प्रमुख निरौलाले भने, ‘परिमाणको दर हेर्ने हो भने घट्दो क्रममा छ ।’ नेपालमा फुलको उत्पादनमा वृद्धि भएकाले फुलको आयात नभएको उनको भनाई छ । तिहारका बेला नेपालमा बढी खपत हुने सयपत्री र मखमली फुलहरु आयात भएको पाइँदैन । नेपाल फुलमा आत्मनिर्भर बन्दै गएकाले केही वर्षयता भारतबाट फुलको आयात नभएको व्यवसायीहरु बताउँछन् ।
पछिल्लो वर्षयता फुल खेती गर्ने किसानहरुको सख्ङ्यासमेत बढिरहेको छ । किसानहरुले फुल खेतीलाई व्यवसायिकरण गर्दा त्यसको असर अन्य देशबाट आयात गरिने फुलमा समेत पर्न थालिसकेको अवस्था रहेको छ । नेपाल आफै फुलमा आत्मनिर्भर बनेकाले भारत लगायतका तेस्रो मुलुकबाट फुलको आयात नभएको र तीन वर्षभन्दा पहिले नेपालगन्ज नाकाबाट भारतीय फुल आयात उच्च रहेको व्यवसायीहरुको भनाई छ ।
सत्यपाटी ।