सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका सडकमा घोडा खच्चरको राज, बढ्दै फुटपाथ अतिक्रमण

बाँके । बाँकेको नेपालगन्ज शहरका सडकहरुमा घोडा खच्चरको राज चलेको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्रका सडकहरुमा घोडा खच्चरको आउजाउ बढेको छ । यी घोडा खच्चर धनी भने को हुन् कसैलाई जानकारी छैन । जथाभावी घोडा खच्चरहरुको आउजाउ बढेपछि सडक दुर्घटनाको जोेखिम पनि उत्तीकै बढेको छ ।

तीब्र गतिमा रहेका कतिपय सवारी साधनहरुले ठक्कर दिँदा केही घोडा खच्चरको सडकमै मृत्युसमेत भएको पाइएको छ । आइतबार बिहान साढे ११ बजेतिर नेपालगन्ज सुर्खेतरोड औद्योगिक क्षेत्र अगाडिको बीच सडकमा यस्तै एउटा दृष्य फेला प¥यो । जहाँ एउटा घोडा सवारी साधनको ठक्करबाट मरे पनि तत्काल ब्यवस्थापन गर्न भने कसैले चासो दिएनन् ।

सडकमा भएका, छाडा छोडिएका पशुचौपायाको चौपायाको ब्यवस्थापन गर्ने दायित्व नेपालगन्ज उपमहानगरपालिकाको हो । यसका साथै ट्राफिक प्रहरी र स्वयम् स्थानीय सर्वसाधारणहरुको जिम्मेवारी पनि हो । तर कसैको चासो र सक्रियता देखिन्न । नेपालगन्जमा रहेका केही घोडा खच्चर पालक किसानले बताए अनुसार घोडा खच्चरलाई चराउने ठाउँको अभाव छ ।

घोडा खच्चर चरनका लागि सडक चाहार्दै हिँड्छन् । आधा घर पुग्छन्, आधा सडकमै छोडिन्छन् । जिल्लामा सडक कालोपत्रे बढेसँगै घोडा खच्चरको चरन र बसाई क्षेत्र पनि साँघुरिएको छ । घोडा खच्चर पालक किसान निजामुद्दिन कस्गरले भने, ‘नेपालगन्जबाट धेरै ठुलो संख्यामा घोडा खच्चर काठमाडौंका इट्टा उद्योगमा ढुवानीका लागि जाने गर्छन् र सिजनका बेला ५ महिना जति काठमाडौंमै रहन्छन् भने अरु बेसिजनका बेला नेपालगन्जमा ल्याइन्छन् ।’

निजामुद्दिन कस्गरका ३५ वटा जति खच्चर छन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका सडकमा भेटिने यस्ता घोडा, गधा लगायतका अधिकांश छाडा पशुचौपाया अशक्क्त देखिए पनि केही संख्यामा भने स्वस्थ अवस्थाकै छन् । छाडा छोडिएका यस्ता खालका पशु चौपायहरुको ओहोरदोहोर प्रायः दैनिकजसो बिहान र साँझ हुने गरेको सर्वसाधारण बताउँछन् ।

कतिपय पशुचौपाया धनीले चरन, घाँसपातको अभावले गर्दा सडकमा छाडा छोड्ने र बेलाबेलामा रेखदेख गरी कामका बेलामा मात्रै साथमा लैजाने गर्ने गरेको पाइएको छ । नेपालगन्ज वरपरका स्थानमा छाडा छोडिएका घोडा खच्चरका कारण शहर पनि दुर्गन्धित बन्दै गएको छ ।

पशुचौपाय नियन्त्रणका लागि भन्दै नेपालगन्ज उपमहानगरपालिकाले फुल्टेक्रा नजिक एउटा कान्जी हाउस पनि बनाएको छ । त्यहाँ पनि उचित ब्यवस्थापन हुन सकेको छैन । सडकमा जथाभावी घोडा खच्चर लगायतका पशु चौपायहरु छोड्नेलाई कडा किसिमको दण्ड जरिवाना कार्वाही हुन नसक्दा पनि समस्या बढेको स्थानीयको गुनासो छ ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका भित्रको सडक अतिक्रणमा हटाउनका लागि पटक–पटक प्रयास गर्दा पनि सफल हुन सकेको छैन् । पसल अगाडीको फुटपाथ र बाटो कब्जा गरी पसल र ब्यवसाय सञ्चालन गर्नेका कारण बजारसमेत कुरूप बन्दै गएको छ । ठेला, रिक्सा, अनियन्त्रित पार्किगं र अब्यवस्थित सहरीकरणले समस्या थप्दै गएको छ ।

जिल्ला ट्राफिक कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय लगायतको संलग्नतामा यसअघिदेखि चलेको सडक अतिक्रमण हटाउने अभियान अपेक्षा अनुसार सफल हुन नसकेको उपमहानगरपालिका नै बताउँछ । एकदिन खाली गराएको सडक अर्को दिन फेरि उस्तै हुने गरेको प्रहरी अधिकारीले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम उपमहानगरकै असहयोगका कारण अभियान प्रभावकारी हुन नसकेको बताउँछन् । ‘सडक फुटपाथ खाली गराउने जिम्मेवारी उपमहानगरको हो,’ निरीक्षक बमले भने, ‘तर उल्टो भइरहेको छ, हामीले गएर उपमहानगरपालिकालाई भनेपछि मात्र अभियान सक्रिय हुन्छ ।’

उपमहानगरपालिकाले पनि कर्मचारी पर्याप्त नभएको भन्दै सक्रियता देखाउन मानेको छैन । ब्यवसायीलाई कर्मचारीले भ्रामक अश्वासन दिने गरेका छन् । नेपालगन्ज सफा र ब्यवस्थित बनाउनु पर्ने सबैको दायित्व हो । प्रहरी निरिक्षक बमले भने, ‘प्रहरीले एक्लै चाहेर मात्र सडक अतिक्रमण हट्न सक्दैन । ब्यवसायीको हकहितमा पनि ती कुराहरु लागु हुन्छन, नागरिक चेतनास्तर पनि सहयोगी देखिएन ।’

नेपालगन्ज उपमहानगरपालिका कर्मचारीले सडकबाट उठाएर ल्याएका सामग्रीहरु आपसी मिलोमतोमा फिर्ता हुने गरेका छन् । भेरी अस्पताल अगाडी सडकमा ठेला लगाउँदै आएका एक ब्यवसायीले भने, ‘केहि दिनअघि सिलिण्डर उठाएर लगेको कर्मचारीले ५०० रुपैयाँ तिरेपछि फिर्ता दिए ।’ उनले रकमको कुनै रसीद आफुसँग नभएको बताउँदै भित्रभित्रैै मिलाएर सिलिण्डर लिएको बताए ।

अभियानका क्रममा सयौं ब्यवसायी, फुटपाथ पसलेको सामग्री उपमहानगरपालिका कर्मचारीले जफत गर्ने बहानामा उठाएर लगे पनि पछि मिलोमतोमा अधिकांशको सामग्री छुट्ने गरेको उनी बताउँछन् । नेपालगन्जका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, धम्बोझी चोक लगायतको सडक क्षेत्र अधिकतम् अतिक्रमण हुने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १६:३९