सूचनाको शक्ति - The Power Of Information

        

फलेन गरिमा धान, चिन्तित किसान

बाँके । थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको विचल्ली हुने भएको छ । १२० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् ।

बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते बिउ राखेर असार ७ गते डेढ विगाह खेतमा रोपेको गरिमा जातको धान नपसाएपछि वर्षभरी हातमुख जोर्न धौ–धौ हुने बताए । उनले गरिमा धान नफलेको जनगुनासो आएपछि कृषकको खेतबारीमै पुगेकी प्रदेश ५ की भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलसमक्ष आफ्नो ब्यथा पोखेका छन् ।

‘गतवर्ष पनि यसै खेतमा गरिमा जातकै धान रोपेको थिए । राम्रो फलेको थियो । यसवर्ष भने एग्रोभेटले नै गरिमा धानको बिउ भनेर नक्कली विउ दिएर विचल्लीमा पार्यो,’ सिग्देलले गुनासो गर्दै भने । उनले १२० दिनमा तयार भई तोरी छरेर चैते धान लगाउने सोचले एग्रोभेटको विश्वासमा परेर आफु ठगिएको बताउँदै अहिले खेतमा हरियो धानको रुपमा घाँसमात्र रहेको गुनासो गरे ।

तीन बाली हुने लोभले गरिमा धान रोपेकी बर्दिया राजापुर नगरपालिका–८ बञ्जारे टौडाकी किसान रामकुमारी थारुले आफुसँग भएको ५ कठ्ठा जमिन सबैमा रोपेको तर, पाक्ने बेलामा पनि धान नपसाएपछि के खाने भन्ने चिन्ता भएको गुनासो गर्दै भने, ‘हाम्रो सबै खेतमा गरिमा धान रोपेका थियौ । यो धान रोप्दा तीन बाली लगाउन पाइन्छ भनेर यहाँ त एकै बाली भएन बर्षभरी कसरी गुजारा चलाउने हो भन्ने पिरले रातभर निद्रा नै पर्दैन ।’

राजापुर नगरपालिका–५ भौराका सोभनलाल थारुले गोरखनाथ धानको बिउ लिन एग्रोभेट जाँदा धेरै फल्छ भनेर एग्रोभेटबाटै गरिमा धानको बिउ दिएर पठाएको बताए । ‘अरुको धान पसाएर काट्न लाग्दा पनि हाम्रो छिटो फल्ने धान नपसाएपछि एग्रोभेटमा गए त्यहाँबाट औषधि छिट्टै अनि पसाउँछ भनेर बिउ बेच्ने एग्रोभेटले भन्यो आएर औषधि छिट्टै औषधिको मात्र नोक्सान भो धान जस्ताको त्यस्तै नपसाई बस्यो,’ मन्त्री पौडेललाई आफ्नो पीडा सुनाउँदै भनिन्, ‘गोरखनाथ नै ल्याएर रोपेको भए बर्षभरी खान पुग्ने थियो गरिमा रोपेर घाँसमात्र हात लाग्यो ।’

राजापुर–५ कै पोहरी थारुले आफुसँग भएको सबै तीन कठ्ठा जमिनमा धेरै बाली भित्र्याउने लोभमा गरिमा धान रोपे तर, एग्रोभेटले नै गरिमा जातको भन्दै नपसाउने धानको बिउ दिएर आफुहरुको विचल्ली पारेको बताइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ राजापुर (धान सुपरजोन)का प्रमुख तपेन्द्रबहादुर शाहले बर्दियाको राजपुरमा १५० हेक्टर जमिनमा लगाइएको गरिमा धान नपसाएको प्रारम्भीक तथ्याङ्क संकलन भएको र यो तथ्याङ्क अझ बढ्न सक्ने बताए ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले गरिमा धानको खोलमा अरु नै जातको धानको बिउ दिएर किसानलाई कम्पनीले ठगेको हुनसक्ने आशंका व्यक्त गर्दै भने, ‘१२५ दिनमै पाक्नुपर्ने धान १५० दिन पार गर्दा पनि पसाएको छैन । धानको बिउको खोलमात्र गरिमाको राखेर अरु नै धानको विउ बेचिएको हो । यस विषयमा अनुसन्धान गर्दा झन् पुष्टि हुनेछ ।’ उहाँले बाँकेमा ५ हेक्टर र बर्दियामा २०१ हेक्टरमा गरिमा धान रोपेको प्रारम्भीक तथ्याङ्क आएको र यो अझ बढ्नसक्ने जानकारी दिए ।

सहकारी मन्त्री पौडेलले गरिमा धान रोपेका सबै किसानले रोपेको क्षेत्रफलमा उत्पादन हुने अनुपातमा क्षतिपूर्ति बिउ बितरक कम्पनीले दिनुपर्ने बताइन् । उनले भनिन्, ‘बिउ बितरण कम्पनीले किसान गरिमा रोपेको क्षेत्रफलमा फल्ने अनुपातको क्षतिपूर्ति दिनुपर्छ । किसानलाई झुक्काएर नफल्ने र नक्कली बिउ दिनु घोर अपराध हो । बिउ वितरण गर्ने कम्पनी तथा विक्री एजेन्टलाई क्षतिपूर्ति र कारवाहीको दायरमा ल्याइनेछ ।’ मन्त्री पौडेलले एक हप्ताभित्र किसानको अभिलेख तयार गरी क्षतिपूर्तिको लागि पहल गर्ने बताइन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार १६:३२