सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २० हजार हेक्टर धानबाली सखाप, ३० प्रतिशत उत्पादन घट्ने

फौजी किराको प्रकोप

बाँके । बाँकेको कुल धानखेतीमध्ये आधामा फौजी किराको प्रकोप देखिएको छ । कुल ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा हालसम्म २० हजार हेक्टर क्षेत्रफलको धानबालीमा फौजी किराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत शकिल अहमदका अनुसार बाँकेमा जताको खेतमा गयो त्यता फौजी किराको प्रकोप देखिएको छ ।

बर्दियामा पनि फौजी किराको प्रकोप देखिएको छ । उहाँले बर्दियामा कुल ५२ हजार ५२ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा दुई हजार हेक्टरमा मात्र फौजी किराको प्रकोप देखिएको बताए । जमिनमा रहिरहने भए पनि यस फौजी किराले बाहिर आउने उचित वातावरण पाएको उनको भनाइ छ । पानी पर्ना साथ समस्या समाधान हुने बताउँदै उनले विषादी छर्केर न्यूनीकरण गर्न सकिए पनि समस्या समाधान नहुने बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार, बाँकेमा प्रति हेक्टर तीन मेट्रिक टन धान उत्पादन हुने गरेको छ । फौजी किराले २० हजार हेक्टरको धान सखाप पारेपछि बाँकेमा यसवर्ष धान उत्पादनमा ह्रास आउने देखिएको छ । बाँकेमा बार्षिक सरदर एक लाख नौ हजार ५०० मेट्रिक टन धान उत्पादन हुने गरेकोमा यसवर्ष करिब ३० प्रतिशत ह्रास आउने बाली संरक्षण अधिकृत अहमदले बताए ।

यस्तै कृषिजन्य रोगको समयमै उपचार गरी कृषकलाई जोखिमबाट बचाउन माग गर्दै नागरिक समाजका प्रतिनिधिहरुले बाँकेका प्रमूख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । पाकेर काट्न तयार रहेको धानबालीमा लागेको फैजी किराको नियन्त्रण र क्षतिपूर्तिका लागि किसानले प्रजिअलाई ज्ञापन पत्र बुझाएका छन् । धानबालीमा फौजी किराले पुर्याएको क्षतिको विवरण संकलन र प्रकोप नियन्त्रणको तत्काल पहल गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापन पत्र बुझाउदै किसानले माग गरेका छन् ।

किसानहरुको भेलाले क्षतिपूर्ति र किरा नियन्त्रणका लागि सरकारलाई दबाब दिन फौजी किरा पिडित संघर्ष समिति समेत गठन गरेको छ । समितिका अध्यक्ष रामधनी यादवको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा अविलम्ब रोग पहिचान र विषादीको व्यवस्थापन गर्ने, कृषकहरुका लागि आपतकालीन सेवाको सुरुवात गर्ने, यथासिघ्र धानबालीको अनुगमन र क्षतिको विवरण संकलन गरि क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने र आगामी दिनमा खेतीलाई सुरक्षित गर्न पूर्वतयारीको आवश्यक कदम चाल्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०७:०६