सूचनाको शक्ति - The Power Of Information

        

अभावमै प्रहरी अस्पतालको सेवा अब्बल

मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल

बाँके । जनशक्ति निकै कम छ, विरामीको चाप बढ्दो छ । भौतिक पूर्वाधार अभावमा भएका उपकरण पनि थन्किएका छन् । विभिन्न सहयोग तथा अनुदानमा आएका उपकरणहरु राख्ने स्थान अभाव हुँदा सञ्चालनमै समस्या भएको छ । बर्षातमा पानी भरिएर तलाउ बन्छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज यस्तै नियतिबाट अघि बढिरहेको छ ।

भूतपूर्व प्रहरी, अमर प्रहरी र बहालवाला प्रहरीका परिवारका सदस्यहरु बिरामी भएमा निशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ । अस्पताल १५ शैयाको अस्पतालमा यतिबेला बिरामीको चाप निकै धेरै छ । चार जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा दुई जनाले सेवा दिनुपरेको छ । दैनिक ६० जना बढी विरामी उपचारका लागि पुग्ने गरेको क्षेत्रीय प्रहरी अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत प्रहरी निरिक्षक डाक्टर महादेव देउजाका अनुसार साउनयता विरामीको भीड लाग्ने गरेको छ । नयाँ प्रहरी भर्ना र तालिमको समयमा अस्पतालमा विरामीको चाप ह्वात्तै बढ्छ । अस्पताल नजिकै रहेको नेपालगन्जमा रहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा यतिबेला चलिरहेकाले अस्पतालमा विरामीको चाप निकै धेरै छ ।

न्यून जनशक्ति र पूर्वाधार अभावमै पनि उपचार सेवा प्रभावकारी र अब्बल बनाउन भेरी अस्पतालबाट दुई जना डाक्टरमार्फत सेवा दिइरहेको छ । भेरी अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डा.विपिन आचार्य र अर्थोपेडिक डा.प्रकाश थापामार्फत पनि विरामीहरुलाई सेवा दिइरहेको प्रहरी अस्पतालका प्रहरी निरिक्षक डा.देउजाले जानकारी दिए ।

उनले भने, ‘अस्पतालमा चार जनाको दरबन्दीमा हाल दुई जना डाक्टरमात्रै कार्यरत छौं, विरामीको चाप बढेको छ । सेवालाई थप प्रभावकारी बनाउन भेरी अस्पतालबाट डाक्टर ल्याएर सेवा दिइरहेका छौं । विरामीको उपचारमा समस्या नहोस् भनेर हामी संवेदनशील छौं ।’ अस्पतालमा देउजासँगै प्रहरी नायव उपरीक्षक बोधविक्रम कार्की पनि कार्यरत छन् ।

अस्पतालले गम्भीर खालका विरामीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गर्दै डा.देउजाले बताए । ‘गम्भीर प्रकृतिका विरामीहरुको यहाँ उपचार हुन नसके नेपालगन्ज मेडिकल कलेजमा पठाउने गरेका छौं । कलेजसँग निशुल्क उपचार गर्ने सम्झौता छ । गम्भीर प्रकृतिका विरामीलाई उतै रिफर गर्छौ,’ प्रहरी निरिक्षक डा.देउजाले भने ।

अस्पतालमा एक जनामात्रै स्टाफ नर्सले सेवा दिनुपरेको डा.देउजाले बताए । स्टाफ नर्समा दुई जनाको दरबन्दी भए पनि प्रहरी नायव निरिक्षक प्रतिक्षा भुसाल मात्रै कार्यरत रहेकी छन् । दुई जना डाक्टरसहित एक जना स्टाफ नर्स, १५ जना सिएमए र एक जना ल्याव टेक्निसियन गरी १९ जनाले उपचार सेवालाई चुस्त बनाउनुपर्ने बाध्यता रहेको छ ।

अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय भएसँगै प्रदेश सरकारले स्तरोन्नति गर्ने तयारी गरिएको थियो । तर, अस्पताललाई पुनः संघ मातहत राख्ने निर्णय भएसँगै स्तरोन्नति रोकिएको डा.देउजाले जानकारी दिए । उनका अनुसार हाल १५ शैया रहेको अस्पतालको स्तरोन्नति गरेर ५० शैया बनाउने योजना खोजिए पनिसरकारले यस विषयमा चासो देखाएको छैन ।

कमजोर संरचना, पूर्वाधार अभाव र सीमित स्रोत साधनका कारण विभिन्न सहयोग तथा अनुदानमा आएका रु.एक करोडका उपकरणहरु प्रयोगविहिन अवस्थामा थन्किएका छन् । ‘भवन अभावका कारण भएका उपकरणहरु पनि सञ्चालनमा ल्याउन सकेका छैनौं,’ उनले भने, ‘उपकरणअनुसारका संरचना निर्माण गर्न सरकारले नै चासो देखाउनुपर्छ, नत्र सम्भव छैन ।’

अस्पताल सीमित स्रोत साधन र जनशक्तिमै पनि अब्बल सेवा दिइरहेको डा.देउजाको दावी छ । ‘अहिलेकै स्रोत साधन र जनशक्तिलाई अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौं,’ डा.देउजाले भने, ‘यहाँ आउने विरामी उपचार नपाएर वा लामो समय कुरेर बस्नुपर्ने अवस्था छैन । छिटो र प्रभावकारी उपचार सेवा कसरी दिन सकिन्छ भन्नेमा हामी संवेदनशील छौं ।’

प्रहरी तालिम केन्द्रमा विभिन्न तहको तालिम हुँदा विरामीको चाप ह्वात्तै बढ्ने गरेको छ । गत पाँच आर्थिक बर्षमा १८ हजार २२८ जनाले ओपिडी सेवा लिएको अस्पतालको तथ्यांक छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/०७४ मा चार हजार २७७ जनाले उपचार सेवा लिएका छन् । सबैभन्दा कम आर्थिक वर्ष २०७०/०७१ मा दुई हजार ४३७ जनाले सेवा लिएका छन् ।

त्यसैगरी अस्पतालको इमरजेन्सी वार्डबाट आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म १२ हजार २७२ जनाले उपचार गरेको तथ्यांक छ । विरामीको दर हरेक बर्षमा बढ्दो क्रममा रहेको अस्पतालमा कार्यरत प्रहरी निरिक्षक डा.देउजाले बताए । विरामी दर हरेक बर्षमा बढ्दो क्रममा रहेको प्रहरी निरिक्षक डा.देउजाले बताए ।

अस्पतालले बहालवाला प्रहरी कर्माचारी र तीनका आश्रित परिवार, पूर्वप्रहरी कर्मचारी र तीनका आश्रित परिवारका सदस्यहरुको निशुल्क उपचार गर्दै आएको छ । अस्पतालले इमरजेन्सी र जनरल ओपिडी सेवासँगै डेण्टल, फिजियो थेरापी, हाड जोर्नी तथा नशारोग र मुटुरोग सम्बन्धी उपचार सेवा दिँदै आएको प्रहरी निरिक्षक डा.देउजाले बताए ।

उनका अनुसार अस्पतालले विभिन्न समयमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै विभिन्न समयमा रक्तदान शिविर पनि सञ्चालन गर्ने गरेको अस्पतालले जनाएको छ । अस्पतालले असोज महीनामा मात्रै बाँकेको नरैनापुर गाउँपालिका र जिल्ला प्रहरी कार्यालय बर्दियामा गरी दुई वटा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

अस्पतालले सञ्चालन गरेका दुई वटा स्वास्थ्य शिविरबाट ६८४ जनाले उपचार सेवा लिएको जनाएको छ । अस्पतालले बर्दियामा कार्यरत प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी एवं परिवार तथा अमर प्रहरी परिवारहरुलाई लक्षित गरेका शिविर आयोजना गरेको थियो भने बाँकेको नरैनापुरमा डेंगु रोगको निशुल्क परिक्षण तथा सचेतना फैलाउन स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार १५:४५