सूचनाको शक्ति - The Power Of Information

        

शिल्देवी मेलामा देउडा र भलिवल

बझाङ । शिल्देवी मेलाको अवसरमा आयोजना गरिएको जिल्लास्तरिय महिला, पुरुष देउडा खेलको नतिजा सार्वजनिक भएको छ । पुरुष देउडा खेलमा खप्तड छान्ना गाउँपालिकाको टिम प्रथम, दोस्रो तलकोट गाउँपालिकाको टिम तेस्रो जयपृथ्वी नगरपालिका भएको छ भने मष्टा गाउँपालिका सान्त्वना भएको छ ।

यस्तै महिला देउडा खेलमा छविस पाथिभेरा गाउँपालिका प्रथम, जयपृथ्वी नगरपालिका–१ कैलाश टिम दोस्रो सुइल मयाना टिम तेस्रो भएको छ भने शान्तना जयपृथ्वी नगरपालिका–३ का महिला टिम छनोट भएकी छन् । देउडा खेलमा पुरुष समुहतर्फ ८ वटा टिम सहभागी थिए भने महिला समुहतर्फ १० वटा टिम सहभागी रहेको देउडा खेल सञ्चालनको जिम्मा पाएको नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष जगदीश रोकायाले बताए ।

पुरुषको देउडा खेलको लागि मूल्याङ्कनमा पत्रकार बसन्तप्रताप सिंह, शिक्षक नरेन्द्र उपाध्याय र प्राध्यापक लालबहादुर बोहरा रहेका थिए भने महिलातर्फ देउडा खेलमा मूल्याङ्कनमा देउडा खेलाडी तथा शिक्षक झलक नविन रोकाया, जयराज जोशी र विरेन्द्र विष्ट रहेका थिए । देउडा खेलको पुरस्कार भलिवल प्रतियोगिता सकिएपछि सामुहिकरुपमा वितरण गरिने भएको छ ।

देउडा खेलको लागि १० हजार, ७ हजार, ५ हजार र २५ सय पुरस्कार रहेको छ । शिल्देवी जात्रामा भलिवल प्रर्तियोगितामा पुरुषतर्फ १२ ओटा स्थानीय तह र १ नेपाली सेनाको गरी १३ वटा टिम सहभागी रहेका छन् भने महिला भलिबलतर्फ ६ ओटा टिम सहभागी भएका छन् । भलिबलको पहिलो चरणको खेल सकेर भोली फाइन खेल हुने शिल्देवी मेला व्यवस्थापन समिति सदस्य सचिव प्रविन्द्र धामीले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १७:५७