फाइल तस्वीर
बाँके । नेपालगन्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । जसले कारण नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तीकै बढाएको छ ।
चेतनास्तर बढेकै कारण मनिकापु स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गर्न आउनेको भीड लाग्ने गरेको छ । ‘अब त चेतनास्तर पनि बढेको छ । घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्,’ स्वास्थ्य चौकीकी अनमी आशा सार्कीले भनिन् । नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पुर्याएको छ ।
‘पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ,’ अनमी साकीले भनिन् । तर स्वास्थ्य चौकीमा एम्वुलेन्स नहुँदा सुत्केरी हुन आउने महिलाका लागि लडिया र बुकी भरपर्दो सवारी साधन बनेका छन् । मनिकापुरका ग्रामीण बस्तीहरुमा पक्की सडक र नेपालगन्जभन्दा केही टाढा रहेकाले सुत्केरी ब्यथा लागेपछि गर्भवतीलाई लडिया (गाडा), बुकी (टाँगाजस्तै)को भर पर्नुपर्ने बाध्यता छ ।
त्यसो त उनीहरुलाई एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले लडिया र बुकी नै प्राथमिकतामा पर्दछन् । अनमी सार्कीले भनिन्, ‘एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्योभन्दा छिटो लडिया र बुकीमै हुन्छ । खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।’ सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताए ।
‘कुनै दिन त स्वास्थ्य चौकीमा बुकी र लडियाको लाइन लाग्छ,’ अनमी सार्कीले भनिन् । स्वास्थ्य चौकीका इन्चार्ज सरोजकुमार मिश्रले स्वास्थ्य चौकीमा सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताए । ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ,’ इन्चार्ज मिश्रले भने, ‘सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।’
इन्चार्ज मिश्रले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको संख्या बढाएको बताए । ‘चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकोले पनि सुत्केरी हुन आउनेको संख्या बढेको छ,’ उनले भने । नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ । यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् ।
स्वास्थ्य चौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत चेकजाँच गरिरहेका छन् । मनिकापुर स्वास्थ्य चौकी अन्तरगत १५ जना स्वास्थ्य स्वयंसेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमहरुसमेत सञ्चालन हुँदा गर्भवती महिलाहरु नियमित चेकजाँचका लागि आउने गरेको इन्चार्ज मिश्र बताउँछन् । उनी भन्छन्, ‘बर्थिङ सेन्टरमा स्थानीयले अपनत्व महसुस गरेकै कारण प्रसुति सेवा प्रभावकारी देखिएको छ ।’
यहाँ ४० जनासम्म अन्य उपचारका लागि आउने गर्छन् भने हप्तामा कम्तीमा पनि चार जना महिला सुत्केरी हुनकै लागि पुग्ने गरेको इन्चार्ज मिश्रले बताए । ‘सेवा प्रवाहमा वृद्धि भइरहेको छ, यसलाई अत्याधुनिक ढंगबाट सञ्चालन गरी अझै सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने । गर्भवती उत्प्रेरणापावत चार पटक गर्भवती जाँच गराए रु.८०० र बर्थिङ्ग सेन्टरमै सुत्केरी हुनेलाई रु.१ हजार पोषणभत्ता दिँदै आएको छ ।
सरकारले प्रोत्साहन भत्ता दिन थालेपछि गर्भवती महिला नियमित चेकजाँज र सुत्केरी हुन बर्थिङ्ग सेन्टरमै पुग्ने गरेको अनमी सार्कीले बताए । ‘नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा लोनियाले भनेजस्तो स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तर बढेको छ,’ सार्कीले भनिन् । टोलमा को गर्भवती छ र कसले जाँच गराएको गएको छैन भन्ने महिला स्वयंसेविकाले निगरानी गरिरहेका हुन्छन् ।
‘गर्भवती जाँच गर्ने बेलामै बर्थिङ्ग सेन्टरमै सुत्केरी हुन आउनु भनेर लेख्छौं,’ अनमी सार्की भनिन्, ‘गर्भवती जाँच गराउँ, घरमा सुत्केरी नहोउँ भन्ने सन्देश निकै फलदायी भएको छ ।’ मनिकापुरमा रहेको बर्थिङ्ग सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगन्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ्ग सेन्टरमा गर्भवती महिलाहरु पुग्ने गरेको बताउँछिन्, अनमी सार्की ।
जयसपुरबाट मनिकापुर पुग्दा बीच बाटोमा ठूला र सुविधा सम्पन्न अस्पताल छन् । ‘बर्थिङ्ग सेन्टरप्रति गर्भवती महिलाको बढी विश्वास छ । हुन त हामीले पनि जोखिममा रहेका गर्भवती महिलालाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उहाँहरुको विश्वास हामीले जितेका छौं,’ अनमी सार्कीले भनिन् । स्वास्थ्य चौकीमा हरेक बर्ष सुत्केरी हुने दर बढ्दो क्रममा रहेको उनको भनाई छ ।
बर्थिङ्ग सेन्टरमा गत आर्थिक वर्ष २०७४/०७५ मा १२६ जना सुत्केरी भएकोमा आव २०७५/०७६ मा १७६ जना सुत्केरी भएका छन् । प्रत्येक आवमा स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने दर बढ्दो क्रममा रहेको छ । जसका कारण गाउँमा सुत्केरी हुने दर करिब शुन्यजस्तै भएको छ । आव २०७६/०७७ को तीन महीनामा ५८ जना सुत्केरी भएका छन् । यस तथ्यांकले आगामी आवमा सुत्केरीको संख्या अझै बढ्ने अनुमान छ ।
सत्यपाटी - ।