सूचनाको शक्ति - The Power Of Information

        

राती १० बजेदेखि देउसी भैलो खेल्न रोक

बाँके । बाँकेमा राती १० बजेदेखि देउसी भैलो खेल्न रोक लगाइएको छ । स्थानीय प्रशासनले राती १० बजेदेखि विहान ६ बजेसम्म देउसी भैलो खेल्न रोक लगाएको हो । देउसी भैलोजस्ता कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्ने गरी कुनै पनि गतिविधि नगर्न बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले आग्रह गरे ।

देशका अधिकांश स्थानहरुमा भोली लक्ष्मी पुजाको दिनदेखि देउसी भैलो खेल्ने गरिन्छ । सार्वजनिक आवागमनलाई अवरोध पुग्ने गरी समेत कुनै पनि कार्यक्रम नगर्न कार्यक्रम आयोजकलाई निर्देशन दिइएको प्रहरी उपरीक्षक ओलीले बताए । उनले निर्णय अटेर गरी कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

‘सार्वजनिक शान्तिसुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न आग्रह गरेका छौं,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी भैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’

गृह मन्त्रालयले पनि सोही अनुसारको निर्देशन दिइसकेको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, ‘शान्तिसुरक्षा र सार्वसाधारणको निजी जीवनमा नकारात्मक असर नहुने गरी सांस्कृतिक चाडपर्व तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गराएका छौं । कसैले देउसी भैलो तथा अन्य कार्यक्रमको आवरणमा कुनै व्यक्ति वा संस्थासँग लिखित वा मौखिकरुपमा जबर्जस्ती चन्दा माग गरेको पाइए कडा कारबाही हुनेछ ।’

तिहार सुरु भएसँगै चाडपर्व लक्षित सुरक्षा योजनालाई कडा पारिएको बताउँदै उनले पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि समेत नियन्त्रणमा लिएर कारबाही गरिने बताए । बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्रीवितरण नियन्त्रण गर्न सादा पोशाक र गस्तीसहितको प्रहरी टोली नै खटिएको उनले जानकारी दिए ।

भारतसँगको खुला सिमानाका कारण विस्फोटकजन्य पदार्थ भित्रिन नदिन प्रहरी सचेत रहेको भन्दै उनले सीमा क्षेत्रमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको बताए । ‘तिहारका समयमा कुनै अप्रिय घटना घट्न नदिन हामीले सीमा क्षेत्रका साथै शहरदेखि गाउँगाउँसम्म सूचना संकलनको लागि सादा पोशाकमा प्रहरी परिचालन गरेका छौं,’ प्रहरी उपरीक्षक ओलीले भने ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार १४:३२